नेपाली कांग्रेस लमजुङले प्रदेश सभा निर्वाचनका लागि निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ मा उम्मेदवार सिफारिस गरेको छ।
कांग्रेसले प्रत्यक्षतर्फ प्रदेश ‘क’का लागि चारजना र प्रदेश ‘ख’का लागि सातजनाको नाम सिफारिस गरेको हो। प्रदेश सभा ‘क’का लागि जिल्ला पूर्वसभापति शंकरकान्त जोशीसहित नेताहरू डिकेन्द्रराज कँडेल, रामकृष्ण कँडेल र सुवास पौडेलको नाम सिफारिस गरेको छ।
यस्तै, प्रदेश सभा ‘ख’का लागि निवर्तमान जिल्ला सभापति भेषबहादुर पौडेल, वर्तमान उपसभापति आनन्द घिमिरे, जिल्ला सभापतिका प्रत्याशी एवं जिल्ला सदस्य गमप्रसाद गुरुङ, महाधिवेशन प्रतिनिधि एवं तरुण दल लमजुङका अध्यक्ष ललित गुरुङ, नेविसंघका पूर्वकेन्द्रीय कोषाध्यक्ष शिवराज रिमाल, नेताहरू डा. लक्ष्मीकान्त पौडेल र नवराज न्यौपाने उम्मेदवार सिफारिस भएका छन्।
कांग्रेस स्रोतका अनुसार प्रदेश सभा ‘क’मा पूर्वसभापति शंकरकान्त जोशी र प्रदेश सभा ‘ख’मा निवर्तमान सभापति भेषबहादुर पौडेलले टिकट पाउने प्रबल सम्भावना छ। जोशी जिल्ला विकास समिति लमजुङका पूर्वसभापति हुन् भने पौडेल ०७४ को स्थानीय चुनावमा बेँसीसहर नगरपालिकाको मेयरमा पराजित भएका थिए।
कांग्रेस लमजुङले प्रतिनिधिसभातर्फ भने उम्मेदवार सिफारिस गरेको छैन। गठबन्धनबाट प्रतिनिधिसभा सदस्य एवं नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले टिकट पाउने सम्भावना भएकाले उम्मेदवार सिफारिसमा हतार नगरेको स्रोतले बताएको छ। यद्यपि, प्रतिनिधिसभा सदस्यका लागि पूर्वकेन्द्रीय सदस्य दिलबहादुर घर्ती, जिल्ला सभापति डा. टकराज गुरुङ, पूर्वसभापति तुलसीनारायण श्रेष्ठलगायत आकांक्षी रहेका छन्।
प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा ०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा दुवैतर्फका तीनैवटै सिट कांग्रेसले गुमाएको थियो।