
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभाका रिक्त दुई स्थानमा कात्तिक दोस्रो सातामा उपनिर्वाचन गर्ने प्रस्ताव अघि सारेको छ । आयोगले प्रधानमन्त्री केपी ओलीसँग शुक्रबार भेट गरी प्रस्तावित मितिबारे परामर्श गरेको हो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका पदाधिकारीहरूले प्रधानमन्त्रीसँगको छलफलमा कात्तिक दोस्रो साता उपनिर्वाचन गर्न सकिने बताएका हुन् । सो अवसरमा राष्ट्रिय सभामा २० फागुनमा रिक्त हुने १८ सिटका लागि पनि निर्वाचनको तयारीबारे छलफल भएको थियो ।
उक्त उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभाको रूपन्देही– ३ र गण्डकी प्रदेश सभाको मनाङ क्षेत्र नं. १ (२) मा रिक्त रहेको सिट पूर्तिका लागि निर्वाचन हुन लागेको हो । आयोगले नेपाल सरकारको परामर्शमा यही १६ असारभित्र मिति तोक्ने तयारी गरिरहेको जनाएको छ ।
साथै आयोगले स्थानीय तहमा रिक्त १३ वटा वडाध्यक्ष पदमा पनि निर्वाचन गराउनुपर्ने जानकारी दिएको छ । छलफलका क्रममा प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीका लागि सरकारबाट आवश्यक सहयोग रहने विश्वास दिलाए । साथै, ०८४ को निर्वाचनका लागि समेत अग्रिम तयारी थाल्न आयोगलाई सुझाव दिएका थिए ।