एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्यले दिए स्वतन्त्र उम्मेदवारी

आइतबार, २३ असोज, २०७९
डिजिटल संस्करण

नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य गोपाल नेपालीले दैलेखको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। दैलेखको मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. १ मा उनले पहिलो उम्मेदवारी दर्ता गराएका हुन्।

जिल्ला र केन्द्रको नेतृत्वले पटकपटक आफूलाई टिकटबाट वञ्चित गरेर अपमान गरेको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिनुपरेको प्रतिक्रिया दिएका छन्। ‘०४७ बाट एमालेको राजनीतिमा लागेको हुँ। यसअघिका निर्वाचनमा तीनपटक समानुपातिक सूचीमा नाम राखियो, केन्द्रीय नेतृत्वले समेट्न सकेन। यसपालि पनि जिल्ला  र प्रदेशबाट १ नम्बरमा नाम सिफारिस हुँदा पनि काठमाडौंमा रहेका केही नेताहरूको अपरिपक्वताले नाम समावेश गर्न कन्जुस्याइँ गरियो। त्यसैले स्वतन्त्र उम्मेदवारी दर्ता गराउन बाध्य भएँ,’ नेपालीले भने।

दैलेखको क्षेत्र नम्बर १ मा एमालेले रवीन्द्रराज शर्मा र क्षेत्र नम्बर २ मा लक्ष्मी पोखरेललाई उम्मेदवार बनाएको छ। ४ वटा प्रदेश सभामा नेतृत्व चयनमा एमालेका केन्द्रीय नेताहरूले वस्तुस्थिति नबुझी टिकट वितरण गरेको भन्दै असन्तुष्टि चुलिएको छ ।
 
गठबन्धनबाट निर्वाचन क्षेत्र नम्बर १ मा संघीय संसदमा एकीकृत समाजवादीका अमरबहादुर थापा तथा प्रदेश सभामा नेपाली कांग्रेसका कृष्णकुमार बिसी र पूर्णबहादुर खत्रीले टिकट पाएका छन्।

सुझावित समाचार