१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २५ आइतबार
  • Sunday, 08 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २५ आइतबार o८:१o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नागरिकता माग्दै तीन वर्षदेखि गृह मन्त्रालय धाउँदै मालती 

२५ वर्षीया मालतीको तीन पुस्ता नखुलेको भन्दै नागरिकता दिन प्रशासनको अस्वीकार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २५ आइतबार o८:१o:oo

सिन्धुलीको गोलन्जोर गाउँपालिका– ७ की मालती श्रेष्ठ २५ वर्षकी भइन् । नागरिकताका लागि उनी जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालय धाउन थालेको तीन वर्ष भइसक्यो । नागरिकता नहुँदा अनेक समस्या झेलिरहेकी उनलाई तीन पुस्ता नखुलेको भन्दै जिल्ला प्रशासनले नागरिकता दिन अस्वीकार गर्दै आएको छ ।

नागरिकता नहुँदा बैंकमा खाता खोल्नदेखि जागिर खाने तथा विदेश जानेजस्ता प्रक्रिया रोकिएको मालती बताउँछिन् । जिल्ला प्रशासन कार्यालयले नागरिकता दिन नमानेपछि पछिल्लो तीन वर्षयता उनी गृह मन्त्रालयसमेत धाउँदै आएकी छिन् । तैपनि उनले नागरिकता पाउन सकेकी छैनन् । ‘सबैतिर हारगुहार गर्दा पनि मैले नागरिकता पाउन सकेको छैन, धेरै प्रताडित बनिसकेको छु,’ उनले भनिन्, ‘सरकारलाई सोध्न चाहन्छु, म किन यो देशको अनागरिक भएँ ?’ रत्नराज्यलक्ष्मी क्याम्पसबाट स्नातक अध्ययन गरिसकेकी उनी नागरिकता नहुँदा सबैतिर समस्या झेल्दै आएकी बताउँछिन् ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले अहिलेको कानुनी व्यवस्थाअनुसार मालतीलाई नागरिकता दिन गाह्रो भएको बताए । ‘उनका बुबा–आमाको पनि नागरिकता रहेनछ, हजुरबुबाको पनि ठेगाना थाहा छैन,’ उनले भने, ‘हाम्रो कानुनले तीन पुस्तामध्ये कसैले सनाखत गर्नुपर्ने प्रावधान छ, त्यो नहुँदा नागरिकता दिन नसकिएको हो, सहजीकरणका लागि गृह मन्त्रालयलाई पत्राचार गरेका छौँ ।’

मालतीका बुबा नवराज श्रेष्ठसँग पनि नागरिकता छैन । नवराजलाई सानै उमेरमा छाडेर आमाले अर्काे व्यक्तिसँग बिहे गरेकी थिइन् । नवराजकी आमाको अर्काे श्रीमान्सँग बिहे गरेपछिको नागरिकता छ । तर, त्यस आधारमा नवराजले पनि नागरिकता पाउन सकेका छैनन् । जनमुक्ति सेनाका सेक्सन कमान्डर रहेका उनको बुबा–आमा नखुलेको भन्दै जिल्ला प्रशासनले नागरिकता बनाउन अस्वीकार गरेको हो । मालतीको आमाको मृत्यु भइसकेको छ ।

यस्तो अवस्थामा सर्जमिन गरेर नागरिकता दिन सकिने नागरिकतासम्बन्धी कानुन बुझेका गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् । नागरिकता ऐन २०६३ को दफा ८ को उपदफा ४ बमोजिम सर्जमिन गरेर नागरिकता दिन सकिने प्रावधान छ । सो उदफामा भनिएको छ, ‘कुनै व्यक्तिले उपदफा १ र २ बमोजिमका प्रमाण निवेदनसाथ पेस गर्न नसकेको अवस्थामा तोकिएको अधिकारीले स्थलगत सर्जमिन र निवेदकलाई चिन्ने सोही वडामा बसोवास गर्ने कम्तीमा तीनजना नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका व्यक्तिले सर्जमिनस्थलमै गरेको सनाखतका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिन सक्नेछ ।’