१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 25 June, 2025
तेल अभिभ
Invalid date format o८:३४:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

युद्धविराम स्विकारेपछि पनि इरान र इजरायलले रोकेनन् मिसाइल आक्रमण

Read Time : > 1 मिनेट
तेल अभिभ
नयाँ पत्रिका
Invalid date format o८:३४:oo

तेहरानले कतारस्थित अमेरिकी सैन्य आधारमा संयमित मिसाइल आक्रमणपछि इजरायल र इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकार गरेका छन् । ट्रम्पले आफ्नो ट्रुथ सोसलमा एक पोस्ट गर्दै ‘युद्धविराम कार्यान्वयनमा आएको छ, कृपया यसको उल्लंघन नगर्नुहोला’ लेखे । अप्रत्यासित रूपमा भएको यस युद्धविरामसँगै मध्यपूर्वमा उथलपुथल मच्चाएको १२ दिन चर्केको तनाव कम हुने आशा पलाएको छ । 

मंगलबार दुवै पक्षले सम्झौता स्विकारेको बताइरहेकै समयमा एक–अर्कामाथि आक्रमण पनि जारी राखेको देखियो । तेहरानले इजरायलमाथि गरेको अन्तिम मिसाइल आक्रमणले पुनः तनावको स्थिति सिर्जना भयो । मंगलबार बिहान भएको इरानी आक्रमणमा कम्तीमा चारजनाको मृत्यु र आठजना घाइते भएको इजरायलको ‘मागेन डेभिड आदोम (एमडिए)’ उद्धार सेवाले बताएको छ । इरानले भने आफ्ना सरहमाथि बिहान भएको व्यापक इजरायली आक्रमणको बदलामा कारबाही चालेको बताएको छ । इरानमा बिहान ४ बजे (स्थानीय समय) सम्म इजरायलले आक्रमण गरिरहेको थियो । 

युद्धविराम उल्लंघनप्रति ट्रम्प आफैँले पनि असन्तुष्टि जनाएका छन् । उनले इजरायल र इरान दुवैले युद्धविराम उल्लंघन गरेको बताउँदै आफू विशेषतः ‘इरानसँग निकै बेखुस’ भएको बताए । उनले इजरायललाई आफ्ना ‘पाइलट अहिले फिर्ता गर्न’ आह्वान गरेका थिए । 

तथापि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्रम्पसँगको समन्वयमा भएको युद्धविराममा सहमति जनाएका छन् । नेतन्याहुले सोमबार राति बसेको विशेष सुरक्षा क्याबिनेटमा १२ दिने अप्रेसनका क्रममा इजरायलले आफ्ना सबै युद्ध लक्ष्य हासिल गरेको जानकारी दिएका थिए । यस अवधिमा इजरायलले इरानका शीर्ष सैन्य नेतृत्व सफाया गरेको, अधिकांश सरकारी क्षेत्रमा क्षति पुर्‍याएको र तेहरानको आकाशमाथि पूर्ण नियन्त्रण हासिल गरेको उनले बताए ।

इजरायलविरुद्ध अमेरिकी राष्ट्रपतिको दुर्लभ सार्वजनिक आक्रोश

इजरायल–इरानबिच भएको युद्धविराम सहमतिको मध्यस्थता गरेका र त्यसको श्रेयसमेत लिएका ट्रम्प त्यतिवेला आक्रोशित भए, जब सम्झौता केही घण्टामै उल्लंघन भयो । उनले इजरायललाई आफ्ना युद्धकविमान बिचबाटै फर्काउन र इरानमाथिको बमबारी रद्द गर्न आदेश दिए । त्यसो नगरे इजरायलतर्फबाट ‘ठुलो उल्लंघन’ भएको मानिने उनले चेतावनी दिए । उता इजरायलले भने युद्धविरामको घोषणा भएको लगभग साढे दुई घण्टापछि पनि उत्तरी इजरायलतर्फ इरानी ब्यालिस्टिक क्षेप्यास्त्र हानिएको भन्दै युद्धविराम तोड्ने पहिलो राष्ट्र आफू नभएको दाबी गर्‍यो ।

यद्यपि, युद्धविरामको घोषणा भएको लगभग साढे दुई घण्टापछि वासिंगटनमा ब्युँझिँदा ट्रम्पको रिसको मुख्य निसाना इजरायल देखियो । ट्रम्प इजरायलले इरानमाथि गर्न थालेको ठुलोस्तरको बमबारीबाट मात्र क्रुद्ध थिएनन् । सोमबार राति युद्धविराममा सहमति जनाएपछि र मंगलबार बिहान ५ बजे कार्यान्वयन हुँदाको बिचमा इजरायली विमानहरूले खसालेका बमहरूको विशाल परिणामबाट पनि रिसाएका थिए ।

‘सम्झौता गर्नेबित्तिकै इजरायलले ठुलो परिणाममा बम खसाल्यो । यत्रो परिणाम मैले पहिले कहिल्यै देखेको थिइनँ । हामीले देखेको सबैभन्दा ठुलो परिणामको बम,’ ट्रम्पले अमेरिकी राष्ट्रपतिले इजरायलविरुद्ध सार्वजनिक रूपमा विरलै प्रयोग गर्ने निन्दाको भाषामा भने । त्यसपछि उनले आफ्नो निजी अनलाइन प्लेटफर्म ट्रुथ सोसलमा निर्देशनको भाकामा लेखे, ‘इजरायल ! ती बमहरू नहान । यदि त्यसो गरिए यो ठूलो उल्लंघन हुनेछ । अब आफ्ना पाइलटहरूलाई घर फर्काऊ !’

त्यसपछि ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच फोन वार्ता भयो । फोन वार्तापछि सोही प्लाटफर्ममा पुनः ट्रम्पले घोषणा गरे, ‘इजरायलले इरानमाथि आक्रमण गर्नेछैन । (इरानतर्फ गएका) सबै विमान फर्किनेछन् । युद्धविराम लागू भएको छ !’ तर, ट्रम्पको सो पोस्टको केही मिनेटपछि इरानको राजधानी र देशको उत्तरी भागमा विस्फोट सुनिएको थियो । अमेरिकी वेबसाइट ‘एक्सियोस’का अनुसार नेतान्याहुले ट्रम्पसँगका फोनवार्तामा ठुलो स्तरको हमला रोकिए पनि ‘एउटा मात्र लक्ष्यमा भए पनि प्रहार हुने’ बताएका थिए । इजरायली मिडिया हारेट्जका अनुसार सो एकल लक्ष्य इरानी राडार थियो ।