
मन्थली नगरपालिका–१४ फुलासीमा बिहिबार गरिएको एकदिने निःशुल्क डिजिटल एक्स–रे मेसिनबाट परिक्षण गर्दा दुई जनामा क्षयरोग (टिभी) का बिरामी भेटिएका छन् ।
मन्थली नगरपालिकाको आयोजना र स्वास्थ्य निर्देशनालय हेटौँडाको समन्वयमा गरिएको परीक्षणमा दुइसय ११ जना विरामीको परीक्षण गरिएको थियो । जसमध्ये एक महिला र एक पुरुष गरी दुुई जनामा क्लिनिकल डाइग्नोसिसबाट क्षयरोग पुष्टि भई तत्काल औषधि सुरु गरिएको मन्थली नगरपालिका क्षयरोगमुक्त नेपाल अभियान कार्यक्रमका संयोजक भुवन थापाले जानकारी दिए ।
उनका अनुसार परीक्षणमा आएकाहरुमध्ये थप ९ जना बिरामीमा शंकास्पद देखिएकाले ती विरामीहरुको परीक्षणका लागि रगत संकलन गरिएको छ । यसअघि क्षयरोग लागि नियमित औषधी खाएर निको भएता पनि पाँचवर्ष नपुगेका पाँच जनाको रगत संकलन गरी पुनः परीक्षणका लागि पठाइएको संयोजक थापाले बताए ।
क्षयरोग (टिभी) लागेका विरामीले नियमित औषधी सेवन गरे निको हुने गर्दछ । क्षयरोग नियन्त्रणका लागि स्थानीय स्तरमा नै आधुनिक प्रविधि मार्फत परीक्षण गर्ने र विरामी फेला पारे तत्काल उपचारको प्रवन्ध मिलाउने व्यवस्था गरिएको क्षयरोग मुक्त नेपाल अभियानका संयोजक थापाले जानकारी दिए ।