१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २८ बुधबार
  • Thursday, 12 June, 2025
२o८२ जेठ २८ बुधबार o७:o८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रथम प्रचण्ड कप राष्ट्रिय महिला भलिबल, पुलिस र न्यु डायमन्ड विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २८ बुधबार o७:o८:oo

विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमन्ड स्पोर्टस् क्लबले प्रथम प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा जित निकालेका छन् । प्रतियोगिताको मंगलबार उद्घाटन खेलमा विभागीय डर्बीमा पुलिसले नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराएको हो । अर्को खेलमा न्यु डायमन्डले एभरेस्ट भलिबल क्लबमाथि ३–० को जित निकाल्यो । पोखरा रंगशालास्थित बहुउद्देश्य कभर्डहलमा भएको पहिलो खेलमा पुलिसले एपिएफविरुद्ध २५–२२, २७–२५ र २५–१७ ले बाजी मारेको हो । 

न्यु डायमन्ड एभरेस्टविरुद्ध २५–११, २५–१८ र २५–१० ले विजयी रह्यो । नेसनल स्पोर्टस् एकेडेमी र अखिल नेपाल खेलकुद महासंघले संयुक्त रूपमा आयोजना नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाममा राष्ट्रिय महिला भलिबल प्रतियोगिता गरेका हुन् । राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा पुलिस, न्यु डायमन्ड, एपिएफ र एभरेस्टसँगै घरेलु टोली गण्डकी र स्टेप रामपरले प्रतिस्पर्धा गरिरहेको एकेडेमीका अध्यक्ष दीपक कोइरालाले बताए । 

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समुह ‘ए’मा पुलिस, रामपर र एपिएफ छन् । समूह ‘बी’ मा न्यु डायमन्ड, गण्डकी र एभरेस्ट रहेका छन् । लिग चरणमा पहिलो र दोस्रो हुने टोलीले सेमिफाइनल खेल्नेछन् । विजेताले ६ लाख, उपविजेताले तीन लाख, तेस्रोले एक लाख रुपैयाँ पाउनेछन् । 

नेपालको हावापानी र संस्कृति मेल खाने खेल : प्रचण्ड
उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री प्रचण्डले भलिबल नेपालको हावापानी, संस्कृति र जनताको मनसँग मेल खाने खेल भएको बताए । यस कारण आफूले भलिबललाई राष्ट्रिय खेल बनाएको प्रचण्डले बताए । ‘मैले त्यसवेला भलिबललाई राष्ट्रिय खेल घोषणा गर्दैगर्दा यो हाम्रो भूगोल, हावापानी, संस्कृति र जनतासँगको मेल खाने भएकाले यसलाई राष्ट्रिय खेल बनाउनुपर्छ भनेर क्याबिनेटबाट निर्णय गराएको हुँ,’ उनले भने, ‘भलिबलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उपाधि जित्ने सुरुवात भएको छ ।’ आफ्नो कार्यकालमा खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर नीति र कार्यक्रम बनाउँदै आएको बताउँदै प्रचण्डले नीतिगत रूपमा मात्र राखेपमा योग्य व्यक्तिहरूलाई पठाएको र खेलक्षेत्रलाई संस्थागत गर्ने प्रयास गरेको बताए ।