
पछिल्लो १० महिनामा मुगुको प्रमुख पर्यटकीय स्थल रारामा १३ हजारभन्दा बढी पर्यटक पुगेका छन्। साउनदेखि वैशाख मसान्तसम्म १३ हजारभन्दा बढी पर्यटकले रारा भ्रमण गरेका हुन् ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार गत साउनदेखि वैशाख मसान्तसम्म रारा घुम्न आएका पर्यटक सङ्ख्या गत वर्षभन्दा बढेको छ । यस अवधिमा आन्तरिक पर्यटक १२ हजार सात सय ६१, सार्क राष्ट्रका ४५ र अन्य देशका दुई सय आठजनाले भ्रमण गरेका छन् ।
आर्थिक वर्ष २०८०÷८१ मा १७ हजार २ सय ९७ जना पर्यटकले रारा भ्रमण गरेका थिए । यसवर्ष वैशाखमै १३ हजारभन्दा बढी पर्यटक रारा पुगेकाले असार मसान्तसम्म अझै बढ्ने र गत वर्षभन्दा बढी पर्यटक रारा पुग्ने अनुमान छ ।
यस्तै विभिन्न शीर्षकमा ४४ लाख ९१ हजार राजस्व सङ्कलन भएको छ । रारा राष्ट्रिय निकुन्जको कार्यालयले यही ५ जेठसम्म विभिन्न शीर्षकमा सो राजस्व सङ्कलन गरेको हो । यसमध्ये पर्यटन शुल्कबाट ३१ लाख २७ हजार राजस्व उठेको छ ।
रारा घुम्न आउने पर्यटकमध्ये आन्तरिकतर्फ प्रतिव्यक्ति एक हजार, सार्क राष्ट्रका नागरिकलाई एक हजार पाँच सय र विदेशी अन्य देशका नागरिकलाई तीन हजार शुल्क तोकेको छ ।
राज्यले रारा पुग्ने सडक कर्णाली राजमार्ग र नाग्म–गमगढी सडक स्तरोन्नति गरे पर्यटकको सङ्ख्या बढ्ने रारा मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष विष्णुबहादुर रावलले बताए ।
उनका अनुसार सडकको अवस्था नाजुक छ, ठूला गाडी गुड्न सडक साँघुरो छ, सडक पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुन्छ । रारा विमानस्थलमा नियमित हवाइ उडान हुने हो भने कर्णाली प्रदेशकै आर्थिक अवस्थामा सुधार आउने देखिन्छ ।
रारामा पर्यटकमैत्री भौतिक पूर्वाधारको अभाव छ । त्यसैले रारामा अझ बढी पर्यटक भित्र्याउन र पर्यटकको बसाइ लम्ब्याउन सरकारले बृहत् रारा विकास प्राधिकरण गठन गरी यहाँको विकासका लागि कदम चाल्नुपर्छ ।