१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 20 June, 2025
Invalid date format १६:५४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुईतिहाइको घमण्ड नदेखाउन सरकारलाई प्रचण्डको चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५४:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दुईतिहाइ बहुमतको घमण्ड नदेखाउन आग्रह गरेका छन्। धनगढीमा भएको पार्टीको परामर्श बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले सरकारको सुरुवाती लक्षण राम्रो नदेखिएपछि दुईतिहाइको अहंकार देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ भनेर सम्झाएको स्पष्टीकरण दिए।

‘दुईतिहाइको अहंकार नदेखाउनोस् भनेर सम्झाएको मात्र छु,’ उनले भने, ‘उहाँहरूले अलि बढी गर्न थाल्नुभो भने भ्रष्टाचारका विरुद्ध हामी सडकमा आउँछौँ।’ अघिल्लो सरकारले सुरु गरेको भ्रष्टाचारविरोधी अभियान नरोक्नसमेत उनले सचेत गराए। ‘दुईतिहाइको घमण्ड नगर्नाेस्, तपाईंहरू सुध्रिनोस्। राम्रो गर्नुभयो भने अझै पनि हामी समर्थन गछौँ,’ उनले भने, ‘तर तपाईंहरूको लक्षण राम्रो गर्नेजस्तो देखिएको छैन।’

अहिले दुईतिहाइका नाममा संविधान संशोधनको विषय ल्याउन खोजिएको उल्लेख गर्दै दाहालले संविधान संशोधनका नाममा समावेशी, समानुपातिक व्यवस्थामा घात हुन्छ कि भन्ने आशंका पैदा भएको बताए। ‘उहाँहरू संविधानमा माओवादी देख्नुहुन्छ, समावेशी भने पनि माओवादी, समानुपातिक भने पनि माओवादी, दलित, महिला मुस्लिम भने पनि माओवादी, गणतन्त्र भने पनि माओवादी’ दाहालले भने, ‘अहिले दुईतिहाइ भनेर संविधान संशोधन गर्ने कुरा ल्याउनुभएको छ। संविधानमाथि नै घात गर्नुहुन्छ कि भन्ने आशंका पैदा भएको छ।’

संसदीय अभ्यासमा पहिलो र दोस्रो ठूलो पार्टी मिल्ने अभ्यास कहीँ नभएको उल्लेख गर्दै प्रचण्डले दुई ठुला पार्टी डराएर मिलेको टिप्पणी गरे। ‘दुई ठुला पार्टी मिल्न नहुने हो। कहीँ नहुने काम उहाँहरूले गर्नुभएको छ, डरका कारणले’ अध्यक्ष दाहालले भने, ‘उहाँहरूले भन्ने गरेको पार्लियामेन्ट्री सिस्टममा फस्ट र सेकेन्ड पार्टी कहीँ मिल्दैन। कांग्रेस आई र बिजेपी मिलेर सरकार बनाउने कुरा चल्छ त इन्डियामा? रिपब्लिकन र लिबरल मिलेर सरकार बनाउने चल्छ त चाहे बेलायत चाहे अमेरिकामा? कही नहुने काम उहाँहरूले गर्नुभएको छ। संविधानमाथि घात गर्नुहुन्छ कि भन्ने शंका छ।’

वर्तमान सरकार निर्माणमा माफियाको भूमिका रहेको उनको आरोप छ। सरकार निर्माण हुनुअघि वार्ता, सहमति कहाँ र कसका घरमा भए भन्ने विषयले पनि सरकार निर्माणमा बिचौलियाको भूमिका के छ भनेर प्रस्ट रहेको उनको भनाइ छ। ‘सरकार हटाउन भएका बैठकका घर हेर्नोस्, हस्ताक्षर कहाँ गएर गर्नुभो, त्यो घरका मालिक हेर्नोस्’ दाहालले भने, ‘त्यसबाट थाहा हुन्छ बिचौलियाले के भूमिका गरेका छन् ।’

अर्को प्रसंगमा उनले भ्रष्टाचारका विषयमा मुद्दा चलाउन पाँचवर्षे हदम्याद लगाउनुहुँदैन भन्नेमा माओवादी दृढ रहेको बताए। कांग्रेस पनि त्यसको विपक्षमा उभिने उनले विश्वास व्यक्त गरे। दाहालले माओवादीको परामर्श बैठकले नयाँ एकताको भाव पैदा गरेको दाबी गरे। उनले नेतृत्व परिवर्तनको विषय पार्टीमा उठेको बताउँदै पार्टी फुट र विवादका हल्ला निराधार रहेको जिकिर गरे।

अध्यक्ष दाहालले सुदूरपश्चिममा संसदीय दलमा देखिएको विवाद पनि परामर्श बैठकबाट समाधान भएको दाबी गरे। पार्टीले यसअघि गरेको सर्कुलर अब कार्यान्वयन हुने उनले बताए। माओवादीका बहुमत सांसदले स्थायी समिति सदस्य खगराज भट्टलाई दलको नेता हटाएर मानबहादुर धामीलाई चयन गरेका थिए। दलको नेता हटाउने विषयको विवाद चर्किएपछि अध्यक्ष र महासचिवले भट्टलाई दलको नेता कायम गर्न सर्कुलर गरेका थिए।