भारतीय लापर्बाहीले दार्चुलामा नेपाली बालकको मृत्यु प्रकरण : परराष्ट्रले भारतलाई पठायो कूटनीतिक नोट

सोमबार, १४ कार्तिक, २०७९
डिजिटल संस्करण

भारतीय पक्षले सडक निर्माणका क्रममा विनापूर्वसूचना विस्फोट गराउँदा उछिट्टिएको ढुंगाले लागेर नेपाली बालकको मृत्यु भएको घटनाबारे परराष्ट्र मन्त्रालयले भारत सरकारलाई कूटनीतिक नोट पठाएको छ । व्याँस गाउँपालिका– २ दुम्लिङ अरतौलीका नौ वर्षीय पवन महराको शुक्रबार बिहान ११: ५५ बजे मृत्यु भए पनि परराष्ट्रले दुई दिनपछि मात्रै आइतबार भारतलाई कूटनीतिक नोट पठाएको हो ।

भारतीय पक्षको धार्चुला–लिपुलेक–कैलाश मानसरोवर सडक निर्माणका क्रममा सीमा क्षेत्र नज्याङ, लखनपुर भिरमा विस्फोट गराउँदा उछिट्टिएको ढुंगाले वारिपट्टि पैदल यात्रा गरिरहेका बालक पवनलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । दसैँ–तिहार बिदामा भेडा–चौँरी चराउन अभिभावकसँगै खर्क गएका उनी विद्यालय खुल्ने भएपछि घर फर्किँदै गर्दा दुर्घटनामा परेका हुन् ।

 गृह मन्त्रालयले विस्तृत घटना विवरण (ग्राउन्ड) रिपोर्ट आइतबार बिहान मात्रै पठाएका कारण भारतलाई पत्र पठाउन ढिलाइ भएको परराष्ट्र अधिकारीहरूको दाबी छ । ‘गृह मन्त्रालयले शनिबार साँझ घटना विवरणविनाको एउटा चिठी पठाएको थियो । तर, आइतबार बिहान १०ः३० बजे मात्रै गृहले घटना विवरण पठायो । त्यसको आधा घन्टाभित्रै हामीले भारत सरकारलाई घटनाबारे कूटनीतिक नोट पठायौँ,’ परराष्ट्र स्रोतले भन्यो । 

परराष्ट्र अधिकारीका अनुसार कूटनीतिक नोटमा घटना भारतीय पक्षको असावधानीका कारण भएको स्पष्ट किटान गरिएको छ । ‘यस्तो प्रकारको असावधानी नहोस् भनेर सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउन आग्रह गरिएको छ । सीमा क्षेत्रमा बाटो निर्माणका क्रममा विस्फोट गराउँदा पूर्वसूचित गर्न र स्थानीय प्रशासनसँग पनि आपसी समन्वय गर्न आग्रह गरिएको छ,’ एक अधिकारीले भने । 
 

सुझावित समाचार