निहारिकाको बच्चा र आरोपित श्रेष्ठको डिएनए मिल्यो

शनिबार, १९ कार्तिक, २०७९
डिजिटल संस्करण
निहारिकाको बच्चा र आरोपित श्रेष्ठको डिएनए मिल्यो

काखे छोरा च्यापेर २८ जेठमा वसन्तपुरमा अनशन बसेकी निहारिका

उच्च अदालत जनकपुरकी प्रवक्ता नूतन झा भन्छिन्– ९९.९९९ प्रतिशत डिएनए म्याच देखियो

‘कुमारी आमा’को रूपमा चिनिएकी निहारिका राजपुत (सोनाली सिंह)को छोरा र उनले आरोप लगाउँदै आएका शिवराज श्रेष्ठको डिएनए मिलेको छ । उनीहरूको डिएनए ‘म्याच’ देखिएको रिपोर्ट शुक्रबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबाट उच्च अदालत जनकपुर पुगेको हो । 

निहारिकाले शिवराज श्रेष्ठले गरेको जबर्जस्ती करणीबाट छोरा जन्मिएको दाबी गर्दै आए पनि उनले भने अस्वीकार गरेका थिए । विवादित उक्त मुद्दा उच्च अदालत जनकपुरमा विचाराधीन छ ।

‘प्रतिवेदनमा ९९.९९९ प्रतिशत डिएनएन म्याच भएको देखिएको छ । डिएनए परीक्षणको परिणाम नआइसकेकाले अदालतले श्रेष्ठलाई साधारण तारेखमा छाडेको थियो । आउँदो २५ कात्तिकमा उनको तारेख छ । अब त्यही तारेखका दिन यो मुद्दाको सुनुवाइका लागि अर्को पेसी तोकिनेछ । सम्भवतः अब चुनावपछि मात्रै हुनेछ,’ उच्च अदालत जनकपुरकी प्रवक्ता नूतन झाले जानकारी दिइन् । 

महोत्तरी जलेश्वरकी निहारिकाको मागबमोजिम नै उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले गत ८ भदौमा बालक र बलात्कार आरोपित श्रेष्ठको डिएनए परीक्षण गर्न आदेश दिएको थियो । आदेशबमोजिम गत २४ भदौमा दुवैको डिएनए परीक्षण भएको थियो । निहारिकाले आफूमाथि भएको जबर्जस्ती करणीमार्फत बच्चाको जन्म भएको भन्दै जाहेरी दिएकी थिइन् । तर, आरोपित श्रेष्ठले भने आफूहरूबीच प्रेम सम्बन्धका क्रममा सहमतिमै यौन सम्बन्ध भएको र बच्चा आफ्नो नभएको दाबी गर्दै आएका थिए । तर, डिएनए रिपोर्टले श्रेष्ठको दाबी झुटो साबित गरिदिएको छ । 

डिएनए म्याच भए पनि प्रतिवादी श्रेष्ठले अदालतबाट कानुनबमोजिम जेल सजाय नपाएसम्म आफूले न्याय नपाउने निहारिका बताउँछिन् । ‘मैले तीन वर्षदेखि आफ्नो बच्चाको डिएनए टेस्ट गराउनकै निमित्त ठूलो संघर्ष गरेँ,’ उनले भनिन्, ‘दुई वर्षसम्म अपराधी भाग्ने, एक्कासि आएर म निर्दोष छु भन्दै अदालत हाजिर हुने अनि अदालतले सफाइ दिने । अहिलेसम्म भएको यति नै थियो । सुरुदेखि नै डिएनए टेस्ट ‘म्याच’ भएन भने मलाई अपराधी करार गर्नू, म सजाय भोग्न तयार छु भनिरहेकी थिएँ । तर, म सडकमा गएर पटकपटक अनशन बसेपछि, आफूलाई राष्ट्रपति कार्यालयअगाडि पुगेर जलाउने अवस्थामा पुगेपछि मात्रै मेरो यो आवाज सुनियो । डिएनए मिलिसकेको अवस्थामा अब मलाई राज्यले अंश दिलाएर, नाता कायम गरेर या बिहे गराएर दिलाउने सोचेको छ भने त्यो मेरा लागि स्वीकार्य हुँदैन । मैले छोराको बाउ खोजेको होइन, अपराधीलाई कानुनबमोजिम सजाय खोजेकी हुँ । त्यसैले अपराधीलाई कानुनबमोजिम जेल सजाय भएन भने म चुप लाग्दिनँ ।’

जिल्ला अदालत धनुषाले जबर्जस्ती करणीको कसुरमा श्रेष्ठलाई सफाइ दिएपछि आफूमाथि अन्याय भएको भन्दै निहारिका पछिल्लो समय पटकपटक काठमाडौंमा दुधेबालक काखी च्यापेर अनशन बसेकी थिइन् । आफूलाई साथीकै दाइ धनुषा क्षीरेश्वरनाथ नगरपालिका– ३ का २३ वर्षीय श्रेष्ठले नशालु पदार्थ पिलाएर बलात्कार गरेको, तर त्यसबाट जन्मिएको बच्चा अस्वीकार गरेको आरोपमा निहारिकाले जबर्जस्ती करणीको मुद्दा दायर गरेकी थिइन् । निहारिका पहिलोपटक गत २७ जेठदेखि सात दिन आमरण अनशन बसेकी थिइन् । त्यतिवेला उनले आफ्नो बच्चाको डिएनएन परीक्षण गर्नुपर्ने, बलात्कारीलाई पुनः पक्राउ गरेर अनुसन्धान गरिनुपर्नेलगायत पाँचबुँदे माग राखेकी थिइन् । 

सरकारसँग न्यायको वाचासहित पाँचबुँदे सहमति भएपछि उनले अनशन तोडेकी थिइन् । त्यतिवेला राष्ट्रिय महिला आयोगको पहलमा गृहमन्त्री बालकृष्ण खाणले उनलाई जुस पिलाएर अनशन तोडाएका थिए ।

त्यतिवेला निहारिका र सरकार पक्षबीच प्रतिवादी शिवराज श्रेष्ठ र अनशनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनशनकर्ता र उनको छोराको सुरक्षा, आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनशनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्नेलगायत सहमति भएको थियो ।

तर, सरकारले त्यो सहमति कार्यान्वयन नगरेपछि र पहिलोपल्ट उच्च अदालत जनकपुरले तोकिएको पेसी पनि सारेपछि उनी दोस्रोपटक २२ साउनमा पुनः अनशन बसेकी थिइन् । त्यतिवेला सर्वोच्च अदालतअगाडि अनशनमा बस्दा प्रहरीले उनलाई बल प्रयोग गरेर नै हटाएको थियो । अनशनकै बीचमा उनले राष्ट्रपति कार्यालयअगाडि आत्मदाहको प्रयाससमेत गरेकी थिइन् । त्यतिवेला प्रहरीले उनलाई शरीरमा पेट्रोल खन्याइरहेको अवस्थामा उद्धार गरेर अस्पताल पु¥याएको थियो । त्यसपछि फेरि माग पूरा गर्ने सरकारको सहमतिपछि उनले अनशन तोडेकी थिइन् । लगत्तै उच्च अदालतले उनले अनशनका क्रममा राखेको मुख्य माग डिएनए परीक्षणलाई सम्बोधन गर्दै आदेश दिएको थियो । 

डिएनए नतिजापछि निहारिकाको माग– मलाई बच्चाको बाउ होइन, उसलाई कानुनबमोजिम सजाय चाहिएको हो

मैले तीन वर्षदेखि आफ्नो बच्चाको डिएनए टेस्ट गराउनकै लागि ठूलो संघर्ष गरेँ । दुई वर्षसम्म भागेको अपराधी एक्कासि आएर निर्दोष छु भन्दै अदालत हाजिर हुने, अनि अदालतले सफाइ दिने काम भयो । अहिलेसम्म भएको यति नै थियो । मैले सुरुदेखि नै डिएनए टेस्ट ‘म्याच’ भएन भने मलाई अपराधी करार गर्नू, म सजाय भोग्न तयार छु भनिरहेकी थिएँ । तर, म सडकमा गएर पटक–पटक अनशन बसेपछि, आफूलाई राष्ट्रपति कार्यालयअगाडि पुगेर जलाउने अवस्थामा पुगेपछि मात्रै मेरो आवाज सुनियो । डिएनए मिलिसकेको अवस्थामा अब मलाई राज्यले अंश दिलाएर, नाता कायम गरेर या बिहे गराएर न्याय हुने सोचेको छ भने त्यो मेरा लागि स्वीकार्य हुँदैन । मैले छोराको बाउ खोजेको होइन, अपराधीलाई कानुनबमोजिम सजाय खोजेकी हुँ । यत्रो वर्ष मसहित मेरो काखको बच्चालाई कुन बिजोग अवस्थामा हुर्काएँ हुँला, न त्यसको क्षतिपूर्ति नै हुन सक्छ, न कसैले महसुस नै गर्न सक्छ । त्यसैले अब अपराधीलाई कानुनबमोजिम जेल सजाय भएन भने म चुप लाग्दिनँ । अहिलेसम्म मेरो बच्चा होइन भनेर दाबी गर्नेको आज डिएनए परीक्षण मिल्यो । अब कानुनबमोजिम सजाय हुनुपर्छ ।

सुझावित समाचार