
जापान सरकारले उपलब्ध गराएको तालिमका लागि उम्मेदवार छनोटमा सिफारिस क्रम मिचिएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को नेपाल कार्यालयले तालिमका लागि नेपाली इन्जिनियर छनोटमा यस्तो पाइएको हो । खानेपानी मन्त्रालयले सिफारिस गरेको प्रमुख प्रतिनिधिलाई हटाएर जाइका नेपालले वैकल्पिकलाई समावेश गरेको भेटिएको छ । ती प्रतिनिधि अहिले जापान गइसकेका छन् ।
गत १७ अप्रिल अर्थात् ४ वैशाखमा जाइका नेपालले खानेपानी मन्त्रालयलाई तालिममा प्रतिनिधि पठाउनेबारे पत्र पठाएको थियो । नेपाल खानेपानी संस्थानलाई सबलीकरण गर्न जारी प्राविधिक सहयोग आयोजनाअन्तर्गत ‘पानी आपूर्ति प्रणालीमा बृहत् इन्जिनियरिङ’ शीर्षकमा समकक्षी आयोजना तालिमका लागि जाइका नेपालले मन्त्रालयलाई आह्वान गरेको थियो । आयोजना गर्न लागिएको प्रयोगात्मक तालिमका लागि प्राविधिक सहयोग आयोजनामा काम गरिरहेका इन्जिनियरलाई विशेष लक्षित गरिएको जानकारीपत्रमा जाइका नेपालले उल्लेख गरेको छ । तालिम १७ जुनदेखि ९ अगस्ट (३ असारदेखि २४ साउनसम्म) जापानमा सञ्चालन हुने तय भएको थियो ।
आयोजनाअन्तर्गत प्रत्यक्ष रूपमा काम गरिरहेका र नतिजामा योगदान गर्न सक्ने उम्मेदवार मात्र तालिममा आवेदनका लागि योग्य हुने पत्रमा भनिएको छ । जाइका नेपालले प्रमुख र वैकल्पिक उम्मेदवार किटान गरेर सिफारिस गर्न मन्त्रालयलाई भनेको थियो । तालिमको आवश्यकताका आधारमा उम्मेदवार छनोट हुने पत्रमा जाइका नेपालले उल्लेख गरेको थियो ।
जाइका नेपालको यही पत्रपछि ३० अप्रिल अर्थात् १७ वैशाखमा मन्त्रालयले जाइका नेपाललाई पत्र पठायो । मन्त्रालयले तालिममा सहभागी हुने गरी तीनजनालाई छनोट गरेर जाइका नेपाललाई पत्र पठाएको थियो ।