‘पछिल्लो ५० वर्षमा विश्वभर वन्यजन्तुको संख्या ६९ प्रतिशतले घट्यो’

शनिबार, २९ असोज, २०७९
डिजिटल संस्करण

विश्वको वन्यजन्तुको संख्या सन् १९७० देखि सन् २०१८ बीचमा झन्डै ६९ प्रतिशतले घटेको विश्व वन्यजन्तु कोषको पछिल्लो रिपोर्टले देखाएको छ । बिहीबार सार्वजनिक रिपोर्टले जलवायु परिवर्तन र अन्य मानवीय क्रियाकलापको प्रभावले जीवजन्तुको संख्यामा यति ठूलो ह्रास आएको स्पष्ट भनेको छ । 

पछिल्लो रिपोर्ट डब्लुडब्लुएफले सन् १९७० देखि २०१८ बीच विश्वभरका ५,२३० मेरुदण्ड भएको प्रजातिको करिब ३२,००० वासस्थानको अध्ययनपछि प्रकाशित गरेको हो । अध्ययनका लागि कोषले लिभिङ प्लानेट इन्डेक्स (एलपिआई) नामक तथ्यांक–समूह प्रयोग गरेको थियो । ८९ लेखकद्वारा तयार पारिएको रिपोर्टमा पृथ्वीले जलवायु परिवर्तन र जैविक विविधता विनाशको ‘दोहोरो संकट’ सामना गरिरहेको भनी प्रकाश पारेको छ । 

डब्लुडब्लुएफको रिपोर्टअनुसार हाल विश्वका एक प्रतिशतदेखि २.५ प्रतिशत स्तनधारी, सरिसृप्त माछा र उभयरचर लोप भइसकेको छ भने झन्डै १० लाख जीवजन्तु र वनस्पति लोप हुने अवस्थामा छन् । विश्वका क्षेत्रीय इकालामध्ये ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा औसतमा सबैभन्दा धेरै अर्थात् ९४ प्रतिशत जीवजन्तुको संख्या घटेको रिपोर्टमा उल्लेख छ । रिपोर्टले यस भेगमा अवस्थित अमेजन रेनफरेस्ट(वर्षावन) निष्प्रभावी पुग्ने स्थितिमा पुग्नेसमेत चेतावनी दिएको छ । 

यस अवधिमा केही जीवजन्तुको संख्या उलेख्य मात्रामा घटेको र केहीको तुलनात्मक रूपमा वृद्धि भएको कोषले बताएको छ । संरक्षण प्रयासका कारण बाघ, हात्तीजस्ता चर्चित जीवको संख्यामा केही वृद्धि भएको छ । कम परिचित जीवको संख्यामा सबैभन्दा बढी ह्रास देखिएको डब्लुडब्लुएफका अन्तर्राष्ट्रिय महानिर्देशक मार्को ल्यामबर्टिनीले बताए । 

सुझावित समाचार