
एमालेले लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन १५ जेठलाई पहिलोपटक जनउत्सवका रूपमा मनाएको छ । नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान झल्किने विविध झाँकी र सांस्कृतिक कार्यक्रमसहित बिहीबार प्रदर्शन गरेर एमालेले दिवसलाई जनउत्सवका रूपमा मनाएको हो । काठमाडौंसहित ७७ जिल्ला सदरमुकाम र ७५३ वटै पालिकामा विकेन्द्रित ढंगले जनउत्सव मनाइएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
गणतन्त्र दिवसकै दिन पारेर पूर्वराजावादी समूहले राजतन्त्र फर्काउने उद्देश्यले लगातार आन्दोलन सुरु गरेपछि एमालेले पनि ११ जेठको सचिवालय बैठकबाट पालिका तहसम्म उत्सव मनाउने निर्णय गरेको थियो । एकै दिन परस्पर विरोधी पक्षधरको कार्यक्रम भएकाले झडप हुने अनुमानका बाबजुद उत्सव शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
भृकुटीमण्डपबाट विभिन्न जातीय वेशभूषा, कला र सांस्कृतिक प्रस्तुतिसहित सुरु भएको प्रदर्शन भद्रकाली, सहिदगेट, सुन्धारा, एनएसी, न्युरोड, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमै फर्किएर समापन भएको थियो । प्रदर्शनकारीले सडकमै नाचगान गरेका थिए भने कतिपयले संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावादजस्ता नारा पनि लगाएका थिए । खासगरी उपत्यकाको नेवाः संस्कृति, सुदूरपश्चिमको देउडा संस्कृति, हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय तथा तराईमा बसोबास गर्ने विभिन्न जाति र समुदायको सांस्कृतिक पहिचानका झाँकी प्रदर्शित थिए ।
सांस्कृतिक झाँकीसहितको र्याली सकिएपछि आयोजित संक्षिप्त कोणसभालाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको गणतन्त्र जनताको सार्वभौमसत्ताको प्रतीकका रूपमा रहेको बताए । सिंगो राष्ट्रको ध्यान बजेटमा केन्द्रित भइरहेका वेला जनताको विजयको उत्सवको दिनलाई पछाडि फर्काउने अवाञ्छित गतिविधि भइरहेकाले पनि पार्टीले गणतन्त्रलाई जनताको उत्सवका रूपमा मनाउन सुरु गरेको उनको भनाइ थियो ।
गणतन्त्र व्यवस्थाप्रति नेपाली जनताको अपनत्व र नेपालको आफ्नो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतासहित समावेशी लोकतान्त्रिक व्यवस्था स्थापना गरेको भन्दै त्यही व्यवस्थाबाट नेपाली जनतालाई विकास र समृद्धिको यात्रामा अगाडि बढाइरहेको उनले बताए ।