दुईदिने श्रमदानपछि बन्यो बाढीले बगाएको मोटरेबल काठेपुल

शुक्रबार, ४ कार्तिक, २०७९
डिजिटल संस्करण

गत असोज अन्तिम साता अविरल वर्षासँगै आएको बाढीपहिरोले जुम्लाको सदरमुकाम खलंगादेखि पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका– २ मा मोटरेबल पुल बगायो। जुम्ला र डोल्पा जिल्ला जोड्ने तिला नदीमाथिको मोटरेबल काठेपुल बगाउँदा माथिल्लो भेगमा पर्ने मणिसाँघु, मुनिगाउँ, डिल्लीकोटसहितका गाउँबस्तीमा नाकाबन्दीजस्तै भयो।

ती गाउँमा दैनिक उपभोग्य वस्तुसमेत ओसारपसार गर्न निकै असहज भएपछि गुठीचौर गाउँपालिकाको अगुवाइमा दुईदिने श्रमदानबाट मोटरेबल काठेपुल निर्माण गरिएको छ। जुम्लास्थित नेपाली सेनाको नन्दाबक्स गणका ३० जनशक्ति, नेपाल प्रहरी र स्थानीयवासीसहितले श्रमदान गरी दुई दिनमा काठेपुल निर्माण गरिएको हो।

पुल निर्माण भएसँगै गुठीचौरको माथिल्लो क्षेत्रसहित डोल्पा जिल्लाको तल्लो क्षेत्रसम्म आवतजावत गर्न र सामान ओसारपसार गर्न सहज भएको छ। गुठीचौरको वडा नम्बर १ का अध्यक्ष अर्जुनकुमार महतराले भने, ‘दुई साता मुकामसँग पालिका विच्छेद नै भयो। पुल निर्माण गर्नका लागि आयोजना निर्माण गरेर उपभोक्ता समितिमार्फत् गर्दा निकै समय लाग्ने भएकाले श्रमदानमार्फत मोटरेबल काठेपुल निर्माण गरिएको हो।’
 
अन्य पालिकाभन्दा यो पालिकामा बाढीले धनजनको क्षति कम भए पनि यातायातलगायतका सेवा भने प्रभावित भएको थियो। बाढीले बगाएको जुम्ला–डोल्पा जोड्ने सडकअन्तर्गतको काठेपुल पुनर्निर्माण गर्न १० लाख खर्च लाग्ने भए पनि दुईदिने श्रमदानबाट सहज रूपमा सम्पन्न भएको वडाध्यक्ष महतराले बताए।
 

सुझावित समाचार