१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 21 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:१३:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल उपविजेता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:१३:oo
  • स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सले टी–२० आई सिरिजमा समान चार खेलमा चारै अंक बटुले, स्कटल्यान्डसँग ३४ रनले पराजित हुँदा नेपाल रनरेटमा पछाडि रहँदै दोस्रो स्थानमा सीमित

नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजमा उपविजेता बनेको छ । स्कटल्यान्डको ग्लास्गोमा आयोजित शुक्रबार अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग ३४ रनले पराजित भयो । त्रिकोणात्मक सिरिजमा स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सले समान चार खेलमा चारै अंक बटुलेका छन् । तर, राम्रो रनरेटका आधारमा आयोजक स्कटल्यान्ड शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो । नेदरल्यान्ड्सलाई रनरेटमा पछि पार्दै नेपाल दोस्रो भयो । नेदरल्यान्ड्स तीन राष्ट्र सहभागी सिरिजमा तेस्रो भयो । नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्सलाई एक–एक खेलमा पराजित गरेको थियो ।

सिरिजको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भएको थियो । स्कटल्यान्डले अन्तिम खेलमा नेपालमाथि सानदार जित निकाल्दा उपाधि जित्ने थियो । हारले नेपाल च्याम्पियन बन्ने समीकरण बन्ने थियो । स्कटल्यान्डले रणनीतिअनुसार ब्याटिङ मात्र गरेन, बलिङ र फिल्डङमा समेत उत्कृष्ट प्रदर्शन गर्‍यो । टस जितेर पहिलो ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९३ रनको बलियो योगफल बनायो । प्रत्युत्तरमा नेपाल १८.५ ओभरमा एक सय ५९ रनमा समेटिँदा स्कटल्यान्ड शीर्ष स्थानमा उक्लियो । 

नेपालको कमजोर ब्याटिङ
नेपालले एक सय ९४ रनको विशाल लक्ष्य पछ्याएको थियो । कीर्तिमान जित रच्न नेपाललाई साझेदारी आवश्यक थियो । तर, नेपालले कुनै पनि विकेटका लागि गतिलो साझेदारी पाउन सकेन । जिम्मेवार ब्याट्सम्यानले अनावश्यक सट प्रहार गरी आफ्नो विकेट गुमाएका थिए । अघिल्लो खेल नेदरल्यान्ड्सविरुद्ध अर्धशतकीय योगदान दिएका कुशल भुर्तेल इनिङ्सको ०.४ ओभरमै क्याचआउट भए । आसिफ सेख र भीम सार्कीले दोस्रो विकेटका लागि १५ बलमा २६ रन जोड्दै आवश्यक रनरेट पूरा गरेका थिए । तर, भीमले सारिफले फ्याँकेको पहिलो बलमै खराब सट खेल्दा वाटबाट क्याचआउट भए । भीमले १० बलमा दुई चौकाको सहयोगमा १२ रनको योगदान दिए । भीम आउट हुँदा नेपाल ३.१ ओभरमा ३०÷२ को अवस्थामा रह्यो ।

नेपालले स्कोर बोर्डमा थप १० रन जोड्दा महत्वपूर्ण दुई विकेट गुमायो । सरिफले आसिफ सेखलाई बोल्ड गरे भने आरिफ सेख रनआउट भए । आरिफको विकेट गुमाउँदा नेपाल ५.१ ओभरमा ४०–४ को कमजोर अवस्थामा पुग्यो । कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले पाँचौँ विकेटका लागि ३३ बलमा ४२ रनको साझेदारी गर्दै नेपाललाई १०.४ ओभरमा ८२–५ को स्थितिमा राखे । रोहितले २० बलमा चार चौकाको सहयोगमा २७ रनको योगदान दिए । आक्रामक ब्याट्सम्यान लोकेश बलले पाँच बलमा पाँच रन जोडे । दीपेन्द्रसिंहले रूपेश सिंहसँग सातौँ विकेटका लागि २१ बलमा ३० रन बनाए । दीपेन्द्रसिंहले ३३ बलमा समान एक चौका र छक्का प्रहार गरी ३४ रन बटुले । 

रूपेशको आक्रामक इनिङ्स
शीर्ष तथा मध्यक्रमका ब्याट्सम्यान नचलेको पिचमा आठौँ क्रममा रूपेश सिंहले धैर्यतापूर्वक ब्याटिङ गर्दै नेपाललाई आशा दिलाए । रूपेशलाई अन्य ब्याट्सम्यानले गतिलो साथ दिन सकेनन् । इनिङ्सको अन्त्यतिर उनले अघिकांश स्ट्राइक आफूमा सीमित राखेका थिए । रूपेशले २२ बलमा ४३ रनको योगदान दिए । यस क्रममा उनले तीन छक्का र एक चौका प्रहार गरे । रूपेशले रिजन ढकालसँग आठौँ विकेटका लागि १३ बलमा २७ रनको साझेदारी गरे । उनले अन्तिम ब्याट्सम्यान ललित राजवंशीसँग आठ बलमा १५ रन बटुले । रिजनले पाँच बलमा पाँच रन बनाए । इनिङ्सको १८.५ ओभरमा दुई रन लिने प्रयासमा ललित रनआउट भए । यससँगै नेपालले सबै विकेट गुमाएर स्कोर बोर्डमा एक सय ५९ रन बनायो । रूपेश अन्तिमसम्म नटआउट रहे । 

मुन्सीको महत्वपूर्ण अर्धशतक
पहिलो ब्याटिङ गरेको स्कटल्यान्डले सुरुवात गतिलो बनाउन सकेन । तर, ओपनर जर्जे मुन्सीले आक्रामक ब्याटिङ गरेका कारण नेपालले खेल पकडमा राख्न असमर्थ भयो । मुन्सी र ब्रान्डोन म्याकमुलेनले दोस्रो विकेटका लागि सय रनको साझेदारी गर्दै स्कटल्यान्डलाई १२.४ ओभरमा एक सय ३४ रनको बलियो स्थितिमा राखे । स्पिनर कुशल भुर्तेलले मुन्सीलाई रोहितबाट क्याचआउट गराउँदै ‘ब्रेक थ्रु’ दिलाए । मुन्सीले ३९ बलमा ६ छक्का र पाँच चौका प्रहार गरी सर्वाधिक ७८ रनको योगदान दिए ।

ब्रान्डोनले ३० बलमा चार चौका र एक छक्का प्रहार गरी ४२ रन बनाए । स्कटल्यान्डले पूरै इनिङ्समा रनरेट नौ रनभन्दा तल झारेको थिएन । स्कटल्यान्डको ब्याटिङमा माइकल लेस्कले १७ बलमा दुई छक्का र एक चौका प्रहार गरी २६ रन र म्याथ्यु क्रसले १३ बलमा १७ रन जोडे । बलिङमा नेपालका सन्दीप लामिछानेबाहेक अन्य खर्चिलो देखिए । सन्दीपले चार ओभरमा २५ रन खर्चेर एक विकेट लिए । कुशलले २० रनमा दुई विकेट हात पारे । 

एकदिवसीय र टी–२० सिरिज राम्रो भयो : रोहित पौडेल, कप्तान, नेपाल
एक किसिमले स्कटल्यान्डको भ्रमण राम्रो भयो । हामीले आइसिसी विश्वकप लिग २ मा आठमध्ये ६ अंक बटुल्न सफल भयौँ । लिग २ मा स्कटल्यान्ड र नेदरल्यान्ड्स बलिया राष्ट्र हुन् । यी दुवैलाई हामीले हरायौँ । एकदिवसीयमा राम्रो रन चेज पनि भयो । टी–२० सिरिजमा पनि राम्रो नतिजा निकाल्यो । अन्तिम खेलमा अझ हामीले योभन्दा राम्रो गर्न सकिन्थ्यो । तर, ब्याटिङ नचलेका कारण नै पराजित भयौँ ।