
सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हबमा विकास गरिने नीति पनि सरकारले ल्याएको छ । यसैगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटक र श्रमिकका लागि किफायती हुने गरी सञ्चालन गरिने अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेटमा उल्लेख छ । त्यसका लागि विमानस्थल परिसरमा आवश्यक सुविधा उपलब्ध गराइने बताइएको छ । त्यहाँबाट विमानस्थलबाट कार्गो सेवा सञ्चालन गर्न विशेष सहुलियत दिइने पनि बजेटमा उल्लेख छ ।
यी दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याए पनि त्यहाँबाट अन्तर्राष्ट्रिय उडान भने हुन सकेका छैनन् । त्यो अवस्थामा सरकारले त्यहाँबाट अन्तर्राष्ट्रिय उडान गराउने प्रयास गरेको देखिन्छ । ‘नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गरिरहेका वायुसेवा कम्पनीलाई भैरहवा र पोखरा विमानस्थलबाट निश्चित संख्यामा उडान सञ्चालन गर्न थप प्रोत्साहन र सहुलियत दिइनेछ,’ बजेटमा भनिएको छ ।
त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाइने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’मा विकास गर्ने योजना ल्याएको छ । बढ्दो यात्रुको चापलाई व्यवस्थापन गर्न सरकारले त्यसलाई बुटिक विमानस्थलमा विकास गर्ने योजना आगामी आर्थिक वर्ष ०८२÷८३ को बजेटमार्फत ल्याएको हो । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गरेका छन् । त्यसमार्फत उनले यो परियोजनाका लागि चार अर्ब १५ करोड रुपैयाँ बजेट नै विनियोजन गरेका छन् ।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो यात्रु चापलाई व्यवस्थापन गर्न क्षमता विस्तार गरी बुटिक विमानस्थलमा विकास गर्न चार अर्ब १५ करोड विनियोजन गरेको छु,’ अर्थमन्त्री पौडेलले संसद्मा पेस गरेको बजेटमा उल्लेख छ ।
अहिले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नतिको काम भइरहेको छ । त्यो अवस्थामा सरकारले त्यसलाई बुटिक विमानस्थलमा विकास गर्ने लक्ष्य लिएको हो ।
निजगढ विमानस्थल बनाउन वैकल्पिक वित्तको उपयोग गरिने
निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई यसपालि पनि बजेटमा समावेश गरेको छ । विगतमा बजेटमा परेर पनि यो परियोजना निर्माणको प्रक्रिया अघि बढ्न सकेको छैन । अहिले पुनः यसलाई बजेटमा समावेश गर्दै वैकल्पिक विकास वित्तको उपयोग गरिने बताइएको छ । ‘वैकल्पिक विकास वित्तको उपयोग गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाइनेछ,’ बजेटमा भनिएको छ ।
होटेल र रिसोर्टलाई आयकर र विद्युत् महसुलमा छुट
होटेल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह आयकर तथा विद्युत् महसुल छुट दिने पनि बजेटमा उल्लेख छ । बजटमा थप भनिएको छ, ‘होटेल, मोटेल, रेस्टुरेन्ट, जंगल सफारीलगायतका पर्यटन व्यवसायमा कार्यरत श्रमिकका लागि सेवा शुल्कका माध्यमबाट प्रोत्साहन गर्न कानुनी व्यवस्था गरिनेछ ।’ यस्तै, पर्यटकीय गन्तव्यको विकासमा निजी क्षेत्रको लगानी आकर्षित गरिने पनि बताइएको छ । प्रमुख पर्यटकीय क्षेत्रमा हिल स्टेसन, होटेल, लज, रिसोर्टलगायतका पर्यटन पूर्वाधार निर्माणका लागि वन क्षेत्र र सरकारी स्वामित्वको जमिन भाडामा दिने पनि बजेटमा उल्लेख छ ।
क्यान टुक्र्याउने घोषणा
सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई टुक्र्याउने घोषणा पनि गरेको छ । अहिले प्राधिकरणले नै नियामक र सेवाप्रदायकको काम गर्दै आएको छ । अब त्यसलाई छुट्याउने बजेटमा उल्लेख छ । ‘नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायमा छुट्याई संस्थागत सुदृढीकरण गरिनेछ,’ बजेटमा भनिएको छ । प्राधिकरण टुक्र्याउने बहस पहिलेदेखि नै हुँदै आएको छ । तर, त्यसले पूर्णता पाउन सकेको छैन । त्यस क्रममा सरकारले बजेटमार्फत प्राधिकरण टुक्र्याउने योजना ल्याएको हो । यस्तै, आगामी आर्थिक वर्षभित्र नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट बाहिर ल्याउन आवश्यक कार्य गरिने पनि बजेटमा उल्लेख छ । आन्तरिक हवाई सेवालाई थप सुरक्षित र पहुँचयोग्य बनाइने पनि बताइएको छ ।
तीन आन्तरिक विमानस्थलको क्षमता विस्तार गरिने, ५० करोड बजेट
सरकारले केही आन्तरिक विमानस्थलको क्षमता विस्तार गर्ने योजना पनि अघि बढाएको छ । त्यसमा प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापास्थित भद्रपुर विमानस्थलको पनि क्षमता विस्तार गर्ने योजना ल्याइएको छ । यसैगरी दाङको टरिगाउँ र ताप्लेजुङको सुकेटार विमानस्थलको पनि क्षमता विस्तार गरिने बजेटमा उल्लेख छ । विमानस्थलको पूर्वाधार विकासका लागि ५० करोड रुपैयाँ रकम विनियोजन गरिएको छ ।