१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ९ सोमबार
  • Monday, 23 June, 2025
कमलराज भट्ट काठमाडाैं
२o८२ असार ९ सोमबार o६:३१:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बजेटमा असन्तुष्ट सत्तारूढ सांसदको प्रश्न– मन्त्रीहरू देशका हुन् कि कुनै झुन्ड विशेषका ?

Read Time : > 4 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ९ सोमबार o६:३१:oo

संसद्मा बजेटमाथिको छलफलका क्रममा सत्तारूढ कांग्रेस र एमालेका सांसदहरूले झापा, काठमाडौं, डडेल्धुरा, रूपन्देहीलगायतका जिल्लामा बजेट केन्द्रित भएकोमा असन्तुष्टि पोख्दै प्रश्न उठाएका छन्, ‘मन्त्रीहरू देशका हुन् कि कुनै झुन्ड विशेषका ?’ सत्ता पाएपछि मन्त्रीहरू ‘निर्लज्ज’ भएका र सत्ताको आडमा अघोषित रूपमा राज्य लुटेको उनीहरूको आरोप छ । बजेटमा गठबन्धन सरकारको चरित्र पनि नदेखिएको उनीहरूको भनाइ छ । 

आइतबार कांग्रेस सांसद सुनील शर्माले प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो क्षेत्रमा बजेट हालेर राज्यको ढुकुटी अघोषित रूपमा लुटेको बताए । ‘आज छातीमा हात राखेर सोच्नुस् त तपाईंंहरू के गर्दै हुनुहुन्छ ? पाँचवटा जिल्लाभित्रका मात्रै नेपाली नागरिक हुन् त ? पाँच जिल्लाबाहेक ७२ जिल्लाका मान्छे नेपाली नागरिक होइनन् ? तपाईंहरूलाई अलिकति दया लाग्दैन ? अलिकति भित्र हरि छ नि ?’ शर्माले भने । 

मन्त्रीहरूमा विवेकको अभाव देखिएको भन्दै उनले प्रश्न उठाए, ‘तपाईंहरूको नागरिकप्रति उत्तरदायी हुने हृदय छ कि छैन ? तपाईंहरू देशको मन्त्री हो कि एउटा झुन्डको ? तपाईंहरू मन्त्री बनिरहँदा एक्लै चुनाव जितेर आएर बन्नुभएको हो ? त्यसो भए गठबन्धनको आवश्यकता किन ? अनि कांग्रेस र एमालेका मन्त्री भइसकेका साथीहरूलाई भन्न चाहन्छु– अब यो चार–पाँचवटा क्षेत्रका मान्छेले मात्रै रुख र सूर्यमा भोट हाले पुग्ने भो ? तपाईंहरूले अर्कोपल्ट यो सदन चलाउन सक्नुहुन्छ ?’

उनले कर सबै क्षेत्रका नागरिकले बराबरी तिरेको, तर मन्त्रीहरूले भकारीमा मनलाग्दी गरेको आरोप लगाए । ‘बजेट भकारी हातमा लिइसकेपछि तपाईंले लगेर आफ्ना क्षेत्रहरूमा मात्र, नेताहरूका क्षेत्रहरूमा मात्र हाल्ने ? योभन्दा दुर्भाग्यपूर्ण के हुन सक्छ ?’ शर्माले सत्तामा बस्नेबित्तिकै निर्लज्ज नहुन अपिल गरे । ‘तपाईंले सत्तालाई आफ्नो हातमा लिएर अघोषित रूपमा लुट्नुभएको छ,’ उनले भने । कांग्रेसकै कान्छाराम तामाङले काठमाडौंमा तीन करोडका २०७ योजना राखेकोमा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई धन्यवाद दिँदै प्रतीकात्मक विरोध गरे । ‘सहरी विकास क्षेत्र कतापट्टि पर्छ नेपालमा ? मेरो पार्टीकै हुनुहुन्छ उपप्रधानमन्त्री प्रकाशमान सिंह । हाम्रो सर्वोच्च नेता गणेशमानको छोरो हुनुहुन्छ । म यहाँलाई काठमाडौंमा २०७ वटा तीन करोडको बजेट विभाजन गर्दिनुभएकोमा रामेछाप कांग्रेस सभापतिको तर्फबाट मुरीमुरी धन्यवाद दिन चाहन्छु,’ उनले भने । 

दुवै उपप्रधानमन्त्रीले तीन करोडमुनिको बजेट विनियोजन नगर्ने भनेर प्रधानमन्त्रीसँग भनेको, तर आज काठमाडौंमा दुई लाखदेखि दुई करोडसम्मका १५० वटा शीर्षकमा विनियोजन गरिएको भन्दै तामाङले त्यतिखेर के हिसाबले बोलेको भनेर प्रश्न उठाए ।

‘तीन करोडभन्दा घटी डेढ लाख र दुई लाखसम्म कसको आधारमा राख्नुभयो ? के तपाईंहरूको जिल्लालाई मात्र बजेट लान खोज्या हो ? यस्तो तरिकाले यहाँहरूले देश बनाउन सक्नुहुन्न,’ उनले भने । तामाङले अर्थमन्त्रीको जिल्ला रूपन्देहीमा तीन करोडको बजेट ७९ वटा प्याकेज गएको उल्लेख गर्दै भने, ‘सहरी विकासमन्त्री र अर्थमन्त्रीज्यू के मितको चिनो साटेको हो यो ? अरू ७७ जिल्लामा माननीय जितेको छैन १६५ वटा ? ११० वटा समानुपातिक छैन ? के क्याल्कुलेसन गर्नुभयो तपाईंहरूले ? यही हो राज्य चलाउने तरिका ? यसरी चल्छ राजनीति ? चल्छ देश ? तपाईंहरूलाई मात्र अघाउनुपर्ने ? तपाईंहरूले मात्र चुनाव जित्नुपर्ने ? तपाईंहरू मात्र मन्त्री हुनुपर्ने ?’ सांसद तामाङले काठमाडौंमा जन्मेको मान्छेले काठमाडौं मात्र देखेको बताए । ‘तपाईंको पिता गणेशमान सिंहलाई प्रधानमन्त्री खाऊ भन्दा नखाएको हो । यो तरिकाले तपाईंले अब के हुनुहुन्छ ? कहाँ जानुहुन्छ ?’ उनले भने ।

गणेशमानले रामेछापमा उद्घाटन गरेको विद्यालयको बाटोका लागि प्रकाशमानलाई निवेदन दिएको, तर सुनुवाइ नभएको तामाङले बताए । ‘हामीले गणेशमानको छोरा तपाईं प्रधानमन्त्री हुनुहोला भन्ने आशा गरेका थियौँ । पार्टी सभापति हुने आशा गरेका थियौँ,’ उनले भने, ‘यो तरिकाले उपधानमन्त्रीज्यू देश चल्दैन । देश डुबिसक्यो ।’रूपन्देहीबाट अर्थमन्त्री पौडेल ६ महिनाअगाडि स्थापना भएको रास्वपासँग ६८३ मतले मात्र जितेर आएको स्मरण गराउँदै तामाङले समयलाई ख्याल गर्न र सबैलाई मिलाएर लैजान ध्यानाकर्षण गराए । अर्थमन्त्री पौडेल कांग्रेसको फेला नपरेकाले जितेको र अब त्यो नदोहोरिने चेतावनी उनले दिए । सहरी विकासमन्त्री सिंह पनि ८० भोटले मात्र जितेर आएको स्मरण गराए । तामाङले जनताको करले छापिएको रातो किताब नच्यात्ने, तर असमान बजेट वितरण गर्ने दुवै उपप्रधानमन्त्री आगामी चुनावमा जितेर नआओस् भनेर कामना गरे । ‘म बुद्ध भगवान् र पशुपतिनाथसँग सम्झेर, यो रातो किताब ढोगेर प्रार्थना गर्छु– ०८४ को चुनावमा यी दुइटै उपप्रधानमन्त्री यो हाउसमा नआओस् ।’

कांग्रेसकै रामहरि खतिवडाले बजेट वितरण असमान भएको र वडामा बजेट खै, ०८४ मा पख्लास् भनेर वडाध्यक्षको म्यासेज आएको बताए । उनले उक्त म्यासेज प्रधानमन्त्रीलाई देखाऊँ कि अर्थमन्त्रीलाई पठाऊँ भनेर सुनाए । खतिवडाले बजेट विनियोजन प्रणाली फेर्नुको विकल्प नभएको र अहिलेकै स्थितिमा बजेट सन्तुलित र परिणाममुखी हुन नसक्ने टिप्पणी गरे । 

एमाले सांसद सूर्य थापाले ०४६ सालको जनआन्दोलनको सर्वोच्च कमान्डर गणेशमान सिंहलाई शिर झुकाएर सम्मान गर्ने, तर सहरी विकास मन्त्रालयको बजेट हेर्दा अपमान गरेको महसुस भएको बताए । प्रकाशमान सिंह गणेशमानको छोरा हो भनेर साथीहरूले सुनाएको, तर हो कि होइन भन्ने आफूलाई थाहा नभएको भन्दै रोस्टमबाट व्यंग्य गरे । ‘झन्डै ७५ करोड रकममा गणेशमान सिंहको सम्मानलाई साट्ने ढंगको जुन विनियोजन भएको छ, यो गलत भएको छ,’ उनले भने । राष्ट्रिय योजना आयोगले तीन करोडका योजनाको सिलिङ दिएको, तर सहरी विकास मन्त्रालय सबैभन्दा लथालिंग र अस्तव्यस्त मन्त्रालय देखिएको उनको भनाइ थियो । ‘जनताको जीवनस्तर उठाउनेतिर ध्यान गएको छैन । साना–साना टुक्रा र नेताको अझ आफ्ना पिताजीको नाम र विनियोजनबाट देश अघि बढ्छ ? टुक्रे योजना फालिनुपर्छ । तीन करोडभन्दा कमका योजना निर्ममतापूर्वक रोक्नुपर्छ,’ उनले भने । 

बजेट विनियोजन पारदर्शी र सन्तुलित नभएको भन्दै कांग्रेस सांसद केसीले गरे संसदीय समितिको माग 
कांग्रेस सांसद अर्जुननरसिंह केसीले चालू आर्थिक वर्षको बजेट मनपरी ढंगले विनियोजन गरिएको आरोप लगाउँदै त्यसको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद केसीले बजेट पारदर्शिता, निष्पक्षता र सन्तुलनको आधारमा नबनाइएको भन्दै आक्रोश पोखे । ‘बजेटको विनियोजन पारदर्शी र सन्तुलित हुनुपर्ने हो । तर, अहिलेको बजेटमा गम्भीर विचलन देखिएको छ । करिब ४,६०० वटा स–साना योजनाहरू समावेश गरिएका छन्, जसको डिपिआर नै छैन । त्यस्ता योजना हटाउने कुरा गर्दा अर्थमन्त्रीले नयाँ दिशा लिने बताउनुभएको थियो, तर व्यवहारमा त्यसको उल्टो भएको देखिन्छ,’ उनले भने, ‘कहीँ ३० लाख देख्या छु, १०–१५ लाखसम्मका सयौँ योजना ठाउँ–ठाउँमा पर्‍या छन् । यो कसरी पर्‍यो ? माननीय सदस्यले दिएका सुझाव सम्बोधन नहुनु जनप्रतिनिधिहरूको अपमान हो । जनप्रतिनिधिहरूमाथिको बेवास्ता हो ।’

उनले दुवै उपप्रधानमन्त्रीलाई अनुरोध गर्दै भने, ‘तपाईंले बजेटमा प्रस्तुत गर्नुभएअनुसार विनियोजन ठिक छ– छैन भनेर एउटा संसदीय समिति बनाऊँ । त्यसले छानबिन गरोस् । यदि संसदीय समिति हुन्न भने सुशासन समिति अथवा लेखा समितिमा पठाइयोस् । मनपरि ढंगले जसरी विनियोजनको काम भएको छ, त्यो दुःखद मात्र होइन खेदपूर्ण छ ।’ उनले प्रधानमन्त्रीसँग आँट भए समिति गठन गर्न चुनौती दिए ।

 बजेटमा प्रश्न उठाउँदा अमरेश सिंहको अभिव्यक्ति रेकर्डबाटै हटाइयो 
आइतबारको छलफलमा स्वतन्त्र सांसद अमरेश सिंहले बजेट विनियोजन पक्षपातपूर्ण र प्रधानमन्त्रीसहितका सीमित मन्त्री÷नेताहरूको जिल्लामा मात्र खन्याइएको भन्दै गम्भीर आपत्ति जनाए । अरू जिल्लाका नागरिकबाट कर मात्रै उठाउने, बजेट सबै पाँच जिल्लामा मात्रै बाँडिएको उनको गुनासो थियो । यही आशयसहित उनले सदनमा प्रश्न गरे, ‘नेपाल सरकारलाई म आग्रह गर्न चाहन्छु– यी भाग्यमानी पाँच जिल्लालाई नेपालमा राखौँ, बाँकी ७२ जिल्लालाई लिजमा दिऊँ अर्को देशलाई । अमेरिकालाई दिऊँ । चाइनालाई दिऊँ । भारतलाई दिऊँ । जब बजेट नै जाँदैन भने त्यो जिल्ला नेपालमा किन राख्ने ? खाली ट्याक्स लिनलाई राख्ने ?’ 

सांसद सिंहले बजेटलाई निजी सम्पत्ति ठानेर सहरी मन्त्रालयले काठमाडौंमा तीन करोडका दरले १३१ योजना रहेका, तर सर्लाहीमा योजना नै नराखिएकोमा आपत्ति जनाए । डडेल्धुरामा मेडिकल कलेज खोल्ने, तर मधेशमा एउटा पनि मेडिकल कलेज नखोल्ने विभेदको उनले विरोध गरे । 

सिंह बोल्दै गर्दा एमाले मुख्य सचेतक महेश बर्ताैला उठेर नियमापत्ति गरे । ‘छलफलमा सहभागी माननीय सदस्यले असाध्यै आपत्तिजनक विषय राख्नुभयो,’ उनले भने,  ‘यो देशघाती, राष्ट्रघाती, देशद्रोही अभिव्यक्ति हो । यो नियमापत्तिको विषय मात्र होइन, कारबाहीको विषय हो ।’ उनले नियमापत्ति गर्दा कांग्रेस–एमाले सांसद उठेर सिंहको विरोध गरे । 

बर्तौलाको मागमा समर्थन गर्दै सभामुख देवराज घिमिरे पनि सिंहप्रति आक्रामक देखिए । सिंहको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन गरे । ‘वक्ता माननीय सदस्यले आशय जे भए पनि पाँचवटा जिल्लाबाहेक अरू जिल्लालाई नाम लिएरै अरू मुलुकहरूलाई दिए हुन्छ भनेर बोल्नुभएको छ,’ सभामुख घिमिरेले भने, ‘यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिन्छु ।’

त्यसपछि सांसद सिंहले सभामुखले एमालेको इसारामा दिएको निर्देशन नमान्ने चुनौती दिए । ‘सभामुख पार्टीको दलीय हिसाबले निर्देशन दिनुहुन्छ भने हामी मान्न तयार छैनौँ,’ उनले प्रश्न गरे, ‘किनभने सभामुखले निर्देशन दिनुपर्ने सबै जिल्लामा बजेट किन गएन, त्यो निर्देशन दिन आउँदैन सभामुखलाई ? बजेट पनि नपाउने, बोल्न पनि नपाउने ? रास्वपालाई पेलेजस्तो होइन । बजेट किन गएन त्यो कारण देखाउनुनपर्ने ?’