१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २७ मंगलबार
  • Tuesday, 10 June, 2025
यम बम काठमाडाैं
२o८२ जेठ २७ मंगलबार o६:o५:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मनसुन ब्रेक हुँदा देशभर बढ्यो गर्मी, कहाँ कति पुग्यो तापक्रम ? 

पूर्वमा पनि सक्रिय छैन मनसुन, डेढ सातासम्म मध्य र पश्चिममा विस्तार हुन सकेन

Read Time : > 1 मिनेट
यम बम, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २७ मंगलबार o६:o५:oo

सरदरभन्दा दुई साताअघि १५ जेठको राति नै पूर्वी नेपालमा दक्षिण एसियाली मनसुन प्रवेश गरे पनि ब्रेक भइदिँदा देशभर गर्मी बढेको छ । सोमबार सबैभन्दा धेरै नेपालगन्जको अधिकतम तापक्रम ४१ डिग्री पुगेको छ । त्यस्तै, काठमाडौंको तापक्रम ३१.६ डिग्री पुगेको छ । मनसुनी वर्षा नै बन्द हुनुलाई मनसुन ब्रेक भनिन्छ । पूर्वी नेपालमा वेलावेला हल्का वर्षा भइरहे पनि बाँकी क्षेत्रमा टन्टलापुर घाम लाग्दा न्यूनतम र अधिकतम दुवै तापक्रम उकालो लागेको छ । तराईमा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेको छ ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मनसुन देशभर विस्तार नहुँदै ब्रेक भएको बताए । ‘कोशीमा १५ जेठ राति मनसुन भित्रिएर सुरुवातीमा ठुलो वर्षा पनि भयो । त्यसपछि त्यहाँ पनि खासै सक्रिय हुन सकेको छैन,’ अर्यालले भने, ‘मध्य र पश्चिम नेपालमा त मनसुन पुगेकै थिएन । एक सातादेखि मनसुन नै ब्रेक भएको छ ।’ पश्चिमी र न्यूनचापीय प्रणाली पनि खासै सक्रिय हुन नसकेकाले मध्य र पश्चिम नेपालमा वर्षा हुन नसकेको हो । गत वर्ष सरदरभन्दा एक दिनअघि १२ जुनमा मनसुन भित्रिए पनि देशभर फैलन दुई साता लागेको थियो ।

नेपालमा बंगालको खाडी हुँदै मनसुनी वायु आउँछ । र, पूर्वबाट पश्चिम बहन्छ । तर, अहिले पूर्वी नेपालमा रहेको मनसुनी वायु पनि लगभग सुक्खा छ । अनि, शक्तिशाली पनि नहुँदा पश्चिमी वायुलाई निष्क्रिय पनि पार्न सकेको छैन । पश्चिमी वायु कायमै रहे पनि सुक्खा छ । बंगालको खाडीमा बलियो न्यूनचापीय क्षेत्र नबन्दा अहिले समस्या आएको हो ।

मनसुनी चापीय रेखा भारतको कोलकाता–दिल्लीको रेखा (लाइन) हुँदा नेपालमा सक्रिय हुन्छ । तर, अझ उत्तरतिर सरे नेपालमा अझ धेरै पानी पर्छ । तर, यसपटक सुरुवातीमा पूर्वी नेपालनजिक रेखा आए पनि मध्य र पश्चिम क्षेत्रमा आएको छैन । 

भारतको जल तथा मौसम विज्ञान विभागले झनै तीन दिन पूर्वी राजस्थान, पन्जाब, हरियाणा, दिल्ली, उत्तरप्रदेशको दक्षिण–पश्चिम क्षेत्रमा लु चल्ने चेतावनी दिएको छ । त्यसपछि भने वर्षाले राहत हुने आकलन गरिएको छ ।

कहाँ कति पुग्यो तापक्रम ? 
पछिल्लो एक सातादेखि देशभरको तापक्रम उकालो लागिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार सबैभन्दा बढी नेपालगन्जको अधिकतम तापक्रम ४१ र न्यूनतम तापक्रम ३० डिग्री सेल्सियस मापन भएको छ ।

त्यस्तै, धनगढीमा ४०.२, भैरहवामा ४०, सिमरामा ३७.५, विराटनगरमा ३७, जनकपुरमा ३६.१ र धरानमा ३६ डिग्री सेल्सियस मापन भएको छ । उपत्यकासँगै पहाडी क्षेत्रको तापक्रम पनि उच्च छ ।

सोमबार काठमाडौंको अधिकतम तापक्रम ३१.६ र न्यूनतम २०.४ डिग्री सेल्सियस मापन भएको छ । त्यस्तै, दिपालयको ३७.५, सुर्खेतको ३६.२, घोराहीको ३५.९ र पोखराको ३२.२ डिग्री सेल्सियस तापक्रम पुगेको छ ।