आगामी मंसिर ४ गते हुने आमनिर्वाचनका लागि उम्मेदवारी दिएका लमजुङका दुई उम्मेदवारले आफ्नो उम्मेदवारी निष्क्रिय पारेको बताएका छन्। नेपाली कांग्रेस (बिपी)का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. लक्ष्मीकान्त पौडेल र जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार नरेन्द्रबहादुर गुरुङले आफ्नो उम्मेदवारी फिर्ता गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् ।
उम्मेदवारी फिर्ता लिएका पौडेल र गुरुङले वर्तमान राष्ट्रिय राजनीतिको अध्ययन मनन गर्दा सदासर्वदा राष्ट्रियताको पक्षमा अडिग रहने वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई समर्थन गरी आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका छन्। उनीहरूले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर सत्तागठबन्धनका उम्मेदवार देव गुरुङलाई समर्थन गरेका छन् ।
लमजुङमा प्रतिनिधिसभाका लागि सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, प्रदेश (क) मा कांग्रेस सभापति डा. टकराज गुरुङ र प्रदेश सभा (ख)मा कांग्रेस निवर्तमान सभापति भेषबहादुर पौडेल उम्मेदवार छन् । नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, प्रदेश (क)मा पार्टीका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य (पूर्वसांसद) जमिन्द्रमान घले र प्रदेश (ख) तर्फ नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष कृष्णप्रसाद अधिकारी उम्मेदवार छन् ।
लमजुङबाट प्रतिनिधिसभामा एक स्वतन्त्रसहित ११ जनाले उम्मेदवारी दिएका थिए । जसमा सत्तागठबन्धनबाट गुरुङ र एमालेका पृथ्वीसुब्बा गुरुङबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
उनीहरूबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका टकबहादुर गुरुङ, आमूल परिवर्तन मसिहा पार्टी नेपालका नन्दजंग गुरुङ, नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापति, मंगोल नेसनल अर्गनाइजेसनका विकास गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी र स्वतन्त्र उम्मेदवार चन्दन बस्यालको उम्मेदवारी कायम भएको छ।