जापान उड्न विमानस्थल पुगेका वैदेशिक ठगी मुद्दाका फरार श्यामराज पाण्डेको पासपोर्ट जाँच गर्दा कालोसूचीमा देखिए पनि अध्यागमन कर्मचारीले भगाएपछि मात्रै गरे प्रहरीलाई खबर
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रबाट फेरि एक फरार अभियुक्त कर्मचारीकै सहयोगमा भाग्न सफल भएका छन् । अध्यागमनका कर्मचारीको मिलेमतोको आशंकामा छानबिन अघि बढाइएको छ ।
विमानस्थल अध्यागमन कार्यालयका प्रमुख वासुदेव घिमिरेको दाबी–अध्यागमन कर्मचारीलाई झुक्याएर भागेका हुन्
कर्मचारीले भेरिफिकेसन गर्न लाग्दा उनी (श्यामराज पाण्डे) झुक्याएर भागेका हुन् । घटनाका सम्बन्धमा छानबिन भइरहेको छ । कोही कर्मचारीको मिलेमतो रहेछ भने कारबाही हुन्छ ।
वैदेशिक ठगी मुद्दामा फरार नुवाकोटका श्यामराज पाण्डे अघिल्लो साता ७ कात्तिकमा विमानस्थलबाट भागेका हुन् । उनी जापान जान लागेका थिए । अध्यागमनको सिस्टममा उनको पासपोर्ट कालोसूचीमा देखिएपछि अध्यागमन कर्मचारीले प्रहरीलाई बुझाउनुपर्नेमा उनलाई भगाएर पछि खबर गरेको प्रारम्भिक छानबिनले देखाएको छ । घटनामा अध्यागमन कर्मचारीको भूमिका शंकास्पद देखिएपछि विभागले छानबिन थालेको छ । निर्देशक कमल पाण्डेको नेतृत्वमा कर्मचारीहरूमाथि छानबिन भइरहेको छ ।
फरार पाण्डे मानव बेचबिखन तथा वैदेशिक रोजगार ठगीमा कुख्यात व्यक्ति भएको प्रारम्भिक छानबिनमा खुलेको छ । विभागले गरेको छानबिनमा अध्यागमन अधिकृत सन्तोष सुवेदी आफैँ उनलाई लिन एक तलामुनि गएको देखिन्छ । उनै सुवेदीले पाण्डेलाई प्रस्थान अनुमति दिलाउन पहल गरेका थिए । तर, एक कर्मचारीले आनाकानी गरेपछि आफूहरू फस्ने भन्दै मानेनन् । त्यसपछि उनी नै अभियुक्त पाण्डेलाई बाहिरसम्म छाड्न गएका थिए । त्यहाँबाट प्रहरीलाई छक्याउँदै पाण्डे भागेका थिए । उनी भागिसकेपछि अध्यागमन कार्यालयबाट प्रहरीलाई जानकारी गराइएको स्रोत बताउँछ ।
‘अध्यागमन कर्मचारीसँग सेटिङ मिलाएर जापान जान लागेको देखिन्छ,’ छानबिनमा संलग्न एक अधिकारीले भने, ‘केही समय उनलाई प्रस्थान अनुमति दिन सकिन्छ भनेर छलफल पनि भएको सिसिटिभीमा देखिएको छ, तर कुरा नमिलेपछि उनी डकुमेन्ट बाहिर छुटेको बहानामा अध्यागमन डेस्कबाट भागेका थिए ।’ अध्यागमनको ९ नम्बर डेस्कमा निकै समय उनका लागि कर्मचारीबीच छलफल भएको थियो ।
विभाग स्रोतका अनुसार ८ः३७ बजे अध्यागमनको बी–वान गेटबाट उनी बाहिरिएका थिए । ९:२० मा प्रहरीलाई खबर भएको थियो । प्रहरीले सिसिक्यामेराका आधारमा खोजी सुरु गर्दा उनी विमानस्थलबाट भागिसकेका थिए । घटनाको एक हप्तासम्म उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । कोही व्यक्ति कालोसूचीमा देखिए अध्यागमनले तत्कालै प्रहरीलाई खबर गरेर बुझाउने गर्छ । तर, पाण्डेको हकमा भने नियोजित रूपमा भगाएर प्रहरीलाई खबर गरेको स्रोत बताउँछ ।
विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख वासुदेव घिमिरे अध्यागमनका कर्मचारीलाई झुक्याएर ती व्यक्ति भागेको दाबी गर्छन् । ‘कर्मचारीले भेरिफिकेसन गर्न लाग्दा उनी झुक्याएर भागेका हुन्,’ घिमिरेले भने, ‘घटनाका सम्बन्धमा छानबिन भइरहेको छ । कोही कर्मचारीको मिलेमतो रहेछ भने कारबाही हुन्छ ।’ कुनै पनि अपराधीलाई भगाएको अवस्थामा मतियारका रूपमा फौजदारी सजायसम्म हुन सक्ने कानुनी प्रावधान छ । अध्यागमन विभागका निर्देशक पाण्डे यस विषयमा छानबिन नटुंगिएको बताउँछन् ।
दुई महिनाअघि पनि ठगी मुद्दाका फरार अभियुक्त रिजवान आलमलाई विमानस्थलबाट भगाइएको थियो
गत १७ भदौमा पनि संयुक्त अरब इमिरेट्सबाट आएका ठगी मुद्दामा फरार सुनसरीका रिजवान आलम अन्तर्राष्ट्रिय विमानस्थलबाट भागेका थिए । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको सहयोगमा उनी भिआइपी कक्षबाट भागेका थिए । सोही दिन बेलुका म्यारियट होटेलबाट प्रहरीले उनलाई पक्राउ गरेकोमा अदालतको आदेशमा जेल जलान भएका छन् ।
यो घटनाले अन्तर्राष्ट्रिय विमानस्थलभित्रको सुरक्षा त्रुटि उदांगो भयो, तर यत्रो ठूलो गल्तीमा कसैले कारबाही भोग्नुपरेन । नागरिक उड्डयन कार्यालय तथा गृह मन्त्रालयले छुट्टाछुट्टै छानबिन समिति बनाए पनि कारबाही भने कसैलाई गरिएन । नागरिक उड्डयन कार्यालयका कर्मचारीले रुजु नगरी भिआइपीसँगै अन्य व्यक्तिलाई जान दिँदा सो घटना भएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारीकै कारण बारम्बार सुरक्षा त्रुटि हुँदै आएका छन् । दोषीबाट कारबाही नहुँदा र संयन्त्र बलियो नबनाउँदा एकपछि अर्का घटना हुन थालेका छन् ।
विमानस्थलमा धेरैले भिआइपी कक्ष प्रयोग गर्न पाउने भए पनि पाँच उच्च पदका व्यक्तिको हकमा भने खानतलासीसमेत नहुने व्यवस्था कानुनले गरेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र संसद्का सभामुखको हकमा विमानस्थलमा सुरक्षा जाँचको क्रममा खानतलासी हुँदैन । विदेशीको हकमा पनि यिनै उच्च पाँच पदका व्यक्ति नेपाल भ्रमणमा आउँदा खानतलासीबाट उन्मुक्ति दिइने कानुनी व्यवस्था छ ।
कर्मचारीले भेरिफिकेसन गर्न लाग्दा उनी (श्यामराज पाण्डे) झुक्याएर भागेका हुन् । घटनाका सम्बन्धमा छानबिन भइरहेको छ । कोही कर्मचारीको मिलेमतो रहेछ भने कारबाही हुन्छ ।