चोलेन्द्रलाई सरकारले निवासको गेटमै रोक्यो (भिडियाेसहित)

आइतबार, २ असोज, २०७९
डिजिटल संस्करण
चोलेन्द्रलाई सरकारले निवासको गेटमै रोक्यो (भिडियाेसहित)

बालुवाटारस्थित प्रधानन्यायाधीशकाे सरकारीनिवासअगाडि तैनाथ सुरक्षाकर्मीहरू । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

सर्वोच्च अदालत फर्कने प्रयासमा रहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै निस्कन पाएका छैनन् ।  उनलाई सरकारले निवासको गेटमै रोकेको छ । सर्वोच्च फर्कने प्रयासस्वरूप त्यतातर्फ जान लाग्दा सुरक्षाकर्मीले घरमै रोकेका छन् । 

निवासमै रोकिनुपरेपछि उनले सञ्चारकर्मीहरूसँग भने, म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ । तर, सरकारले निवासमै रोकिदियो । निवासलाई बाहिरबाट बन्द गरेर प्रहरी तैनाथ गरिएको छ ।’

गेटमै रोकिएको विषयमा उच्च सुरक्षा अधिकारीहरूले आधिकारिक प्रतिक्रिया दिन मानेका छैनन् । तर, उनी सरकारीनिवासभित्रै रहेको जानकारी दिए । 

उनलाई रोक्न नेपाल बार र सर्वोच्च बारका कानुन व्यवसायीहरूसमेत सर्वोच्च गेटमा धर्नामा बस्ने तयारीमा छन् । सर्वोच्च गेटमै व्यापक रूपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । जबराले ११ बजे सर्वोच्च पुग्ने बताएका थिए ।

जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाभियोग सिफारिस समितिले हिजो साँझ सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझाएको केहीबेरमै उनले सर्वोच्च प्रशासनमा सम्पर्क गरी आफू आइतबारबाट नियमित जिम्मेवारीमा फर्कने भन्दै आवश्यक तयारी गर्न निर्देशन दिएका थिए । 

सुझावित समाचार