बयानमा जबराले हस्ताक्षर गरेनन्, १७४ पृष्ठको लिखितम् पढेर सुनाइँदै

शुक्रबार, ३१ भदौ, २०७९
डिजिटल संस्करण

निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग सिफारिस समितिमा दिएको बयानमा हस्ताक्षर नगरेपछि अहिले बयानको लिखितम् पढेर सुनाइँदै छ।

बयानको लिखितम् लामो भएकाले अध्ययन गर्न गाह्रो भएको भन्दै जबराले हस्ताक्षर गरेनन्। जबराले समितिमा दिएको बयान पढ्न गाह्रो मानेपछि अहिले उनलाई बयान पढेर सुनाइँदै छ। समितिले एक सय ७४ पृष्ठ लामो बयानको पूर्णपाठ तयार गरेको छ।

बयान पढेर सुनाउने र जबराले प्रत्येक पेजमा सहमति जनाउने सहमति भएको समितिका सदस्य कांग्रेस सांसद मीन विश्वकर्माले जानकारी दिए। ‘अद्याेपान्त यहीँ पढेर सुनाउने र उहाँले प्रत्येक पेजमा सहमति जनाउँदै जाने भन्ने सहमति भएको छ। अहिले प्रत्येक पेजहरू सचिवालयका कर्मचारीले पाठ गर्ने र उहाँले स्वीकार गर्ने क्रम जारी छ,’ उनले भने।

बयान सुनाउन थालिएकाले ४५ मिनेटका लागि बैठक स्थगित गरिएको छ। सचिवालयका कर्मचारीले बयान सुनाउँदै छन् भने जबराले प्रत्येक पृष्ठमा हस्ताक्षर गर्दैछन्।

सुझावित समाचार