
हामीलाई शान्तिको नयाँ भाषा आवश्यक छ, जुन केवल प्रलोभन र वार्तामा मात्रै सीमित हुन सक्दैन
बुद्धपूर्णिमा नजिकिँदै गर्दा यो लेख लेख्नेबारे सोच्दा मलाई सृष्टिको रहस्यबारे गहिरो बुझाइ भएका र नागरिकत्व एवं राज्यबारे कल्पनाशील दृष्टिकोण राख्ने बुद्धको सम्झना आएको थियो । अहिलेको सन्दर्भमा उनी भारत–पाकिस्तानबिच आदर्श शान्तिदूत हुन सक्थे । यस्तो कल्पनाले शान्तिप्रतिको बुझाइ निर्माण गर्न मैले गरिरहेको संघर्षको अर्थलाई थप प्रस्ट बनाएको थियो । आतंकले नागरिकत्वको अर्थ नै कमजोर बनाउँछ, शक्ति र सत्ताप्रतिको आलोचनात्मक चेतनालाई मत्थर पार्छ । यसले ध्यान भंग गर्छ, सन्दर्भहरूलाई बिगार्छ र मानिसलाई आफ्नै ठाउँबाट टाढा पु¥याउँछ । सबैभन्दा भयावह कुरा आतंकले मानवशरीरको मूल्य नै घटाउँछ, अर्थात् व्यक्ति आँकडामा रूपान्तरित हुन्छ र उसको पवित्रता हराउँछ ।
पहलगामको घटनाले आतंकविरुद्धको प्रतिक्रिया पनि विकृत बन्न सक्ने देखाउँछ । ग्रेगोरी बेट्सनको ‘स्किजोजेनेसिस’ सैद्धान्तिक रूपमा यस्तो दोहोरो प्रतिशोधात्मक व्यवहारलाई बुझाउँछ, जसले समाजमा हिंसा र विघटन बढाउँछ । भय र तर्कहीनताबिच युद्धको सम्भावना बढ्छ । यस क्रममा भारतको कठोर प्रतिक्रियाले प्रतिशोधको जोखिमलाई थप बढायो । अहिलेको अवस्था एउटा घटिया नाटकजस्तै देखिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झन् अन्योल र झुटा सम्भावना थपिदिए । उनी वार्ता गर्न खोजेझैँ गर्छन्, तर त्यो धम्की र प्रलोभनको खेल मात्रै हुन्छ । शान्तिको नाममा छलकपट चलेको छ । ट्रम्पले युद्ध रोकिएको अभिनय गर्छन्, तर वास्तविकता भने निरन्तर विघटनको खतरा हो ।
आजको सबैभन्दा डरलाग्दो पक्ष भनेकै शान्तिका लागि कुनै वातावरण नरहनु हो । पहलगाम आतंककारी हमलापछिको सबैभन्दा ठुलो चुनौती हो, शान्तिको अनुपस्थिति । हामीलाई शान्तिको नयाँ भाषा आवश्यक छ, जुन केवल प्रलोभन र वार्तामा मात्र सीमित हुन सक्दैन । शान्तिको अनुपस्थिति अत्यन्तै चर्को र स्पष्ट देखिन्छ । यस अवस्थामा सम्भावित आक्रोशको जोखिम उठाएर भए पनि म शान्तिका लागि केही सुझाव राख्न चाहन्छु । भारतीय लोकतन्त्रले आफूलाई पुनः दाबी गरी यस्तो मोडल तयार गर्नुपर्छ, जहाँ सधैँ शान्तिको लालसा रहोस् र शान्ति निष्क्रिय धारणा नहोस् । यो विकल्प र सम्भावनाको सपना हो । दक्षिण एसियाको धारणा पुनर्जीवित गर्नु हाम्रो पुनः स्मरण गर्नुपर्ने आदर्श हो । यसका लागि भारत र पाकिस्तानलाई मात्र राष्ट्र–राज्यका रूपमा हेर्न मिल्दैन, किनभने त्यो संरचनाले शान्तिको आवश्यक संयन्त्रलाई समाप्त पारिदिन्छ । अहिलेको आवश्यकता दक्षिण एसियालाई साझा सम्पत्तिका रूपमा बुझ्ने फराकिलो सोच हो ।
दोस्रो महत्वपूर्ण विषय स्मृतिको अवधारणा हो । स्मृति त्यस्तो आधार हो, जहाँबाट शान्तिको काव्यात्मक सम्भावना जन्मिन्छ । लेडी इरविन कलेजमा भारत–पाकिस्तान विभाजनबारे दिएको मेरो व्याख्यानपछि कलेजकी प्राचार्यले आफ्ना लाहोरका बाल्यकालका अनुभव र हवेलीको तस्बिर देखाउँदै स्मृतिले शान्तिको कल्पना जोगाउन कति महत्वपूर्ण भूमिका खेल्छ भन्ने देखाइन् । क्षेत्रलाई साझा थलो र स्मृतिलाई टाँस्ने ग्लु मानेर हेर्दा शान्तिको सम्भावना अझ स्पष्ट हुन्छ ।
तेस्रो, शान्ति निष्क्रिय हुनुहुँदैन । यसमा नागरिक समाजको नवप्रवर्तनशीलता आवश्यक पर्छ । नयाँ प्रयोग र सम्भावनाको थालनी हुनुपर्छ । संविधान र पाठ्यक्रम जहाँ जोडिन्छन्, त्यहीँबाट शान्तिको योजना सुरु गर्नुपर्छ । संविधानका निर्देशक सिद्धान्तले शान्तिको मौन कल्पनालाई दिशा दिनुपर्छ । यी सिद्धान्त नयाँ शान्ति अभियानका स्थायी सम्भावना बन्नुपर्छ । साँच्चै भन्ने हो भने आशावाद नै भविष्यको यथार्थवाद हो ।
संविधानले औँल्याएको विषयलाई अन्वेषणात्मक पद्धति र पाठ्यक्रममा विकास गर्नुपर्छ । शान्ति शिक्षा प्रक्रियाको मूल हिस्सा बन्नुपर्छ । यो सजिलो छैन, तर महत्वपूर्ण छ । शान्ति कमजोरी होइन, भविष्यतर्फको सहनशीलता हो र लोकतन्त्रलाई जीवित राख्ने रचनात्मक कार्य हो । यसै सन्दर्भमा म भारत र पाकिस्तानबिच सिर्जनात्मक परियोजनाको प्रस्ताव गर्न चाहन्छु । नागरिक समाजलाई पुनः सक्रिय पार्नुपर्छ । नयाँ खालका अन्तत्र्रिmया सिर्जना गर्नुपर्छ । यसमा भारतलाई बहुलवादी इस्लामको जीवन्त उदाहरणका रूपमा इस्लामिक कल्पनाको एक केन्द्रका रूपमा बुझ्न जरुरी छ । इस्लामभित्रको सुफी परम्पराले बोकेको शान्तिको भावना फेरि बाँच्न, बोलिन र सिर्जना गरिन जरुरी छ । लोकतन्त्र शान्तिका लागि एउटा अन्वेषण पद्धति बन्नुपर्छ ।
यसका लागि गहिरो आपसी संवेदनशीलता र संवादका नयाँ सिर्जनात्मक रूप अपनाउनुपर्छ । आतंकको मूर्खतापूर्ण र संकुचित धारणा पार गर्न जरुरी छ । पाकिस्तानी सेना प्रमुख असिम मुनिरले हिन्दु र मुसलमानबिचको भिन्नतालाई घातक मूर्खतापूर्ण रूपमा चित्रण गरेका छन्, जसले भिन्नतालाई सधैँ हानिकारक मान्छ । आतंककारी हमलामा पर्यटकलाई ‘तपाईं हिन्दु हो कि मुसलमान ?’ सोधिनु यसको स्पष्ट उदाहरण हो । यस्तो आतंकलाई साहस र संवादमार्फत पुनः रचना गरेर चुनौती दिनुपर्छ । शान्ति निरन्तर अभ्यास हो, दैनिक पुनर्गठन र सपना हेर्ने प्रक्रिया हो । यसका लागि कथा र भाष्य निर्माणमा फर्किनुपर्छ । यी कथा सिर्जना गरिनुपर्छ, जसले भारत–पाकिस्तान सम्बन्ध र मिथकलाई पुनर्लेखन गर्न, सम्भावना सिर्जना गर्न र पुराना सपना पुनर्जीवित गर्न मद्दत गरोस् ।
दक्षिण एसियालाई शान्तिका नयाँ सम्भावनाको रंगमञ्च बनाउनु अहिलेको आवश्यकता हो । हामीले आ–आफ्ना ढंगले पहलकदमी लिनुपर्छ, जुन ट्रम्पजस्ता अविवेकी नेताको निर्देशनले निर्देशित नहोस् । यदि शान्ति एउटा आविष्कार हो भने हामी आफैँ ती नयाँ विकल्पका आविष्कारक बन्नुपर्छ । शान्ति र लोकतन्त्र सिर्जनशीलताको अन्तिम स्रोत बन्नुपर्छ । यति भए मात्रै युद्धको सम्भावना टाढा धकेलिनेछ ।
(विश्वनाथन प्राज्ञ एवं वैकल्पिक काल्पनिकी अध्ययन गर्ने कम्पोस्ट हिपका शोधकर्ता हुन्)
द न्यु इन्डियन एक्सप्रेसबाट