१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २७ मंगलबार
  • Wednesday, 11 June, 2025
२o८२ जेठ २७ मंगलबार १३:४o:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

बर्खा लागेपछि त्रासमा बस्छन् बागमती किनारका बासिन्दा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २७ मंगलबार १३:४o:oo

उत्तरमा चुरे सिरानी हालेको सर्लाहीको पश्चिममा रौतहटसँगको सिमाना बागमती नदीले छुट्याएको छ। चुरेको खोँच छिचोल्दै निस्कने बागमती बहावले वर्षाको समयमा नदी किनारका गाउँको उठीवास लगाउने गरेको छ। खोलामा बाढी आउँदा कैयौँपटक थातथलो छाडेर भाग्नुपरेको अनुभव यहाँका स्थानीयको मानसपटलमा आज पनि ताजै छ।

सर्लाहीको बसबरिया गाउँपालिका- २, मानपुरका ६५ वर्षीय रामसेवक महतोले प्रत्येक बर्खामा यहाँ बाढी आउने भन्दै मनसुन सुरु भएसँगै बाढीको त्रास बढ्न थालेको बताए। ‘वर्षा सुरु भएपछि रातभरि राम्रोसँग निद्रा लाग्दैन,’ उनले भने, ‘गत वर्ष खोलाले दुई–तीन स्थानमा ड्याम फुटायो। पानी गाउँमा पस्न थालेपछि भागेर ज्यान जोगाएका थियौँ।’

आकाश गड्याङगुडुङ गर्न थालेपछि पशुचौपाया खोलेर गाउँतिर लाग्ने गरेको उनले सुनाए। गत वर्ष बागमतीमा आएको बाढीले बसबरियाको मानपुर क्षेत्र, रामनगर गाउँपालिका र बलरा नगरपालिकाको पश्चिम दक्षिण क्षेत्र प्रभावित भएको थियो। वर्षाको भेल गाउँ र खेतमा पसेपछि स्थानीय विस्थापित भएका रामनगर- १ का वडाध्यक्ष दिनेश यादव बताउँछन्।

जिल्लाको दक्षिण क्षेत्रमा पुगेपछि बागमतीसँग मिसिने अन्य सहायक नदीले स्थानीयलाई दुःख दिने गरेको उनको भनाइ छ। रामनगर- १, छर्की टोलका विश्वनाथ मुखियाले गत वर्ष बागमती नदी गाउँ पस्दा एक साता बढीसम्म डुबानमा परेको सुनाए। ‘फुसको छानो र खर लिपेर भित्ता बनाइएको घर बाढीले बगाइदिएपछि विस्थापित भएका थियौँ,’ उनले भने। उनलाई गत वर्षको दुःख सकिए पनि यस वर्ष उस्तै सास्ती व्यहोर्नुपर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ।

‘चुनावका वेला भोट माग्न आउने नेताको अनुहार देख्न नपाएको धेरै भयो, यो वर्षको बर्खामा बाढीले कति वितण्डा मच्चाउने हो भन्ने चिन्ता लाग्छ,’ मुखियाले गुनासो पोखे। चुरेको काखमा बागमती खुम्चिएर बगेको भए पनि जतिजति दक्षिण गयो उति फैलिँदै गएको छ। नेपाल छाडेर भारत प्रवेश गर्ने स्थानसम्म पुग्दा बागमतीले आफ्नो क्षेत्र फैलाएर झन्डै तीन किलोमिटरभन्दा बढी फराकिलो बनाएको छ। बागमतीमा आएको वर्षाको भेल खेलाबाट भन्दा बढी खेत र बस्ती हुँदै बग्ने गर्छ।

बागमतीको बाढीले गत वर्ष बलरा- १ का हरिशरण कापरकाे खाने अन्नसमेत बगाएको थियो। स्थानीय सरकारले समयमा बाढी रोकथामका लागि प्रभावकारी तयारी नगर्दा बर्सेनि सास्ती हुने गरेको उनको भनाइ छ। विपत् व्यवस्थापनका नाममा समस्या भइसकेपछि राहत वितरण गर्नुभन्दा समयमै न्यूनीकरणका उपायबारे पहल गर्नुपर्नेमा उनले जोड दिए। खोलाले खोल्न सक्ने क्षेत्रमा बाँधको निर्माण तथा मर्मत, सम्भावित जोखिमको आकलन र पूर्वतयारी गर्ने हो भने यस क्षेत्रका नागरिकले सधैँ बिचल्ली हुनुपर्दैन।

विपत् पूर्वतयारी गरिरहेको स्थानीय तहको दाबी

विपत् पूर्वतयारीमा स्थानीय पालिकाले सरोकार भएका निकायसँग छलफल गरी क्षति न्यूनीकरणको प्रयास थालिएको बताएका छन्। नागरिकको जिउधनको रक्षालाई पालिकाले पहिलो प्राथमिकतामा राखेको जनप्रतिनिधिले बताएका हुन्। बलरा नगरपालिकाका प्रमुख रामाशंकरप्रसाद कुशवाहाले सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगको सहकार्यमा उद्धार स्वयंसेवक तालिम सञ्चालन गरिएको बताए।

विपतका समयमा स्थानीय युवा परिचालन गर्न सकिने गरी सुुरक्षाकर्मीलाई तालिम प्रदान गरिएको उनको भनाइ छ। ‘बाढी, डुबान तथा आगलागीका घटनामा स्थानीय युवा अगाडि हुन्छन्,’ प्रमुख कुशवाहाले भने, ‘उहाँहरूलाई हामीले सामान्य आत्मरक्षा र जिउधनको सुरक्षा अपनाउन सकिने उपायबारे जानकारी दिन सके मात्र ठुलो जनधनको क्षति रोक्न सक्छौँ। सोहीअनुरूप सुरक्षा निकायसँग समन्वय गरेर तालिम प्रदान गरिरहेका छौँ।’

गत वर्ष असारमा बागमतीमा आएको बाढीले जिल्लाका बलरा नगरपालिका, रामनगर, धनकाैल तथा बसबरिया गाउँपालिकाका अधिकांश वडा प्रभावित बनेका थिए। डुबानले यस क्षेत्रमा खानेपानीको समस्या तथा शैक्षिक संस्था हप्तौँसम्म सञ्चालन हुन नसकेको स्थानीय सञ्चारकर्मी जितेश यादवले बताए। नेपालबाट ठुलो क्षेत्रमा फैलिएर गएको बागमती नदीलाई भारतले सीमा क्षेत्रबाटै दुवैतर्फ ड्याम कसेर नियन्त्रण गरेको छ। जसले गर्दा स्वतन्त्र ढंगले पानी बग्न नपाउँदा वर्षाको बाढी नेपालतर्फ फर्कने गरेको हो। भारत सरकारले सीमाक्षेत्रमा निर्माण गरेको एसएसबी रोडका कारण चुरेबाट सुरु भएका खहरेले अवरुद्ध हुँदै नेपाली भूमिमा क्षति गरिरहेको स्थानीयको गुनासो छ। रासस