
संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले गाजापट्टीमा सहायता वितरणस्थल वरपर नागरिकहरूमाथि ‘घातक आक्रमण’ले ‘युद्ध अपराध’ भएको बताएका छन्।
प्यालेस्टिनी क्षेत्रका उद्धारकर्ताहरूले दक्षिणी सहर रफाहको सहायता वितरण केन्द्रनजिकै मंगलबार सर्वसाधारणलाई लक्षित गरी इजरायली गोली प्रहारबाट २७ जनाको मृत्यु भएको बताएका छन्।
यो आइतबारको यस्तै घटनापछि आएको हो, जति वेला उद्धारकर्ताहरूले सोही स्थानमा ३१ जनाको मृत्यु भएको बताएका थिए। साक्षीहरूका अनुसार उनीहरू सहायता लिन गइरहेको थिए।
‘गाजामा थोरै मात्रामा खाद्यान्न सहायता प्राप्त गर्न खोज्ने विचलित नागरिकहरूमाथि घातक आक्रमणहरू असहनीय छन्,’ टर्कले एक विज्ञप्तिमा भने, ‘लगातार तेस्रो दिन, गाजा ह्युमेनिटेरियन फाउन्डेसन (जिएचएफ)द्वारा सञ्चालित सहायता वितरणस्थल वरपर मानिसहरू मारिए। आज बिहान हामीले दर्जनौँ मानिस मारिएको र घाइते भएको जानकारी पाएका छौँ।’
अमेरिका समर्थित जिएचएफ हालै गठन भएको समूह हो। यसलाई इजरायलले गाजामा नयाँ सहायता वितरण संयन्त्र लागू गर्न सहयोग गरेको छ। तटस्थता, निष्पक्षता र स्वतन्त्रताको मूल मानवीय सिद्धान्तहरू पूरा गर्दैन भन्ने चिन्ताका कारण संयुक्त राष्ट्रसंघले फाउन्डेसनसँग काम गर्दैन।
टर्कले प्रत्येक आक्रमणको द्रुत र निष्पक्ष अनुसन्धान गर्न र जिम्मेवारहरूलाई जवाफदेही बनाउन आह्वान गरे।
‘नागरिकहरूविरुद्ध निर्देशित आक्रमणहरू अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन र युद्ध अपराध हो,’ उनले भने, ‘प्यालेस्टिनीहरूलाई सबैभन्दा बढी विकल्पहरू प्रस्तुत गरिएको छः इजरायलको सैन्यकृत मानवीय सहायता संयन्त्रमार्फत उपलब्ध गराइरहेको थोरै खानामा पहुँच गर्ने प्रयास गर्दा भोकमरीबाट मर्नु वा मर्ने जोखिम लिने। यो सैन्यीकृत प्रणालीले जीवनलाई खतरामा पार्छ र सहायता वितरणमा अन्तर्राष्ट्रिय मापदण्डको उल्लंघन गर्दछ।’