
नेपालमा सुर्तीजन्य पदार्थको लत विशेषगरी युवापुस्तामा गम्भीर रूपले देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हाल नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग विशेषगरी १५ देखि ३० वर्ष उमेर समूहमा उच्च दरमा देखिएको छ ।
ग्लोबल बर्डेन अफ डिजिजको तथ्यांकअनुसार हाल नेपालमा २८ प्रतिशत सुर्तीजन्य पदार्थ सेवनकर्ता छन् । जसमा १५ देखि ३० वर्ष उमेर समूहका युवा १७ प्रतिशत छन् । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुंगानाले टोबाकोको प्रयोग युवापुस्तामा खतरनाक रूपले वृद्धि भएको बताए । ‘सुर्तीजन्य पदार्थले दम, खोकी, फोक्सो तथा मुखको क्यान्सरजस्ता गम्भीर रोग निम्त्याइरहेको छ,’ उनले भने, ‘तर, कानुनको कार्यान्वयन कमजोर भएकाले यसको नियन्त्रण चुनौतीपूर्ण बनेको छ ।’
सन् २०१३ मा नेपालमा ३० प्रतिशत सुर्तीजन्य पदार्थ सेवनकर्ता रहेकोमा सन् २०३० सम्म १५ प्रतिशतमा झार्ने लक्ष्य राखिएको थियो । सन् २०१९ को अध्ययन तथ्यांकले २८ प्रतिशत देखाएको थियो भने सन् २०२४ को तथ्यांकले २७ प्रतिशत देखाएको छ । सुर्तीजन्य पदार्थ सेवनकर्ताको संख्या १५ प्रतिशतमा झार्ने समय नजिकिँदै गएपनि सेवनकर्ता युवा बढ्दा चिन्ता थपिएको छ ।
पूर्वस्वास्थ्य सचिव डा. सुशीलनाथ प्याकुरेलका अनुसार सुर्तीजन्य पदार्थले नेपाली जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । ‘खैनी, गुट्खा, चुरोटजस्ता पदार्थको सेवनले गिजा तथा मुखको क्यान्सर हुने सम्भावना उच्च हुन्छ,’ उनले भने । साथै, उनले कर वृद्धिबाट उपभोग घटाउन सकिने सुझाव दिए । ग्लोबल क्यानको सन् २०२० को तथ्यांकले नेपालमा २० हजार ५०८ क्यान्सर प्रभावितमध्ये दुई हजार ३२७ मा मुखको क्यान्सर भएको तथ्यांक सार्वजनिक गरेको थियो । सुर्तीजन्य पदार्थ सेवनले मुखको क्यान्सरसमेत बढाउने गरेको चिकित्सकहरूले बताउने गरेका छन् ।
एक वर्षअघि एक्सन नेपालले गरेको अध्ययनअनुसार सुर्तीजन्य पदार्थको सेवनले हुने क्यान्सर रोगको पहिचान र उपचारमा एक व्यक्तिको खर्च सरदर नौ लाख ८१ हजार ३७० हुने गरेको पत्ता लागेको छ । अध्ययनले देशभरका विभिन्न क्यान्सर अस्पतालमा क्यान्सरको उपचार गरिरहेका १३० बिरामीमा सर्वेक्षण गर्दा १६ प्रतिशतले उपचारका लागि घरजग्गा बेचेको देखाएको थियो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले सरकारी नीति थप बलियो बनाएर सुर्तीजन्य पदार्थ रोकथाममा काम गर्नुपर्ने बताए । उनका अनुसार चुुरोटलगायत सुर्तीजन्य वस्तुको प्रयोगले फोक्सो, श्वासप्रश्वास, मुख, घाँटीलगायतमा क्यान्सर निम्त्याउँछ । उनले भने, ‘सरकारले केही प्रतिशत कर वृद्धिको घोषणा गरे पनि त्यो पर्याप्त छैन। टोबाकोका कारण व्यक्ति, परिवार र राज्यलाई ठूलो आर्थिक भार पर्न गएको छ ।’
सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी ऐन, २०७६ अनुसार सार्वजनिक स्थलमा चुरोट वा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरिएको छ । तर, व्यावहारिक रूपमा यो ऐन कार्यान्वयनमा आउन सकेको छैन। ऐनले शिक्षण संस्था, स्वास्थ्य संस्था, सार्वजनिक सवारी, होटेल–रेस्टुरेन्टलगायत थुप्रै स्थानलाई सार्वजनिक क्षेत्र मानेको छ र त्यहाँ सुर्तीजन्य पदार्थ सेवनमा रोक लगाइएको छ। तर, यी ठाउँमा खुलेआमसुर्तीजन्य पदार्थको सेवन हुने गरेको छ । यसैबिच सरकारले शनिबारदेखि सुर्तीजन्य पदार्थ सेवन त्याग्नका लागि निःशुल्क परामर्श तथा सुझाव दिन ११३२ टोल फ्री नम्बर सुरु गर्दै छ ।