Skip This
कालोपत्रे गर्दा लापरबाही भएको गुनासो आएपछि कुलेखानी–फाखेल–हुमाने सडकमा मन्त्री मास्केले गरे आकस्मिक अनुगमन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 23 May, 2025
Invalid date format o९:१६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कालोपत्रे गर्दा लापरबाही भएको गुनासो आएपछि कुलेखानी–फाखेल–हुमाने सडकमा मन्त्री मास्केले गरे आकस्मिक अनुगमन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१६:oo

२ जेठबाट कालोपत्रे सुरु भएको कुलेखानी–फाखेल–हुमाने सडकमा लापरबाही ढंगबाट काम भएको गुनासो आएपछि बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री अमनकुमार मास्के आकस्मिक अनुगमनमा पुगेका छन्। मन्त्री मास्केले बिहीबार साँझ उक्त सडकको स्थलगत अनुगमन गरेका हुन् । हेटौँडा–काठमाडौं जोड्ने उक्त सडक बागमती प्रदेश सरकारको लगानीमा असारअगावै सक्ने गरी स्तरोन्नतिसहित कालोपत्रे गर्ने काम भइरहेको छ ।

उक्त सडकखण्डको हुमानेदेखि राकस खोलासम्म गरिएको कालोपत्रे उक्किएको भन्दै स्थानीयहरूले विरोध गरेका थिए । केही दिनअघि मात्र हालिएको उक्त कालोपत्रे उक्किएको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि सडकको अवस्था बुझ्न मन्त्री मास्के आफैँ पुगेका हुन् । २० दिनमा कालोपत्रे सक्ने गरी काम भइरहेको उक्त सडकमा रातको समयमा पनि कालोपत्रे हाल्ने काम भइरहेको थियो ।

पूर्वाधार विकास कार्यालय मकवानपुरका अनुसार जेठ १९ गतेसम्म काम सक्नुपर्ने र मौसम अनुकूल नहुँदा रातको समयमा पनि काम गराइएको थियो । विपत् प्रभावित उक्त सडकको असारअगावै काम सक्ने गरी निर्माण व्यवसायीलाई अधिकतम परिचालन गरी सडक कालोपत्रे गर्ने काम भएको कार्यालयका प्रमुख इन्जिनियर सुजन भण्डारीले जानकारी दिए ।

उनका अनुसार वर्षायाममा हेटौँडा–काठमाडौं सहज यात्राका लागि सो सडक तयार गर्ने गरी विपतबाट क्षति पुगेकाे क्षेत्रमा समेत काम भइरहेको र कालोपत्रे गर्नुपर्ने स्थानमा छिटो काम सक्ने गरी अघि बढाइएको उनले बताए । कालोपत्रे हालिएको स्थानमा केही व्यक्तिहरूले साबेल प्रयोग गरी उक्काउने र असारे विकास भन्दै विरोध गर्ने काम गरेको उनको दाबी छ । सडक कालोपत्रसहित विपतले क्षति पुगेको स्थानको व्यवस्थापनको काम तीव्र गतिमा अघि बढाइएको उनको भनाइ छ ।

१२.६ किलोमिटर लम्बाइ र ८.२० मिटर चौडाइ (हुमानेदेखि कलंकी) सम्मको सडक कालोपत्रे गर्ने काम भइरहेको उनले जानकारी दिए । सडकको ८.५० किलोमिटर कालोपत्र तथा ४ किलोमिटर ढलान कार्य हुने उनले बताए । उनका अनुसार गत २०८० वैशाख १७ मा ३५ करोड ४८ लाख ८८ हजार ९१६ रुपैयाँमा सडक कालोपत्रका लागि सम्झौता गरिएको थियो । हाल सो सडक खण्डको दुई किलाेमिटर सडक कालोपत्रे कार्य भइसकेको छ ।

अनुगमनका क्रममा मन्त्री मास्केले निर्माण भएका संरचनाको गुणस्तर कायम गर्ने विषयमा गम्भीर हुन निर्देशन दिएका छन्  । गुणस्तरमा मन्त्रालयले कुनै पनि कम्प्रोमाइज नगर्ने उनले बताए । गत असोजमा गएको विपतमा बाढीका कारण कुलेखानी–फाखेल–हुमाने सडकसहित हेटौँडा–काठमाडौं जोड्ने कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकमा समेत क्षति पुगेको थियो ।