गुल्मीमा १२२ जनामा डेंगु संक्रमण, गाउँगाउँमा संक्रमित बढे

आइतबार, १९ भदौ, २०७९
डिजिटल संस्करण

पछिल्लो समय गुल्मीमा डेंगुको संक्रमण फैलिँदै गएको छ। अहिलेसम्म गुल्मी अस्पताल, विभिन्न क्लिनिक तथा पालिकाका स्वास्थ्य संस्थामा गरी कुल १२२ जनामा डेंगुको संक्रमण पाइएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिए।

संक्रमण गाउँ-गाउँसम्म फैरिरहेको छ। सत्यवती गाउँपालिकामा मात्रै सबैभन्दा धेरै सयजनामा संक्रमण देखिएको छ। त्यस्तै, रेसुंगामा १०, छत्रकोटमा छ, इस्मामा तीन तथा मुसिकोट, मदाने र गुल्मी दरबार गाउँपालिकामा एक-एकजनामा संक्रमण पुष्टि भएको आचार्यले बताए।

स्वास्थ्य सचेतना बढाउन आग्रह
स्वास्थ्य कार्यालयले स्थानीय पालिकाहरूमार्फत स्वास्थ्य सचेतनाका लागि आग्रह गरेको छ। कार्यालयले सबैभन्दा बढी संक्रमण भएको सत्यवतीमा स्वास्थ्य कार्यालय गुल्मीको तर्फबाट डेंगु नियन्त्रणका बारेमा सरोकारवाला निकाय र व्यक्तिलाई सचेत गराएको छ। सत्यवतीको जुहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै पछिल्लो दुई हप्तामा डेंगु संक्रमित ८६ पुगेका थिए। आफूहरू पालिकामा पुगेर सचेतना गरेपछि अहिले संक्रमण दर कम रहेको आचार्यले बताए।

संक्रमित बढ्दै गएपछि केही स्वास्थ्य संस्थामा डेंगु परीक्षण गर्ने किटको समेत अभाव भएको छ। तर, गुल्मी अस्पतालमा भने अहिलेसम्म किट अभाव नरहेको अस्पतालका ल्याब इन्चार्ज लक्ष्मण पन्थीले जानकारी दिए। आफूहरूसँग किट स्टक रहेकाले परीक्षणमा कुनै समस्या नरहेको उनले बताए। 

लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुबाट बच्ने उपाय भएको जिल्ला अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए। डेंगुसँग मिल्दोजुल्दो लक्षण देखिए समयमै परीक्षण गरेर रोकथाम गरे ठूलो समस्या नहुने पच्याले बताए। उच्च ज्वरो, शरीर दुख्ने, खान मन नलाग्ने, वाकवाकी हुने र वान्ता हुने डेंगुका लक्षण हुन्। पच्याले घर वरिपरि पानी जम्न नदिन र झुलको प्रयोग गर्न तथा लक्षण देखिए मनलाग्दी औषधी सेवन गरेर घरमै नबस्न आग्रह गरेका छन्।

See More On

सुझावित समाचार