सिटमा दाउपेच जारी

आइतबार, २६ भदौ, २०७९
डिजिटल संस्करण

सत्ता गठबन्धन : मधेसमा कांग्रेस–जसपाका आ–आफ्नै दाबी र रणनीति, बाँडफाँडमा सकस 

जसपाको जोड ०७४ को आधार
जसपा मूलतः ०७४ को निर्वाचनको आधारमा मधेसमा सिट बाँडफाँड चाहन्छ । ०७४ को निर्वाचनमा राजपा १०, संघीय समाजवादी फोरम नौ, कांग्रेस ६, माओवादी पाँच र एमालेले दुई सिट हासिल गरेका थिए । तर, यसबीचमा भएका एकता र विभाजनपछि मधेसको हाल संसद्को अंकगणितमा फेरबदल आएको छ । जसपाले जितेका १० मध्ये हरिनारायण रौनियार निलम्बित छन् भने महिन्द्र राय यादव बाबुराम भट्टराईको नेसपामा गएका छन् । यसबाहेक लोसपा नौ, कांग्रेस ६, माओवादी पाँच र एमालेका दुई सांसद छन् । 

कांग्रेस स्थानीय निर्वाचन आधारको पक्षमा
कांग्रेस स्थानीय निर्वाचनको अंकगणितलाई आधार बनाउन चाहन्छ । मधेसमा कांग्रेस स्थानीय तहमा जस्तै पहिलो शक्ति बन्ने रणनीतिमा छ । स्थानीय निर्वाचनमा मधेसमा जसपा तेस्रो बनेको थियो । १३६ पालिकामध्ये कांग्रेसले ४६, एमालेले ३०, जसपाले २५, लोसपा १४, माओवादीले नौ, एकीकृत समाजवादीले ६, जनमत पार्टीले दुई तथा तमलोपा र विवेकशील साझा पार्टी एक–एक र स्वतन्त्रले दुई पालिकामा जित निकालेका थिए ।

कांग्रेस र माओवादीको प्रारम्भिक सहमति प्रस्ताव
कांग्रेस ८५–९०, माओवादी ४५–५०, जसपा र एकीकृत समाजवादी १२ देखि १५ सिट र जनमोर्चालाई एक या दुई सिट दिएर सहमति जुटाउन सकिने कांग्रेस र माओवादीको प्रारम्भिक प्रस्ताव छ । तर, जसपाले मधेसका आठ जिल्लाका ३२ मध्ये २० सिट आपूmले पाउनुपर्ने दाबी पेस गरेपछि मधेसमा सिट बाँडफाँड सकसपूर्ण बनेको छ । त्यसमाथि एकीकृत समाजवादीले पाँच सिट दाबी गरेर मधेसको सिट बाँडफाँडलाई झनै पेचिलो बनाइदिएको छ । माओवादी ०७४ मै जितेका पाँच सिट आफ्नो पक्षमा पार्ने र सके थप्ने योजनामा छ । सम्मानजनक सिट बाँडफाँड नभए गठबन्धनको औचित्य नहुने भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै कांग्रेस र माओवादीप्रति सार्वजनिक रूपमै असन्तुष्टि पोखेका छन् । प्रधानमन्त्री देउवा भने जुनसुकै हालतमा गलतबन्धन बचाउने पक्षमा छन् । 

आज फेरि शीर्ष बैठक 
बाँडफाँडको विषय टुंगो लगाउन आइतबार फेरि शीर्ष नेताको बैठक बस्ने भएको छ । शनिबारको बैठकबाट कुनै निष्कर्ष नआएपछि अर्को बैठक तय भएको हो । बैठकमा सहभागी जनता समाजवादी पार्टी (जसपा)का नेता रकम चेम्जोङले शनिबार कार्यदलका सदस्यसहित शीर्ष नेताहरूको छलफल चले पनि कुनै निष्कर्ष ननिस्किएको बताए । उनले आइतबार बिहान साढे ८ बजे शीर्ष नेताहरूको बैठक बस्ने गरी तय भएको जानकारी दिए । ‘उपेन्द्रजी जनकपुरबाट काठमाडौं आउने क्रममा फ्लाइट डिले भएका कारण बैठकमा उपस्थित हुन सक्नुभएन,’ उनले नयाँ पत्रिकासँग भने, ‘बैठकबाट थप कुनै प्रगति भएको छैन । संख्याकै विषय मिल्न सकेको छैन । आइतबार बिहान ८ बजे शीर्ष नेताहरूको बैठक बस्नेछ ।’ शनिबारको बैठकमा शीर्ष नेताहरूबीच दुईपक्षीय र तीनपक्षीय छलफल भएको थियो । तर, निष्कर्षमा पुग्ने गरी छलफल हुन सकेन ।

...                                      ...

सत्ता राजनीतिमा ‘अर्थपूर्ण’ महत्व राख्ने मधेसका ३२ सिटमा कांग्रेस र जसपाको धेरै दाबी देखिएपछि पाँचदलीय गठबन्धनभित्र सिट बाँडफाँडमा किचलो बढेको छ । दुवै दल मधेसमा पहिलो शक्ति बन्ने दाउमा छन् । 

संगठन र जनाधार बलियो रहेको मधेसमा धेरै सिट पाउनुपर्ने जसपाको अडान छ । तर, धेरै सिट लिएर लोसपालाई पनि सँगै लिएर जाने कांग्रेसको रणनीति छ । मधेसका आठ जिल्लाका ३२ सिटमध्ये जसपा एक्लैले २० सिटमा दाबी गरेको छ । जसपाले अस्वाभाविक दाबी गरेको भन्दै गठबन्धनका अन्य दल यसलाई मान्न तयार छैनन् । 

गत वैशाखको स्थानीय निर्वाचनमा ठूलो दल भएकाले धेरै सिट आफूले पाउनुपर्ने कांग्रेसको दाबी छ । मधेसमा माओवादीले पाँच (०७४ मा जितेका) र एकीकृत समाजवादीले दुई सिट (०७४ मा एमालेले जितेका)मा नजर राखेका छन् । 

०७४ को निर्वाचनमा राजपा १०, संघीय समाजवादी फोरम नौ, कांग्रेस ६, माओवादी पाँच र एमालेले दुई सिट हासिल गरेका थिए । तर, यसबीचमा भएका एकता र विभाजनपछि संसद्मा मधेसको उपस्थितिको अंकगणितमा फेरबदल आएको छ । जसपाका १० सांसदमध्ये हरिनारायण रौनियार निलम्बित छन भने महिन्द्र राय यादव बाबुराम भट्टराईले गठन गरेको नेसपामा गएका छन् । यसबाहेक लोसपाका नौ, कांग्रेसका ६, माओवादीका पाँच र एमालेका दुई सांसद छन् । 

जसपाले ०७४ को निर्वाचन र स्थानीय तह निर्वाचनका आधारमा आफ्नो दाबी राखेको कार्यदल सदस्यहरू बताउँछन् । जसपाबाट कार्यदल सदस्य रहेका रामसहायप्रसाद यादव मधेसमा बढी सिटमा दाबी स्वाभाविक भएको बताए । ‘हामीले समग्रमा मधेससहितको दाबी गठबन्धनमा राखेका हौँ । मधेस हाम्रो आधार भएकाले स्वाभाविक रूपमा बढी सिटमा दाबी रहने भयो,’ उनले नयाँ पत्रिकासँग भने ।

तर, कांग्रेस स्थानीय निर्वाचनको अंकगणितलाई आधार बनाउन चाहन्छ । मधेसमा कांग्रेस स्थानीय तहमा जस्तै पहिलो शक्ति बन्ने रणनीतिमा छ । स्थानीय निर्वाचनमा मधेसमा जसपा तेस्रो बनेको थियो । एक सय ३६ पालिकामध्ये कांग्रेसले ४६, एमालेले ३०, जसपाले २५, लोसपा १४, माओवादीले नौ, एकीकृत समाजवादीले ६, जनमत पार्टीले दुई तथा तराई मधेस लोकतान्त्रिक पार्टी र विवेकशील साझा पार्टी एक–एक र स्वतन्त्रले दुई पालिकामा जित निकालेका थिए ।

कांग्रेस ८५–९०, माओवादी ४५–५०, जसपा र एकीकृत समाजवादी १२ देखि १५ सिट र जनमोर्चालाई एक या दुई सिट दिएर सहमति जुटाउने कांग्रेस र माओवादीको तयारी छ । यद्यपि, शनिबारसम्म गठबन्धनभित्र सिट बाँडफाँड टुंगिएको छैन । 

जसपा अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै सम्मानजनक सिट नभए गठबन्धनको औचित्य नहुने बताएका छन् । ‘प्रतिनिधिसभाका लागि जसपाले आफ्नो दाबी राखेको छ । यसबारे गठबन्धनमा शीर्ष तहमा छलफल चलिरहेको छ । सम्मानजनक सिट बाँडफाँड नभए गठबन्धन गर्नुको औचित्य छैन,’ बिहीबार उनले भनेका थिए । 

कांग्रेस र माओवादी जसपालाई १५ सिट दिन चाहन्छन् । कांग्रेससहित गठबन्धनका अन्य दलको दाबीले मधेसमा आफ्नो सिट घट्ने देखिएपछि जसपाले विकल्पमा जानेसम्मको चेतावनी दिएको छ । जसपा अध्यक्ष यादवले गठबन्धन बैठकमा आफ्नो असन्तुष्टि राखिसकेका छन् । उनले सार्वजनिक अभिव्यक्तिमार्फत सम्मानजनक सिट बाँडफाँड नभए गठबन्धन गर्नुको औचित्य नरहेको बताएका छन् । 

कांग्रेसबाट कार्यदल सदस्य ज्ञानेन्द्र कार्की दलहरूको दाबीअनुसार अन्तिम टुंगो शीर्ष तहबाट लाग्ने बताउँछन् । ‘दलहरूले बढी दाबी राख्नु स्वाभाविक हो । हामी छिट्टै यो विषय टुंगोमा पु¥याउँछौँ । तर, गठबन्धनको उद्देश्य पूरा गर्न सबैले लचकता देखाउनुपर्छ । शीर्ष तहबाट बाँडफाँडको टुंगो लाग्छ,’ उनले नयाँ पत्रिकासँग भने ।

प्रतिपक्षी एमाले : लोसपा र राप्रपासँग तालमेलको गृहकार्य, मागे २०–२० सिट

सत्तागठबन्धनभित्र सिट बाँडफाँडको रस्साकस्सी चलिरहेका वेला विपक्षी दलहरूबीच पनि लेनदेनका संवाद जारी छन् । लोसपा र राप्रपासँग तालमेल गर्ने गृहकार्यमा एमाले छ । त्यसका लागि दुवै दल तयार रहे पनि एमालेसँग २०–२० सिटमा प्रारम्भिक दाबी गरेका छन् । 

गत बिहीबार साँझ लोसपाका शीर्ष नेताको बैठकमा अध्यक्ष महन्थ ठाकुरले एमालेसँग तालमेलका लागि संवाद भइरहेको ‘ब्रिफिङ’ गरेका थिए । त्यही रात ठाकुर र एमाले अध्यक्ष केपी ओलीबीच बालकोटमा भेटघाट भएको लोसपा नेता सर्वेन्द्रनाथ शुक्लले पुष्टि गरे । 

स्रोतका अनुसार भेटमा ठाकुरले तालमेल गर्दा लोसपाले करिब २० सिट पाउनुपर्ने दाबी गरेका छन् । ‘१० सिट त हामीले ०७४ को निर्वाचनमा जितेकै भइहाल्यो । त्यसबाहेक कम मतले हारेका केही ठाउँ छन् । त्योसँगै मधेसबाहेकका क्षेत्रमा पनि यसपटक हामी लड्ने तयारीमा छौँ । त्यहीअनुसार अध्यक्षले कुरा राख्नुभएको छ,’ लोसपाका एक नेताले भने । 

ठाकुर र ओलीबीचको भेटवार्तापछि शुक्रबार मात्रै तालमेलका लागि वार्ता गर्न एमालेबाट विष्णु पौडेल र लोसपाबाट शुक्लले जिम्मेवारी पाएका छन् । शुक्लका अनुसार मधेसमा स्वाभाविक रूपमा लोसपाको राम्रो दाबी हुने भए पनि चाँडै सहमतिमा पुग्न दुवै दल लचिलो भएर संवाद गर्ने तयारी छ । 

सत्तागठबन्धनका कारण दबाबमा आएको एमालेले जसपासँग अलग्गिएको लोसपासँग सुरुदेखि नै तालमेलको प्रस्ताव गरेको थियो । तर, यहीबीचमा लोसपा भने पाँचदलीय गठबन्धनसँग जोडिने प्रयत्नमा थियो । वार्ता गर्न लोसपा अध्यक्ष महन्थ ठाकुरसहित राजेन्द्र महतो, शरत्सिंह भण्डारीलगायत नेता प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार नै पुगेका थिए । 

मधेसमा कांग्रेसको प्रभाव बलियो बनाउने रणनीतिमा रहेका देउवाले उनीहरूलाई गठबन्धनमा सामेल गराउने आश्वासनसमेत दिएका थिए । तर, सिट बाँडफाँडका लागि कार्यदल गठन गरेको एक महिना पुगिसक्दासमेत गठबन्धनमा सामेल नगराएपछि लोसपा एमालेसँगै तालमेल गर्ने ‘मुड’मा पुगेको हो । 

०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (हाल लोसपा)ले सप्तरी ३, धनुषा ३, महोत्तरी २ र ३, रौतहट १, बारा ४, पर्सा २ र ४ र कैलाली १ जितेको थियो । यसबाहेक धनुषा २ बाट जितेका तत्कालीन संघीय समाजवादी फोरमका उमाशंकर अरगरिया पनि अहिले लोसपामै छन् । उनको क्षेत्र जोड्दा लोसपाले जितेको निर्वाचन क्षेत्र १० पुग्छ । त्यसबाहेक अघिल्लोपटक थोरै मतान्तरले हारेको क्षेत्र सप्तरी ४ र सर्लाही २ पनि उसको दाबी छ । 

अहिले आफ्नो जनाधार राम्रो रहेको भन्दै सर्लाही २ र ४, बारा १, पर्सा १, रुपन्देही ३ र ४, कपिलवस्तु १ र ३, सुनसरी ४, मोरङ १, ५ र ६ मा पनि लोसपाले दाबी प्रस्तुत गरेको छ । ‘मधेसमा हामीले जितेको क्षेत्र हामीले पाउने, एमालेले जितेको क्षेत्र उसले पाउनु स्वाभाविक हो,’ लोसपा नेता शुक्लले भने, ‘त्यसबाहेक अन्य क्षेत्रमा कसले पाउँदा जित निकाल्न सकिन्छ, त्यो विश्लेषणका आधारमा पनि सिट बाँडफाँड हुन्छ ।’

त्यस्तै, मधेसलाई केन्द्रमा राखेर लोसपासँग तालमेलका लागि तयार भएको एमालेले राप्रपासँग पनि ठाउँविशेष तालमेल गर्ने भएको छ । राप्रपाले करिब २० ठाउँमा आफूलाई सघाउन प्रस्ताव गरेको छ । 

स्रोतका अनुसार राप्रपाले झापामा अध्यक्ष राजेन्द्र लिङ्देन, रुपन्देहीमा दीपक बोहरा, बाँकेमा धवलशमशेर राणा, सिन्धुपाल्चोकमा पशुपतिशमशेर राणा, नुवाकोटमा प्रकाशचन्द्र लोहनी, चितवनमा विक्रम पाण्डे, म्याग्दीमा जगत गौचन, जुम्लामा ज्ञानेन्द्र शाही, दैलेखमा कुन्ती शाहीको क्षेत्रमा एमालेसँग तालमेल गर्न तयार भएको छ । राप्रपाले पनि एमालेको साथ पाएको अवस्थामा प्रत्यक्षतर्फ कम्तीमा पाँच सिट जित्ने, समानुपातिकमा थ्रेसहोल्ड कटाउने र संसद्मा राष्ट्रिय मान्यता पाउने विश्लेषण गरेको छ ।

एमाले पनि झापामा अध्यक्ष केपी ओली, रुपन्देहीमा विष्णु पौडेल र घनश्याम भुसाललगायतको क्षेत्रमा तालमेल गर्न सकारात्मक भएको छ । खासगरी एमालेले आफ्नो अग्रता र राप्रपाको बलियो प्रभाव रहेको क्षेत्रमा तालमेल गर्न चाहेको छ । 

राप्रपा अध्यक्ष लिङ्देनले यही साताभित्र एमालेसँग तालमेलबारे औपचारिक सहमति गर्ने तयारी रहेको बताए । ‘तुलनात्मक रूपमा राष्ट्रियताको दृष्टिकोणले एमाले र हामी निकट छौँ,’ राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘आ–आफ्नो सैद्धान्तिक अवधारणा भईकन पनि नेपालको निर्णायकत्व नेपालकै हातमा हुनुपर्छ, असंलग्नता, पञ्चशील, तटस्थताजस्ता विषयलाई हामीले सर्वोपरि मानेर जानुपर्छ भन्ने विषयमा हामी अन्य राजनीतिक दलभन्दा एमालेसँग नजिक छौँ । त्यसैले सत्तापक्ष गठबन्धनसहित आइरहँदा हामी पनि मिलेर जानुपर्छ भन्ने अवस्थामा पुगेका हौँ । एमाले अध्यक्षसँग निरन्तर सम्पर्क र भेटघाट भइरहेको छ । सायद सात दिनभित्रमा तालमेलले सहमतिको स्वरूप पाउनेछ ।’ 

लिङ्देनका अनुसार यसपटकको चुनावमा राप्रपाको नीति केही सिट आफूले लिने, केहीमा उनीहरूलाई सघाउने भन्ने छ । ‘हामीले जति सिट जित्ने गरी अर्को दलबाट मद्दत लिन्छौँ, त्यति नै सिट जित्ने गरी अर्को दललाई मद्दत गर्ने हो । हाम्रो तालमेल यही मोडालिटीअनुसार हुन्छ,’ उनले भने । 

एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङ्देन दुवै अहिले गृहजिल्ला झापामा छन् । गृहजिल्लाबाट फर्किएपछि उनीहरू तालमेलबारे टुंगोमा पुग्ने तयारीमा छन् । अघिल्लो ०७४ को निर्वाचनमा राप्रपाले कांग्रेससँग गठबन्धन गरिरहँदा पनि झापामा ओली र लिङ्देनबीच एकअर्कालाई सघाउने गरी चुनावी तालमेल भएको थियो । दुवै अध्यक्षको निर्वाचनमा राप्रपाको दुवै दलको राम्रो प्रभाव रहेकाले एकअर्काको सहज जितका लागि उनीहरू मिल्नुपर्ने बाध्यात्मक परिस्थितिमा छन् । 

एमाले उपाध्यक्ष सुवास नेम्वाङले पनि अध्यक्ष ओली गृहजिल्लाबाट फर्किएपछि दुवै दलसँग तालमेलको विषयलाई टुंग्याउने तयारी रहेको बताए । ‘छलफल र भेटघाट निरन्तर भइरहेकै छ । अध्यक्ष आफैँ लाग्नुभएको छ । अहिले त गृहजिल्ला जानुभएको छ । फर्किनेबित्तिकै तालमेलको विषय टुंगिएला,’ उनले भने । 

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले तालमेलका लागि कुराकानी भइरहेको बताए । ‘तालमेलका लागि दुवै दलसँग कुराकानी भइरहेको छ, तर टुंगोमा पुगिसकेको अवस्था होइन । लोसपाको यसअघि पाँचदलीय गठबन्धनसँगै जोडिने प्राथमिकता थियो । त्यहाँ कुरा नमिलेर होला, अहिले हामीसँग संवाद सुरु भएको छ । राप्रपासँग त अध्यक्षज्यूकै कुरा भइरहेको छ । आशा गरौँ, छलफल सकारात्मक नै होला,’ उनले भने । 

सुझावित समाचार