सामाजिक सञ्जालमा चुनाव प्रचार तीव्र
प्रतिनिधिसभा र प्रदेश सभाको ४ मंसिरमा हुने निर्वाचनको प्रचारप्रसारमा दल तथा उम्मेदवारले सामाजिक सञ्जालको प्रयोग बढाएका छन् । २ देखि ३१ असोजसम्म प्रतिनिधिसभा र प्रदेश सभाका ८० उम्मेदवारले ११ हजार दुई सय ९५ डलर चुनावी प्रचारका लागि फेसबुकलाई तिरिसकेका छन् ।
निर्वाचन आयोगले चुनाव प्रचारमा सामाजिक सञ्जालको बढीभन्दा बढी प्रयोगमा जोड दिएका वेला दल, उम्मेदवार तथा समर्थकले विज्ञापनमा जोड दिएका हुन् । नेपालमा सर्वाधिक प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल फेसबुकको ‘पोलिटिकल एड ट्रान्सपरेन्सी टुल’ लागू भएसँगै कुन उम्मेदवारले कति भुक्तानी गरेर प्रचारप्रसार गरेका छन् भन्ने खर्च विवरणसमेत अभिलेखीकरण भएको छ ।
विज्ञापनबाट निर्वाचनलाई प्रभावित गर्न सामाजिक सञ्जालमा व्यापक प्रचार हुन सक्ने खतरा भएकाले पारदर्शी बनाउने यो नीतिको उद्देश्य हो । फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो नीतिअनुसार एड ट्रान्सपरेन्सी टुल ७ सेप्टेम्बरबाट नेपालबाट लागू गरेको थियो । निर्वाचनमा बाह्य देशबाट विज्ञापनमार्फत पार्न सक्ने प्रभाव रोक्न यो नीति अमेरिकाबाट सुरु भएको हो । अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पको पक्षमा देश–विदेशबाट डिजिटल हस्तक्षेप भएपछि फेसबुकले यो नीति अवलम्बन गरेको थियो ।
नेपालमा १९ साउनमा चुनावको घोषणा भएसँगै दल तथा उम्मेदवारले डिजिटल प्रचार सुरु गरेका थिए । २ असोजमा समानुपातिकतर्फ मनोनयन दर्तापछि चुनावी माहोल तात्यो । १२ असोजबाट आचारसंहिता लागू भएको छ ।
१७ कात्तिकअगाडि घरदैलो गर्न नपाइने भएपछि धेरै उम्मेदवारले डिजिटल प्रचार शैली अपनाएका छन् । २३ असोजमा प्रत्यक्षतर्फको मनोनयन हुनुअघिदेखि सामाजिक सञ्जाल फेसबुकमा प्रचार सुरु गरेका दलले उम्मेदवारी दर्तापछि फेसबुकमा पैसा तिरेरै चुनावी प्रचार तीव्र पारेका छन् ।
फेसबुकको एड ट्रान्सपरेन्सी टुलको (सेप्टेम्बर १८ देखि १७ अक्टुबरसम्मको) तथ्यांकअनुसार शीर्ष नेतादेखि स्वतन्त्र उम्मेदवारसम्मले पैसा तिरेर प्रचार गरिरहेका छन् । आयोगले यो खर्च पनि निर्वाचन खर्चसीमाभित्रै समावेश हुने बताइसकेको छ ।
आयोगले प्रत्यक्षमा प्रतिनिधिसभातर्फ २५ देखि ३३ लाखसम्म र प्रदेशतर्फ १५ देखि २३ लाखसम्म सीमा तोकेको छ । त्यस्तै, समानुपातिकतर्फ दुवैतिर प्रतिउम्मेदवार दुई लाख सीमा छ । डिजिटल प्रचारमा गरिएको खर्च विवरण पनि सीमाभित्रै जोडिने आयोगका सहायक प्रवक्ता कमल भट्टराईले बताए । ‘यसबाट कुन राजनीतिक दलले कसरी विज्ञापन गरिरहेका छन्, कति खर्च गरिरहेका छन् भन्ने देख्न सकिन्छ,’ उनले भने ।
फेसबुकमा विज्ञापनमार्फत प्रचार गर्ने को–को छन् ?
काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभामा घन्टाघर चिह्नका स्वतन्त्र उम्मेदवार इन्जिनियर सुशान्त श्रेष्ठले पछिल्लो ३० दिनमा सबैभन्दा धेरै पाँच सय ७० डलर खर्च गरेका छन् । उनले आफ्नो पेजबाट चुनावी अभियानसँग सम्बन्धित २४ वटा विज्ञापन प्रवर्द्धन गरेका छन् ।
शंख चिह्न लिएका नेपालका लागि नेपाली पार्टीका भोजपुर प्रतिनिधिसभा उम्मेदवार डा. सुरेश बस्नेतले चार सय ९८ डलर खर्च गरेका छन् । २२ वटा विज्ञापनमा उनले फेसबुकबाट प्रवर्द्धन गरेका छन् ।
जसपाबाट काठमाडौं क्षेत्र नम्बर ७ का उम्मेदवार निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले चार सय ९४ डलर खर्च गरेका छन् । ३९ वटा विज्ञापन प्रवर्द्धन गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका नेता एवं पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार सोमप्रसाद पाण्डेयले पछिल्लो ३० दिनमा चार सय ८३ डलर खर्च गरेका छन् । यो अवधिमा उनले १० वटा विज्ञापन गरेका छन् । पाल्पा २ कै एमाले उम्मेदवार ठाकुरप्रसाद गैरेले ६ वटा विज्ञापनमा सय डलर खर्चिएका छन् ।
धनुषा ३ का लागि सिफारिस भएर टिकट नपाएका कांग्रेस नेता सिए परमेश्वर महासेठले पछिल्लो ३० दिनमा तीन सय १२ डलर खर्च गरेका छन् । विमलेन्द्र निधिनिकट उनले यसबीचमा २३ वटा विज्ञापन गरेका छन् ।
घन्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौं ७ का उम्मेदवार गणेश पराजुलीले पछिल्लो ३० दिनमा एउटा मात्रै विज्ञापनमा तीन सय डलर खर्च गरेका छन् । रासपकै काठमाडौं ६ का उम्मेदवार शिशिर खनालले नौवटा विज्ञापनमा दुई सय २२ डलर खर्च गरेका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवले पछिल्लो ३० दिनमा आटवटा विज्ञापनका लागि एक सय ८७ डलर खर्चिएका छन् । जसपा संघीय परिषद् अध्यक्ष अशोक राईले सय डलर खर्चेर एक मात्र विज्ञापन गरेका छन् ।
काठमाडौं ५ का स्वतन्त्र उम्मेदवार शैलेन्द्र बस्नेतले नौवटा विज्ञापनका लागि एक सय ८७ डलर खर्च गरेका छन् । क्रस खुकुरी चिह्न पाएका काठमाडौं २ का उम्मेदवार अनुप बोहराले सातवटा विज्ञापनमा एक सय ७२ डलर खर्च गरेका छन् । झापा २ का स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरेले आठवटा विज्ञापनका लागि एक सय ५१ डलर खर्च गरेका छन् ।
जसपाबाट बाँके २ का उम्मेदवार निवर्तमान भौतिक योजना तथा यातायातमन्त्री इस्तियाक राईले १८ वटा विज्ञापनका लागि पछिल्लो ३० दिनमा एक सय १९ डलर खर्च गरेका छन् ।
काठमाडौं ७ की नेपाल समाजवादी पार्टीकी उम्मेदवार मानुषी यमी भट्टराईले पछिल्लो ३० दिनमा सातवटा विज्ञापन प्रवर्द्धनका लागि सय डलर खर्च गरेकी छिन् । मानुषी जिताऔँ अभियानबाट छुट्टै सय डलर खर्चिएको छ । एमाले छाडेर काठमाडौं ७ मै स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरले पनि सय डलर खर्चेर फेसबुकमा चुनावी प्रचार गरेका छन् ।
एमाले महासचिव शंकर पोखरेलसँग दाङ २ मा भिडिरहेकी माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले ६ वटा विज्ञापनमा सय डलर नै खर्च गरेकी छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं ८ का उम्मेदवार विराजभक्त श्रेष्ठले ३५ वटा विज्ञापनका लागि सय डलर खर्च गरेका छन् । जसपाबाट महोत्तरी ३ (क) का उम्मेदवार दीपेन्द्र झाले १३ विज्ञापनका लागि सय डलर खर्च गरेका छन् । ललितपुर २ का लौरो चिह्नका उम्मेदवार डा. सुदिन शाक्यले चारवटा विज्ञापनका लागि सय डलर खर्चिएका छन् ।
गोकुल बाँस्कोटालाई टक्कर दिँदै काभ्रे २ मा वाम गठबन्धनका साझा उम्मेदवार शिवप्रसाद हुमागाईंले फेसबुकबाट चुनावी प्रचारमा ६ वटा विज्ञापनका लागि सय डलर तिरेका छन् ।
एमालेबाट धनुषा ३ (ख)का उम्मेदवार दीपेन्द्र ठाकुरले १० वटा विज्ञापनमा सय डलर खर्चिएका छन् ।
झापा २ का कल चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार कुमार भट्टराईले चार विज्ञापनमा सय डलर खर्चिएका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हालै डिजिटल विज्ञापनमा प्रवेश गरेका छन् । उनले हालसम्म दुईवटा मात्रै विज्ञापन गरेका छन् । सय डलर तिरेका छन् ।
माओवादीबाट ललितपुर ३ की उम्मेदवार एवं ऊर्जामन्त्री पम्फा भुसालले तीनवटा विज्ञापनमा सय डलर खर्चिएकी छिन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सय डलर तिरेर तीनवटा पेड विज्ञापन फेसबुकमार्फत गरेका छन् ।
सुनसरी ३ मा विजय गच्छदारसँग प्रतिस्पर्धा गरिरहेकी एमालेकी भगवती चौधरीले पनि तीन विज्ञापनमा सय डलर खर्चिएकी छिन् ।
धनकुटा १(क)बाट उम्मेदवार बनेका रकम चेम्जोङले एक मात्रै विज्ञापन गरेका छन् । खर्च सय डलर देखिएको छ ।
कांग्रेसबाट पर्सा २ का उम्मेदवार अजयकुमार चौरसिया पनि सामाजिक सञ्जालमा सक्रिय रूपमा प्रचार गरिरहेका छन् । उनले फेसबुकमा ६ वटा चुनाव प्रचार सामग्री प्रवर्द्धनका लागि सय डलर खर्च गरेका छन् । उनको प्रचारमा सहयोगी धीरजकुमार गुप्ताले छुट्टै सय डलर खर्चेका छन् ।
मोरङ क्षेत्र नम्बर ६(ख) का एमाले उम्मेदवार परशुराम बस्नेत (विराटनगरका युवा)ले पाँचवटा विज्ञापनमा दुई सय डलर खर्चिएका छन् ।
कपिलवस्तु १ का माओवादी उम्मेदवार एवं पूर्वकृषिमन्त्री चक्रपाणि खनालले पाँचवटा विज्ञापन फेसबुकमा बुस्ट गर्दै सय डलर खर्चिएका छन् ।
दाङ ३ का कांग्रेस उम्मेदवार दीपक गिरीले दुईवटा, झापा १ बाट उम्मेदवार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा (प्रचार सचिवालय)ले पाँचवटा विज्ञापनका लागि सय–सय डलर तिरेका छन् । कांग्रेस रुपन्देही ५ का उम्मेदवार भरत शाह र कांग्रेस चितवन २ का उमेश श्रेष्ठ, कांग्रेस कपिलवस्तु २ सुरेन्द्रराज आचार्यले पनि समान सय डलर तिरेका छन् ।
कांग्रेस कैलाली ५ (ख)बाट उम्मेदवारी दिएकी प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाका स्वकीय सचिव एवं भतिज प्रकाश देउवाले पनि फेसबुकलाई सय डलरकै भुक्तानी गरेका छन् ।
काठमाडौं १ का उम्मेदवार राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, रासप उम्मेदवार पुकार बम, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले फेसबुकलाई सय–सय डलर तिरेका छन् ।
एमाले पाँचथर उम्मेदवार एवं पूर्वमन्त्री वसन्त नेम्वाङ, मकवानपुर २ का एमाले उम्मेदवार महेश बर्ताैला, एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापा ५ मा प्रतिस्पर्धामा उत्रिएका स्वतन्त्र उम्मेदवार युग पाठक, काठमाडौं ५ का कांग्रेस उम्मेदवार प्रदीप पौडेलले पनि प्रचारमा सय–सय डलर तिरेका छन् ।
गोरखा २ की स्वतन्त्र उम्मेदवार डा. माधवी भट्ट, पर्सा १ का राप्रपा उम्मेदवार किरणमान डंगोल, कास्की २ (ख) का राप्रपा उम्मेदवार अरुण गिरी, काठमाडौं १ (ख) कांग्रेस उम्मेदवार सुरजचन्द्र लामिछाने, झापा ३ का स्वतन्त्र उम्मेदवार योगेन्द्र खनाल, महात्तरी २(ख) की स्वतन्त्र उम्मेदवार सुरिताकुमारी साह, नुवाकोट १ का एमाले उम्मेदवार बद्री मैनाली, चितवन १(ख) स्वतन्त्र उम्मेदवार राममणि न्यौपानेले सय–सय डलर तिरेर फेसबुकमार्फत प्रचार गरिरहेका छन् ।
जसपा सुनसरी ४(क) उम्मेदवार परशुराम बस्नेत, नुवाकोट २ का रासप उम्मेदवार सुमनविक्रम पाण्डे, भक्तपुर २ का स्वतन्त्र साजन विश्वकर्मा, एमाले कैलाली १ (ख) द्वारिकाप्रसाद न्यौपाने, नेपाल विवेकशील पार्टी अध्यक्ष कर्मा तामाङ, मोरङ ६(ख) का स्वतन्त्र गोपाल रेग्मी, काठमाडौं ४ का स्वतन्त्र अर्जुनकुमार प्रसाईं र सिभेन्द्र केसी, रासप ललितपुर ३ की डा. तोसिमा कार्की (समर्थक पेजसहित), कांग्रेस मोरङ ४ (ख) भीम पराजुली (सचिवालय पेजसहित), हाम्रो नेपाली पार्टी रुपन्देही ३ प्रख्यात बन्जाडे, रौतहट ४ का स्वतन्त्र अजयकुमार साह, महोत्तरी १ का स्वतन्त्र पोषण थापा, कांग्रेस पाल्पा १ (ख) शंकर खनाल, गुल्मी १(ख) कांग्रेस धनेन्द्र कार्की, राप्रपा काठमाडौं २ कुन्तीदेवी पोखरेल, राप्रपा ललितपुर ३ (क) विनोद खड्का, कांग्रेस बिपी लमजुङका डा. लक्ष्मीकान्त पौडेल, हाम्रो नेपाली पार्टी सुनसरी ३ का गणेश कटवाल, एमाले दाङ २(क) बलिभद्र रानाले सय–सय डलर तिरेर फेसबुकमा चुनावी क्याम्पेन चलाएका छन् ।
एमाले झापा २(ख) चिन्तक पाठक, लौरो पर्सा १ (ख) ओमप्रकाश सर्राफ, विवेकशील साझा ललितपुर ३(क) समुन्द्र केसी, जसपा काठमाडौं ६(क) गणेश शाक्य, धनुषा ३ स्वतन्त्र उमेश साह, पाल्पा १ स्वतन्त्र विपिन कँडेल, एमाले रामेछापका कैलाश ढुंगेल, रासप गोरखा २ का कवीन्द्र बुर्लाकोटी, लौरो आनन्दराज जोशी काठमाडौं ९(ख) र रासप उपाध्यक्ष डिपी अर्यालले आफ्नो पार्टी र उम्मेदवारको प्रचारमा सय–सय डलर खर्च गरेका छन् ।
क्रसबोर्डर डिसइन्फर्मेसनका अनुसन्धानकर्ता तथा नेपाल पोलिसी इन्स्टिच्युटका कार्यकारी निर्देशक किरण चापागाईं सामाजिक सञ्जालमा पैसा तिरेर प्रचार गर्ने अभ्यास बढ्दो रहेको बताउँछन् । निर्वाचन आयोगको नीति निर्माणमा संलग्न चापागाईं दल र उम्मेदवारको चुनाव खर्चको पारदर्शिता भयो भने निर्वाचनको समग्र निष्ठा प्रवर्द्धन गर्न फाइदा पुग्ने विश्वास गर्छन् । ‘यो प्रकारको पारदर्शिता भयो भने विज्ञापनको माध्यमबाट निर्वाचनमा हुन सक्ने वैदेशिक हस्तक्षेप र प्रभावित पार्ने दुष्प्रचार रोक्न र नियमन गर्न प्रभावकारी हुन्छ,’ उनले भने ।
फेसबुकले यसरी राख्छ खर्चको विवरण

फेसबुकको ‘पोलिटिकल एड ट्रान्सपरेन्सी टुल’ लागू भएसँगै कुन उम्मेदवारले कति भुक्तानी गरेर प्रचारप्रसार गरेका छन् भन्ने खर्च विवरण अभिलेखीकरण भएको छ । फेसबुकको मातृ कम्पनी मेटाले नेपालमा यो टुल ७ सेप्टेम्बरबाट लागू गरेको थियो । त्यससँगै चुनावमा दल, उम्मेदवार र समर्थकले गरेको खर्चको एकमुस्ट विवरण उपलब्ध हुन थालेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार उम्मेदवारले डिजिटल प्रचारमा गरेको खर्च उसले पाउने खर्चको सीमाभित्रै जोडिन्छ ।
फेसबुक प्रचारमा सय डलर खर्च गरेका उम्मेदवार
काठमाडौं ७ की नेपाल समाजवादी पार्टीकी उम्मेदवार मानुषी यमी भट्टराई, काठमाडौं ७ मै स्वतन्त्र उम्मेदवार रामवीर मानन्धर, दाङ २ मा माओवादी उम्मेदवार रेखा शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं ८ का उम्मेदवार विराजभक्त श्रेष्ठ, ललितपुर २ का लौरो चिह्नका उम्मेदवार डा. सुदिन शाक्य, काभ्रे २ मा वाम गठबन्धनका साझा उम्मेदवार शिवप्रसाद हुमागाईं, झापा २ का कल चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार कुमार भट्टराई, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माओवादीबाट ललितपुर ३ की उम्मेदवार एवं ऊर्जामन्त्री पम्फा भुसाल, मकवानपुर १ मा राप्रपा नेपालका अध्यक्ष कमल थापा, सुनसरी ३ मा एमालेकी भगवती चौधरी, कांग्रेसबाट पर्सा २ का उम्मेदवार अजयकुमार चौरसिया, कपिलवस्तु १ का माओवादी उम्मेदवार एवं पूर्वकृषिमन्त्री चक्रपाणि खनाल, दाङ ३ का कांग्रेस उम्मेदवार दीपक गिरी, झापा १ बाट उम्मेदवार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेस रुपन्देही ५ का उम्मेदवार भरत शाह र कांग्रेस चितवन २ का उमेश श्रेष्ठ, कांग्रेस कपिलवस्तु २ सुरेन्द्रराज आचार्य, काठमाडौं १ का उम्मेदवार राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, रासप उम्मेदवार पुकार बम, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल, एमालेबाट पाँचथर उम्मेदवार एवं पूर्वमन्त्री वसन्त नेम्वाङ, मकवानपुर २ का एमाले उम्मेदवार महेश बर्ताैला, झापा ५ मा स्वतन्त्र उम्मेदवार युग पाठक, काठमाडौं ५ का कांग्रेस उम्मेदवार प्रदीप पौडेल, गोरखा २ की स्वतन्त्र उम्मेदवार डा. माधवी भट्ट, पर्सा १ का राप्रपा उम्मेदवार किरणमान डंगोल रहेका छन् ।
सोसल मिडियाको प्रचार वैज्ञानिक र कम खर्चिलो छ : प्रवेश सुवेदी डिजिटल मिडिया अभियन्ता एवं जानकार
डिजिटल पब्लिसिटी ट्रेडिसनलभन्दा कम खर्चिलो र बढी प्रभावकारी छ । यसमा फिजिकल मेटरियल चाहिएन । प्रेसमा छाप्नुपरेन, ठाउँ–ठाउँमा लगेर झुन्ड्याउने, टाँग्ने, भित्ता फोहोर गर्नुपरेन । वातावरणीय हिसाबले मैत्रीपूर्ण भयो ।
डिजिटल प्रविधिमा अलिकति स्मार्ट भएको उम्मेदवार वा क्याम्पेनिस्टले प्रचार गर्नलाई पैसा मात्रै खर्च गर्नुपर्छ भन्ने छैन । खर्च नगरी नेटवर्क स्थापना गर्न सक्छन् । सामाजिक सञ्जालमा ग्रुप र पेजहरू बनाउँछन् । अथवा आफ्नो शुभचिन्तकबाट अन्तक्र्रिया हुँदा ठूलो संख्यामा विनालगानी पब्लिसिटीको अवसर पाउँछन् ।
अर्काे लक्षित समुदायलाई नै टार्गेट गर्ने सुविधा छ । आर्टिफिसियल इन्टेलिजेन्स टेक्नोलोजीले जुन उम्मेदवारलाई जहाँ लक्षित गर्नुपर्ने हो, त्यहाँ मात्र प्रचार गर्न मिल्छ । पत्रिकामा छापिँदा डडेल्धुराको झापा पनि पुग्ने भयो । झापाका लागि पनि खर्च हुने भयो । तर, फेसबुक र गुगलमा डडेल्धुरालाई केन्द्रित गरेर गर्न सकिन्छ । पुरानो प्रचारभन्दा यो वैज्ञानिक छ । कम खर्चमा बढी प्रचार गर्न सकिनेछ ।
यसको नकारात्मक पक्ष एकदम छिटो मानिसमा पुग्ने र आवेग–संवेगमा रहेको व्यक्तिले तुरुन्त रियक्ट गर्दा गालीगलौज गर्ने, सामाजिक मर्यादा र शिष्टता वा आचारसंहिता उल्लंघन हुने सम्भावना बढी हुन्छ ।
पैसाको विषयमा नेपाल सरकारले कानुनी रूपले एक व्यक्तिले पाँच सय डलर खर्च गर्न पाउँछ । त्यसबाहेक डिजिटल एजेन्सीले डलर कारोबारको अनुमति लिएर गरेका छन् भने वैध नै हो । आजको दिनमा डिजिटल विज्ञापन अवैध हुने अवस्था छैन ।
अब म्यासिभ रूपमा खर्च गर्यो भने पैसा विदेशचाहिँ जान्छ । किनभने सोसल मिडिया कम्पनी नेपालको कुनै पनि प्रभावमा छैनन् । त्यसो हुँदा एक रुपैयाँ होस् एक अर्ब विदेशै जाने हो । तर, अर्थतन्त्रलाई प्रभाव पार्ने हिसाबले धेरै ठूलो रकम जान्छ जस्तो लाग्दैन, अहिलेसम्मको अनुभव त्यस्तो छैन ।
अहिले निर्वाचन आयोगसँग फेसबुक र गुगललगायतका कम्पनीहरूले प्रत्यक्ष सम्पर्कमा रहेर यहाँको रेगुलेसनलाई हामीले रेस्पोन्स गर्छाैँ । सबै कुरा पारदर्शी बनाउँछौँ भनेर प्रतिबद्धता पनि जनाएका छन् । त्यसैले यसको प्रयोग बढ्नु सकारात्मक हो ।