
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)उदयपुरले भिटिज भिसा प्रकरणमा उच्चस्तरीय छानविनको माग गर्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। रास्वपा उदयपुरले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेललाई ज्ञापन पत्र बुझाउँदै गृहमन्त्री लेखकको राजीनामा माग गरेको हो ।
हिजो शुक्रबार भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी गरेको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग लुइटेललाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘मानव तस्कारी जस्तो गम्भीर विषयमा राजनीतिक, प्रशासनिक जवाफदेहिता र कर्तव्यबोध अपेक्षासहित गृहमन्त्री ज्यूको राजीनामासमेत माग गर्दछौँ ।’
रास्वपा जिल्ला सभापति चित्रकुमार कार्कीले प्रमुख जिल्ला अधिकारीमार्फत संघीय सरकारको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाएको बताए । उनले भने, ‘भिजिट भिसा दुरुपयोग र मानव तस्करीका घटनाहरूको प्रभावकारी छानबिन आवश्यक छ। रास्वपाले यस विषयमा जोडदार आवाज उठाएको छ । हामी जिल्लाकाले पनि ज्ञापन पत्र बुझाएर सरकारलाई दबाब दिएका हौँ ।’
कार्कीले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरिएको बताए। ज्ञापनपत्रमा भनिएको छ,‘विगत केही वर्षयता भिजिट भिसाको नाममा व्यापक मानव तस्करी तथा संगठित अपराध भइरहेको आशंका गम्भीर छ। यसमा सरकारी संयन्त्र, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स र विभिन्न देशीय नियोगहरूको संलग्नता रहेको हुन सक्ने हुँदा बहुआयामिक अनुसन्धान आवश्यक छ ।’
मानव तस्करीमा संलग्न दोषीहरूमाथि कानुनअनुसार कडा कारबाही हुनुपर्ने, पीडितहरूलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराइनुपर्ने लगायतका माग राखिएको छ । यता रास्वपा त्रियुगा नगरपालिकाले त्रियुगा नगरपालिका गाईघाटमा ध्यानाकर्षण पत्र बुझाउँदै आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेटलाई लक्षित गर्दै २५ बुँदे सुझावसहितको ध्यानाकर्षण पत्र बुझाएको छ ।
रास्वपाका नेता कार्यकर्ताहरूले प्रमुख प्रशासकीय अधिकृत रामकुमार कोइरालालाई उक्त सुझावपत्र हस्तान्तरण गर्दै अघिल्लो आर्थिक वर्षहरूको बेरुजु रकम तत्काल असुली गरी समग्र नगरको हितमा प्रयोग गर्न माग गरेको छ। नगरपालिकाको अनावश्यक खर्च न्यूनीकरण गरी विकास खर्च बढाउनुपर्ने र वित्तीय अनुशासन कायम राख्नुपर्ने माग गरेको छ ।
अगामी वर्षको बजेट कार्यक्रममुखी नभएर उत्पादन,रोजगारीमूलक र विकासमुखी बनाउन सुझाव पनि दिएको छ। स्थानीय जनताको जीवनस्तर सुधार गर्न र दिगो विकासमा योगदान पुर्याउने बताइएको छ। नगरको फोहोर व्यवस्थापनका लागि फोहोरलाई मल र उर्जामा रूपान्तरण गर्ने कार्यक्रम ल्याउनुपर्ने रास्वपाको सुझाव छ ।