
एक युवतीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा धनकुटाबाट बालकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाकी १९ वर्षीया युवतीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा सुनसरीको इनरुवा नगरपालिका– ६, मधेशा घर भई हाल धनकुटामा मोटरसाइकल ग्यारेजमा मिस्त्री काम गर्ने २३ वर्षीय ऋतिक भन्ने विजयकुमार कामत र १४ वर्षीय बालकलाई गएराति धनकुटाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी ओमप्रकाश खनालले बताए ।
असार ५ गते पीडित युवती आफ्नो घरको कोठामा सुतिरहेको अवस्थामा राति आरोपित एक बालकसहित आएका ती युवाले साइकलको ट्युबले बाँधेर जबर्जस्ती करणीको प्रयास गरेका थिए । तर, पीडित महिलाले तत्काल प्रतिकार गरेपछि उनीहरू फरार रहेको प्रहरीले बताएको छ। पीडितले प्रहरीलाई जानकारी दिएपछि उनीहरूलाई खोजतलासको क्रममा धनकुटा बजारबाट गएराति फेला पारी पक्राउ गरेकाे र उनलाई जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाइने डिएसपी खनालले बताए ।