१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 09 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:१७:oo
Read Time : > 1 मिनेट
अर्थ

नौ महिनामा ४३ निकायले पाए चार अर्ब भन्सार राजस्व छुट

नेपाली सेनादेखि विद्युत् प्राधिकरणसम्मले गरेको ११ अर्ब २४ करोडको वस्तु आयातमा ३५.३७ प्रतिशत राजस्व छुट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:१७:oo

सरकारले चालू आर्थिक वर्ष ०८१/८२ को नौ महिनामा ४३ निकाय तथा कम्पनीलाई करिब चार अर्ब रुपैयाँ भन्सार राजस्व छुट दिएको छ । चैत मसान्तसम्म ती कम्पनी तथा निकायले ११ अर्ब २४ करोड २४ लाख रुपैयाँको वस्तु आयात गरेका थिए । उक्त आयातमा अर्थ मन्त्रालयले तीन अर्ब ९७ करोड ७३ लाख रुपैयाँ राजस्व छुट दिएको हो, जुन आयातित मूल्यको ३५.३७ प्रतिशतबराबर हुन आउँछ ।

नेपाल विद्युत् प्राधिकरणलाई अर्थ मन्त्रालयले सबैभन्दा बढी एक अर्ब ८७ करोड छुट दिएको छ । प्राधिकरणले यस अवधिमा ६ अर्ब सात करोडको वस्तु आयात गरेको थियो । नेपाली सेनाले ६८ करोड ३५ लाख रुपैयाँको वस्तु आयातमा ७४ करोड ६८ लाख भन्सार छुट पाएको छ । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई ५५ करोड १९ लाखको आयातमा २१ करोड ८५ लाख रुपैयाँ छुट दिइएको छ । 

आर्थिक ऐनको दफा १८ मा दर घटाउन, बढाउन वा छुट दिन सक्ने व्यवस्था छ । जसअनुसार अर्थ मन्त्रालयले मुनाफारहित सार्वजनिक तथा सामुदायिक संस्था, संघ, प्रदेश र स्थानीय तहका निकाय वा सरकारी स्वामित्वका संगठित संस्थालाई लाग्ने दस्तुर, शुल्क, महसुल वा करको दर घटाउन, आंशिक वा पूर्ण छुट दिन सक्ने व्यवस्था छ । त्यस्तै, अर्थले वैदेशिक ऋण वा अनुदान सहयोगमा सञ्चालन गरिने आयोजनाका लागि सरकार वा लगानी बोर्डसँग भएको आयोजना वा आयोजना विकास सम्झौताबमोजिमका आयोजना विकासका लागि ठेकेदारको नाममा आयात हुने वस्तुमा पनि यस्तो छुट दिने उल्लेख छ । 

शैक्षिक तथा स्वास्थ्य संस्थाहरू पनि छुटको लाभ उठाउने प्रमुख निकायमा पर्छन् । त्रिभुवन विश्वविद्यालयले ५९ लाख ३३ हजारको वस्तु आयातमा १३ लाख ९३ हजारको (२३.४७ प्रतिशत) छुट पाएको छ । बिपी कोइराला क्यान्सर अस्पतालले एक करोड दुई लाखको वस्तु आयातमा २५ लाख ८० हजारको छुट दिएको छ । वीर अस्पतालले एक करोड ७८ लाखको आयातमा ३३ लाख २४ हजारको छुट पाएको छ । राष्ट्रिय क्षयरोग केन्द्रले पाँच करोड ५६ लाखको आयातमा एक करोड तीन लाखको छुट पाएको छ । पशु स्वास्थ्य अनुसन्धान केन्द्रले ४३ लाख ५९ हजारको आयातमा सात लाख १० हजार छुट पाएको छ ।