
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ७ गोदामचोकमा गाडीले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार शनिबार दिउँसो गोदामचोकमा पनौती तर्फबाट बनेपातर्फ आउँदै गरेको ना ४ च ५९४५ नम्बरको योद्धा गाडीले बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा.प्र.०२–०२३ प ६०२३ नम्वरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरचालक काभ्रे जिल्ला तेमाल गाउँपालिका–१ घर भई हाल बनेपा–७ बसपार्कपछाडि डेरा गरी बस्ने करिब ४५ वर्षीय ज्ञानध्वज तामाङको मृत्यु भएको छ।
दुर्घटनामा तामाङको टाउकोमा गम्भीर चोट लागि घाइते भई उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटना गराउने गाडी र स्कुटर प्रहरीको नियन्त्रणमा रहेको छ भने गाडीचालक फरार रहेको प्रहरीले जानकारी दिए।