महानगरको ट्राफिकविज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ नियुक्त

बुधबार, २९ भदौ, २०७९
डिजिटल संस्करण

श्रेष्ठले प्रहरी व्यवस्थापन, सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनलगायत विषयमा तालिम प्राप्त गरिसकेका छन्

काठमाडाैं महानगरपालिकाले पूर्वप्रहरी वरिष्ठ उपरीक्षक जगतमान श्रेष्ठलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको छ । प्रमुखस्तरीय निर्णयबाट उनलाई मंगलबार नियुक्त गरिएको हो । 

श्रेष्ठले नेपाल प्रहरी सेवामा हुँदा प्रहरी अधिकृतको आधारभूत तालिमसँगै मानव अधिकार तथा कानुन कार्यान्वयन, प्रहरी व्यवस्थापन, विपत् व्यवस्थापन, अपराध अनुसन्धान, विशिष्ट सवारी परिचालनलगायत विषयमा तालिम लिएका थिए । यसैगरी भारतबाट ट्राफिक व्यवस्थापन, चीनबाट विकासोन्मुख देशमा ट्राफिक प्रशासन, दक्षिण अफ्रिकाको जाम्बियाबाट ट्राफिक सडक सुरक्षा विषयमा तालिम लिएका छन् । 

यस्तै, उनले यातायात र सडक व्यवस्थापन तथा सुरक्षाका अन्य दर्जनभन्दा बढी शीर्षकमा तालिम लिएका छन् । उनले तालिम लिएका अन्य विषयमा दुर्घटनाका सिद्धान्त, आचरण र जोखिमका सिद्धान्त, विश्वइतिहासमा ट्राफिक, यातायात व्यवस्थापनलगायत छन् । 

सन् २००१ मा संयुक्त राष्ट्रसंघीय मिसन कोसोभोमा उनले भाग लिइसकेका छन् । उत्कृष्ट कार्य सम्पादनबापत उनले गोरखा नेपाल सरकारले प्रदान गर्ने गोरखा दक्षिण बाहु र संयुक्त राष्ट्रसंघ पदक पाएका छन् । यस्तै, उनी विदेश सेवा पदकबाट सम्मानित भइसकेका छन् । उनले उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको रूपमा काम गरिसकेका छन् । 

सुझावित समाचार