आज र भोलि देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

मंगलबार, १८ असोज, २०७९
डिजिटल संस्करण

आज र भोलि देशभर बदली हुने र अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। 

मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित भएको न्यूनचापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमतर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि परेकाले मौसम बदली हुने जनाएको छ। 

असोज १८ गते नवमीको दिन दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । राति भने लुम्बिनी, बागमती, गण्डकी, मधेस र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज १९ गते दसैँको टीकाको दिन देशभर बादली हुने र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै, असोज २० गते एकादशी र २१ गते द्वादशीको दिनमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र सडक तथा हवाई यातायात तथा कृषिलगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख अर्थात् असोज १५ गते भए तापनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही ढिला गरी बाहिरिनेछ।

See More On

सुझावित समाचार