Skip This
मर्मतपछि कुलेखानी तेस्रोबाट विद्युत् उत्पादन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३० मंगलबार
  • Tuesday, 13 May, 2025
२o८२ बैशाख ३० मंगलबार o७:५८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मर्मतपछि कुलेखानी तेस्रोबाट विद्युत् उत्पादन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ३० मंगलबार o७:५८:oo

बिग्रिएको एउटा युनिटको मर्मतपछि मकवानपुरको भीमफेदीस्थित कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलविद्युत् आयोजना १४ दिनपछि सोमबारबाट पुनः पूर्ण क्षमतामा सञ्चालनमा आएको हो ।

१५ वैशाखदेखि बन्द रहेको एउटा युनिटको जेनेरेटर प्लेटको मर्मत कार्य सकिएपछि सोमबार दिउँसोबाट दुवै युनिटबाट विद्युत् उत्पादन सुरु भएको कुलेखानी तेस्रोका प्रमुख प्रसन्नमणि ताम्राकारले जानकारी दिए ।

एउटा युनिटको जेनेरेटर प्लेटमा समस्या भएपछि कुलेखानी तेस्रो आंशिक रूपमा मात्रै सञ्चालनमा रहेको थियो । प्रमुख ताम्राकारका अनुसार युनिट मर्मतका क्रममा आइसोलेसन प्लेट फेर्ने, टर्बाइन र जेनेरेटरको एलाइनमेन्ट मिलाउनेजस्ता काम गरिएको हो । मर्मत कार्यमा चिनियाँ तीन प्राविधिकसहित नेपाली १८ प्राविधिकको टोली संलग्न रहेको उनले बताए ।

‘आयोजनाको एउटा युनिट बन्द हुँदा सात मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको थियो । मर्मतपछि भने दुवै युनिटबाट पूर्ण क्षमतामा १४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ,’ उनले भने ।

देशको एक मात्र जलाशययुक्त इन्द्र सरोवरमा आधारित कुलेखानी जलविद्युत् आयोजना तीनवटा केन्द्रमा सञ्चालनमा रहेको छ । कुलेखानी पहिलो ६० मेगावाट, दोस्रो ३२ मेगावाट र तेस्रो १४ मेगावाट क्षमताका छन् । 

विद्युत् प्राधिकरणको ब्याकअपका रूपमा रहेको कुलेखानी जलाशयमा दैनिक ६० देखि ७० सेन्टिमिटर पानीको सतह घटिरहेको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख तारादत्त भट्टले जानकारी दिए । उनका अनुसार सोमबार अपराह्न जलाशयमा पानीको सतह एक हजार पाँच सय ५६ सेन्टिमिटर रहेको छ । जलाशयमा अधिकतम एक हजार पाँच सय ३० मिटर उचाइसम्म पानी अट्न सक्छ ।