प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन बनाएर निर्वाचनमा होमिएका सत्तारुढ दलहरू कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेतामा बागीका कारण छटपटी देखिएको छ।
लामो गृहकार्यपछि केन्द्रबाटै निर्वाचन क्षेत्रसमेत टुंग्याएर निर्वाचनमा होकिएको सत्तागठबन्धनका असन्तुष्ट नेताले केही निर्वाचन क्षेत्रमा बागी उम्मेदवारी दिएका छन्। बागी उम्मेदवारी नदिए पनि केही निर्वाचन क्षेत्रमा अर्को पक्षलाई असहयोग गर्ने खुला चुनौती दिने गरेका छन्।
शीर्ष नेताहरूलाई विवाद मिलाउन सकस परेको छ। समयमै विवाद मिलाउन नसक्दा त्यसले निर्वाचन परिणाममा असर पर्ने जोखिम देखेर शीर्ष नेतृत्व लगातार प्रयास गरिरहेको छ। तर, सफल हुन नसकेको उसको शुक्रबार जारी विज्ञप्तिबाट स्पष्ट भएको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै सत्तागठबन्धनका शीर्ष नेताले केही स्थानमा देखिएको विवाद छिट्टै समाधान गर्ने जनाएका छन्। कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै केही स्थानमा विवाद रहेको र त्यसलाई छलफलमार्फत निष्कर्षमा पुर्याउने बताएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘केही स्थानमा भने मित्रवत प्रतिस्पर्धा गर्ने तय गरिएको छ, ती स्थानहरूमा एक आपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने सहमति भएको छ।’