
बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन पहिलोपटक ७० खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ३ असारसम्ममा बैंकिङ प्रणालीमा कुल निक्षेप संकलन ७० खर्ब नौ अर्ब पुगेको हो । २ असारसम्म यो ७० खर्ब पाँच अर्ब थियो । राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्ष ०८१/८२ मा देशको अर्थतन्त्रको आकार (कुल गार्हस्थ्य उत्पादन) ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरेको छ ।
बैंकिङ प्रणालीमा थुप्रिएको निक्षेपको आकार भने अर्थतन्त्रको आकारभन्दा ठुलो देखिएको छ । गत वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६८ खर्ब ८५ अर्ब थियो । अर्थात्, करिब एक महिनाको अवधिमा एक खर्ब २४ अर्बले निक्षेप बढेको हो । कुल निक्षेपमध्ये वाणिज्य बैंकहरूमा ६२ खर्ब ६९ अर्ब निक्षेप छ । अन्य वित्तीय संस्थाहरूमा भने सात खर्ब ४० अर्ब रुपैयाँ छ ।
यो अवधिसम्म कर्जा प्रवाह ५५ खर्ब ६७ अर्ब कायम भएको छ । वैशाख मसान्तसम्म यो ५५ खर्ब २९ अर्ब थियो । यसबिच ३८ अर्बको कर्जा प्रवाह भएको छ । कुल कर्जा प्रवाहमा वाणिज्य बैंकहरूको मात्रै ४९ खर्ब ४८ अर्ब छ । कर्जा निक्षेपको अनुपात ७८.३१ प्रतिशत कायम छ । वैशाख मसान्तसम्म यस्तो अनुपात ७९.१३ प्रतिशत थियो ।