
भिजिट भिसा प्रकरणमा अख्तियारको अनुसन्धान पनि सुस्त देखिएको छ । संगठित तस्करी चलाएको आरोप लागेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई हिरासतमा नराख्दा उनले अनुसन्धान प्रभावित पार्ने प्रयास गरिरहेका छन् । स्रोतका अनुसार अहिले पनि उनी शक्तिकेन्द्रहरूसँग सम्पर्कमा छन् ।
अख्तियारले गत ७ गते भट्टराईलाई कार्यालयबाटै नियन्त्रणमा लिएको थियो । सोही दिन हाजिर जमानीमा छाडिएको थियो । पक्राउ परेको भोलिपल्ट पनि उनी अख्तियार पुगेका थिए । १२ गतेसमेत सोधपुछका लागि उनी अख्तियार गएका थिए । १० दिनपछि उपस्थित हुने गरी हाजिर जमानीमा उनलाई छाडिएकोमा आइतबार पुनः बोलाइएको छ ।
यसबिचमा अख्तियारको अनुसन्धानले गति लिन सकेको छैन । सो प्रकरणमा आयोगले नियन्त्रणमा लिएका बिचौलियाद्वय कविता पौडेल र भरत सुवेदी तथा एक ट्राभल एजेन्सी सञ्चालक बालकृष्ण खड्कासमेत हिरासतबाहिर नै छन् ।
उनीहरूबाट बरामद डिभाइसको परीक्षण प्रतिवेदन नआएको भन्दै हिरासतमा नराखिएको आयोगको दाबी छ । प्रारम्भिक अनुसन्धानमै भिजिट भिसाको मानव तस्करीको घटना संगठित र संस्थागत देखिएको छ ।
सेटिङको कनेक्सन अध्यागमन विभाग र गृह मन्त्रालयसम्म देखिएको दाबी अख्तियारका अधिकारीहरूको थियो । आफैँले कार्यालय प्रमुखका रूपमा पठाएका भट्टराईलाई अख्तियारले पक्राउ गर्नु एक दिनअघि मात्र गृहमन्त्री रमेश लेखकले मन्त्रालयमा सरुवा गरेर अर्का सहसचिव पठाउनुले पनि यस्तो दाबीलाई बल पुर्याएको थियो ।
यसअघि प्रहरीले छानबिन गरेर अभियोजन बनाएका अधिकृत विमल पौडेललाई मन्त्रीले आफ्नो सचिवालयमा राख्नुले पनि सेटिङको लहरो मन्त्रालयसम्म पुग्ने आशंकालाई बढावा दिएको थियो ।