गृहजिल्ला पुगेर देउवाले भने- ओलीका कारण नचाहँदा-नचाहँदै प्रधानमन्त्री बन्नुपर्‍याे

बिहिबार, १७ कार्तिक, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले केही समयसम्म गठबन्धन कायम रहने बताएका छन्। 

चुनावीसभालाई सम्बोधन गर्न गृहजिल्ला डडेल्धुरा आएका प्रधानमन्त्री तथा कांग्रेसका सभापति देउवाले गठबन्धनको अपरिहार्यता अझै कायमै रहेको बताए। 

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले लोकतन्त्र मास्ने र संविधान च्यात्ने प्रयास थालेपछि पाँचदलीय गठबन्धन बनेको स्मरण गर्दै उनले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन एक भएको बताए। 

आजै डडेल्धुराको सदरमुकाममा आयोजना गरिएको गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका साथै अन्य दलको सहयोगमा आफूले नचाहँदा पनि प्रधानमन्त्री बन्नुपरेको स्पष्ट पारे। 
 
जनतालाई झुटा आश्वासन र गफका भरमा देशको गरिमा नै खतरामा पारिरहेको अवस्थामा ओलीको सर्वसत्तावाद र स्वेच्छाचारी प्रवृत्तिबाट मुक्त गर्न पाँच दलीय गठबन्धन गरी देशलाई हाँकिरहेको प्रधानमन्त्री देउवाले जिकिर गरे। 

उनले डडेल्धुराको विकासका लागि आफू सधैँ लागिपरेको जनाउँदै डडेल्धुरा–धनगढी चार लेन सडक निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। डडेल्धुरामा मेडिकल कलेजको काम अगाडि बढिसकेको स्मरण गराउँदै उनले पश्चिमसेती जलविद्युत् परियोजनाका लागि भारतसँग सम्झौता गरी काम अगाडि बढिसकेको जानकारी दिए। 

प्रधानमन्त्रीसँगै उनकी पत्नी आरजु देउवा राणा, केन्द्रीय सदस्य नैनसिंह महर, माओवादी पोलिटब्यूरो सदस्य खगराज भट्ट, सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष नन्दराज भट्ट, जगत् पार्कीलगायतका नेताले सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि जिल्लावासीलाई अनुरोध गरे। 

सुझावित समाचार