१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ९ सोमबार
  • Monday, 23 June, 2025
२o८२ असार ९ सोमबार १६:o२:oo
Read Time : > 3 मिनेट
अर्थ डिजिटल संस्करण

मनाङमा रैथाने बाली उत्पादन घट्दै

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८२ असार ९ सोमबार १६:o२:oo

समुद्री सतहबाट एक हजार ८८० मिटरदेखि आठ हजार १६३ मिटरसम्म रहेको मनाङ रैथाने खेतीबालीमा आत्मनिर्भर छ । जिल्लाको कुल क्षेत्रफल दुई लाख २४ हजार ६०० हेक्टरमध्ये खेतीयोग्य जमिन दुई हजार १५६ रहेको छ ।

खेतीयोग्य भूमिको दुई हजार १७ हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिँदै आएको छ । त्यसमा एक हजार ६३ हेक्टर जमिन सिञ्चित क्षेत्र हो भने अन्य क्षेत्र प्राकृतिक रूपमा खेती गरिन्छ । रैथाने बाली भन्नाले स्थानीय जातका परम्परागत रूपमा गरिँदै आएका अन्नबालीलाई बुझिन्छ ।

जौ स्थानीय हावापानी र माटो सुहाउँदो हुन्छ । मनाङमा रैथाने बालीका रूपमा आलु, गहुँ, फापर, करु, उवा र कोलु बोडीलाई लिइन्छ । विगतदेखि नै यिनै रैथाने बालीमा नै आत्मनिर्भर छ हिमाली जिल्ला मनाङ । हाल कतिपय स्थानमा रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् भने कतिपय स्थानमा सामान्य अर्थात् नगन्य मात्रामा मात्र खेती गर्ने गरेको पाइन्छ ।

कृषि ज्ञान केन्द्रका अनुसार नार्पाभूमि गाउँपालिकामा रैथाने बाली प्रायः लोप हुने अवस्थामा पुगेको छ । त्यसैगरी, ङिस्याङ गाउँपालिकाका सबै वडामा रैथाने बाली लोप हुने अवस्थामा पुगेको छ । दिनानुदिन वातावरणमा आएको परिवर्तनले रैथाने बाली हराउन थालेका स्थानीय बताउँछन् । यसलाई सुहाउँदो वातावरणमा अभावले पनि खेतीबाली फेरिन थालेका कृषि ज्ञान केन्द्रका प्रमुख मदन रेग्मीले जानकारी दिए ।

उनले भने, ‘रैथाने बालीको उत्पादनमा ह्रास आउन थालेपछि विकासे (हाइब्रिड) खेतीपातीतर्फ कृषक लागेको पाइन्छ, तर रैथाने बालीको उत्पादकत्वको आधारमा किसान सचेत हुँदै आकर्षित भएका पाइन्छ ।’ विगत चार वर्षको तथ्यांक हेर्ने हो भने अन्य रैथाने बालीको तुलनामा स्थानीय आलुखेतीमा वृद्धि भएको पाइन्छ ।

विगतदेखि नै अन्य खेतीको तुलना आलुको बढी माग तथा खपत हुन थालेकाले व्यावसायिक खेती अर्थात् नगदे बालीका रूपमा विकास भएको पाइन्छ । तर, अन्य बाली लगाउन धेरै जनशक्ति लाग्ने र अभाव हुँदा समस्या भने हुने गरेको स्थानीय बताउँछन । कोभिड तथा बाढीपहिराको विपतकाे वर्षबाहेक अन्य वर्षमा उत्पादकत्व वृद्धि भएको ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ ।

मनाङको तल्लो भेगमा अन्य बालीजस्तै मकै, आलु, करु, गहुँ, जौ, फापर, कोदो बोडीलगायतका बाली लगाइन्छ । गोलभेँडा, काउली, फर्सी, प्याज, लसुन, साग, मूला, गाँजरलगायतका तरकारी यहीँ खपत हुन्छ । जलवायु परिवर्तनले खेती फेर्नुपर्ने अवस्था देखिएको ज्ञान केन्द्रको अध्ययनले देखाउँछ । विगतमा नहुने खेती र यहाँको तापक्रम वृद्धिले असर पारेको खेतीबालीमा देखिएको छ ।

आर्थिक वर्ष ०७७/७८ मा २८६ हेक्टर क्षेत्रफलमा गरिएको फापरखेतीबाट ५०४ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । करिब १११ हेक्टर क्षेत्रफलमा गरिएको जौखेतीबाट १७५ मेट्रिकटन उत्पादन भएको छ । ७४५ हेक्टर क्षेत्रफलमा १४ हजार ९७५ मेट्रिकटन स्थानीय प्रजातिको आलु उत्पादन भएको केन्द्र प्रमुख रेग्मीले बताए ।

त्यस्तै, आर्थिक वर्ष ०७८/७९ मा ७० हेक्टर क्षेत्रफलमा उवा–करुखेती गरिएको तथ्यांकमा उल्लेख छ । त्यसअघि यी खेतीको तथ्यांक अभिलेखीकरण गरिएको पाइँदैन । करिब ७० हेक्टर जमिनमा गरिएको उवा/करुखेतीबाट ११५ मेट्रिकटन उत्पादन भएको छ । यस आर्थिक वर्षमा फापरखेतीको क्षेत्रफल ७५ हेक्टर वृद्धि भएको छ । ३६१ हेक्टर क्षेत्रफलमा गरिएको फापरखेतीबाट ६१० मेट्रिकटन फापर उत्पादन भएको छ । जौखेतीको क्षेत्रफल घटेर ४० हेक्टर पुगेको छ ।

यस वर्ष आलुखेतीको क्षेत्रफल पनि घटेर ७३५ हेक्टरमा झरेको छ । उक्त क्षेत्रफलमा गरिएको खेतीबाट आठ हजार १९० मेट्रिकटन आलु उत्पादन भएको छ । आर्थिक वर्ष ०७९/८० मा ७० हेक्टरमा उवा–करुखेती गरिएको छ । उक्त क्षेत्रफलमा गरिएको खेतीबाट ११२ मेट्रिकटन उवा–करु उत्पादन भएको छ । ३०२ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ३२० मेट्रिकटन फापर उत्पादन भएको छ ।

त्यस्तै, ४० हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ६५ मेट्रिकटन जौ उत्पादन भएको छ । ७३७ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट नौ हजार २१२ मेट्रिकटन आलु उत्पादन भएको केन्द्रले जनाएको छ । आर्थिक वर्ष ०८०/८१ मा १०५ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट १९३ मेट्रिकटन उवा–करु उत्पादन भएको छ ।

करिब २१२ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट २१६ मेट्रिकटन फापर उत्पादन भएको छ । करिब २० हेक्टर क्षेत्रफलमा गरिएको खेतीमार्फत ३७ मेट्रिकटन जौ उत्पादन भएको छ भने ६३२ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट नौ हजार १३२ मेट्रिकटन आलु उत्पादन भएको छ ।

यस तथ्यांकका आधारमा रैथाने बाली खेतीतर्फ आकर्षण घट्दै गएको देखिन्छ । जलवायु परिवर्तनको असर जति बढ्दै गएको छ, उति नै खेतीयोग्य भूमि बाँझो बन्दै गएको पाइएको प्रमुख रेग्मीले बताए । उनले भने, ‘रैथाने खेतीतर्फ कृषक आकर्षित छन्, उत्पादन यहीँ खपत हुन्छ, तर व्यवसाय परिवर्तनले प्रभाव पारेको छ ।’

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र श्रीमहल काठमाडौँका अनुसार कम जग्गामा बढी उत्पादन र उन्नत जातको खेती गर्ने उद्देश्यले हाल उत्पादन बढी लिने उद्देश्यले गर्दा लोप हुने अवस्थामा पुगेको छ । संरक्षण केन्द्रका अनुसार फापर, कोदो, जौ, कागुनो, च्युनो, उवा, लट्टे, जुनेलो, मस्याम, गहत, खेसरी, भाँगे सिमी, सिलाम, झुसे तिल आदिलाई स्थानीय तथा रैथाने बालीमा सूचीकृत गरेको छ ।

समग्रमा भन्ने हो भने मनाङलगायत देशभरबाटै कतिपय रैथाने बाली लोप भइसकेका छन् भने कतिपय लोपोन्मुख र संकटापन्न अवस्थामा रहेका छन् । त्यसैले तीनै तहका सरकारले (कृषि अनुसन्धान केन्द्र) ले रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा ध्यान दिँदै रैथाने बालीको वैज्ञानिक तथा आधुनिक प्रविधियुक्त प्रजातिको विकास गरी उन्नत बिउबिजनबाट उत्पादनलाई जोड दिएको छ । रासस