
किसानलाई जग्गाधनी प्रमाणपत्र(लालपुर्जा) दिनका लागि कञ्चनपुरको बेदकोट नगरपालिकामा ऐलानी जग्गा पुनः नापजाँच भएको छ। लालपुर्जा वितरण गर्नका लागि मंगलबारदेखि बेदकोट नगरपालिका–८ मा पुनः नापजाँच सुरु गरिएको हो।
भूमि समस्या समाधान आयोगले वडा कार्यालयसँग समन्वय गरेर ऐलानी जमिनको पुनः नापजाँच सुरु गरेको जनाएको छ। बेदकोट नगरपालिका–८ का वडाध्यक्ष महेशराज जोशीले यसअघि नापजाँच भएर अन्तिम प्रमाणीकरण गरेर लालपुर्जा वितरणका लागि जग्गा नाप्ने काम भइरहेको बताए।
‘अहिले अधुरो कार्यको पुनःथालनी भएको छ,’ उनले भने, ‘जमिन भएर स्वामित्व नभएका जनतालाई जमिनको मालिक बनाउने काम भएको छ।’ यसअघि गत वर्ष ८३ किसानलाई पुर्जा वितरण गरेको उनको भनाइ छ। अब लगत्तै ११० किसानलाई लालपुर्जा वितरण गरिने उनले बताए। ‘हामीले हरेक वर्ष पुर्जा वितरण कार्य अघि बढाएका छौँ, झन्डै ६ दशकदेखि पुर्जाविहीन जनतालाई जमिनको मालिक बनाउँछौँ।’
चुनावका वेला जनतासँग गरेको वाचाअनुरूप बेदकोट–८ मा जमिन समस्या समाधानको कामकाज अघि बढेको वडाध्यक्ष जोशीले बताए। ‘४६९ भूमिहीन अव्यवस्थित बसोबासीले फारम भरेका छन्,’ उनले भने, ६ भूमिहीन दलित र ३ भूमिहीन सुकुमबासीले पनि फारम भरेका छन्।’
पहिलो चरणमा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिने, दोस्रो चरणमा भूमिहीन दलित र सुकुमबासीका लागि जमिन खोजेर वितरण गरिनेछ। ‘जनता जमिनको मालिक भए उनीहरूले राज्यलाई बुझाउने करले राज्यको समेत स्थायी आम्दानी हुनेछ,’ उनले भने, ‘यसबाट जनता र राज्य समृद्ध बन्नेछ।’
भूमि समस्या समाधान आयोग कञ्चनपुरका सदस्य दिलबहादुर देउवाले विगतका अधुरा काम अघि बढाउँदै जनतालाई हातहातमा पुर्जा वितरण गरिने बताए। ‘राजनैतिक अस्थिरताले रोकिएको काम पुनः सुरु भएको छ,’ उनले भने, ‘जमिनको थप प्रमाणीकरण गरेर अघि बढ्छौँ।’
बेदकोट नगरका उपप्रमुख तुलसी जोशीले नगरका १० वटै वडामा भूमिहीन जनतालाई मुस्कानसहितको लालपुर्जा वितरण गरिने बताए । उपप्रमुख जोशीले बेदकोट–८ सँगै सबै वडामा जमिन समस्या समाधान गरिने बताए। स्थानीय शंकर नाथले ६२ वर्षदेखि जमिनको स्वामित्व नपाएका जनता अब जमिनको मालिक बन्ने विश्वासमा रहेको बताए। ‘हामी यहाँ ०१८ सालदेखि बसोबास गर्दै आएका छौँ, अहिलेसम्म लालपुर्जा पाएका छैनौँ,’ उनले भने, ‘गत वर्ष केहीले लालपुर्जा पाए। अहिले फेरि थप जनताले पाउने भएका छन्।’
भूमि समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष नेत्रप्रकाश पन्तले जिल्लामा पुनः जग्गा नापजाँच सुरु भएको बताए। अध्यक्ष पन्तले बेदकोट–८ सहित दोधाराचाँदनी भीमदत्त, शुक्लाफाँटा, कृष्णपुर र लालझाडीमा नापजाँच सुरु भएको बताए। यसअघि आयोगले गरेका कामकाजको स्वामित्व ग्रहण गर्दै बाँकी काम अघि बढाएर समयमै लालपुर्जा वितरण गरिने बताए। अध्यक्ष पन्तले अव्यवस्थित बसोबासीको समस्या समाधान गरेर बाँकी भूमिहीन सुकुमबासीका हकमा समस्या समाधान गरिने बताए।