केही दिनअघि च्याटको एउटा मेसेजमा एकजना भाइको सन्देश आयो, ‘साथीहरू, एउटा गुड न्युज छ । म नेपाल फर्किंदै छु, छिट्टै ।’ करिब दुई वर्षदेखि अमेरिकामै रहेका भाइ आफ्नो खुसी हामीसँग बाँड्न चाहन्थे । सन्देश आउनेबित्तिकै अर्का एक भाइले मेसेज गरिहाल्यो, ‘किन दाइ ? यतै बस्ने गरी नफर्किनुस् है । यसो घुमघामका लागि हो भने निर्धक्क आउनुहोस् । कस्सम, नेपाल नै फर्किने गल्ती नगर्नुस् है !’
कान्तिपुर टिभीमा प्रसारण हुने ‘सुमनसँग’ कार्यक्रमका ‘होस्ट’ सुमन खरेलले नेपाल छाडेर बेलायत फर्किन लागेको बताउँदा कार्यक्रमका अतिथि हरिवंश आचार्य सोध्नुभयो– तपाईं किन कार्यक्रम अन्त्य गर्दै हुनुहुन्छ ? खरेलले उत्तर दिनुभयो– ‘मेरी छोरी फरक क्षमताकी हुनुहुन्छ । छोरीलाई पढाउन यहाँ राम्रो स्कुल छैन । उता सबै सुविधा छ । शिक्षा, स्वास्थ्यमा राज्यको दायित्व रहन्छ । यदि अभिभावकलाई केही भयो भने पनि मेरो सन्तानलाई राज्यले हेर्छ भन्ने विश्वास हुन्छ । छोरीलाई न्याय गर्नै पनि म फर्किनुपर्छ ।
म राजनीतिक र शैक्षिक रूपमा युवासँग बढी समय बिताउँछु । मैले गत वर्ष धेरै विद्यार्थीसँग संवाद गरेँ । एसइई दिएका, १२ सक्दै गरेका र स्नातक गर्दै गरेका विद्यार्थीसँग कुराकानी गर्दा अधिकांश युवा नेपाल बस्न चाहँदैनन् । उनीहरू पढ्न बाहिर जान चाहन्छन् । कामै गर्न पासपोर्ट बोकेर खाडी जाने युवाको लाइन बढ्दो छ । पासपोर्ट कार्यालय र एयरपोर्टको लाइनले हामीलाई प्रत्येक दिन गिज्याइरहेको छ ।
नागरिकताको ‘मूल्य’ : केही दिनअघि एक भाइले प्रश्न गरे– ‘दाइ, इन्डियामा सवा एक लाख पर्ने पल्सर नेपालमा तीन लाख तिर्नुपर्छ । नेपालमा बाइक चढ्नेले इन्डियामा कार चढ्छ । यहाँ प्रत्येक कुरा महँगो छ । गुणस्तरीय छैन । राम्रो बाटो छैन । धुवाँधुलो छ । प्रत्येक कार्यालयमा प्रत्येकचोटि पाँचदेखि १० रुपैयाँ तिरेर नागरिकताको फोटोकपी गर्नुपरेको छ । जन्मदर्ता, नागरिकता या पासपोर्ट बनाउन खुब सास्ती छ । कोभिडजस्ता महाव्याधि लाग्दा आफ्नो घर फर्किंदा बसपार्कदेखि, एयरपोर्टसम्मै दुःख छ । मरेर फर्किंदासमेत सुख छैन । प्रत्येक पाइलामा दुःख खेप्नुपर्ने किन ? मैले म नेपाली नागरिक भएको मूल्य कहिलेसम्म र कति चुकाउनुपर्ने हो ?
हामी नेपालमा जति मिहिनेत गर्छौं, त्यति अमेरिका, क्यानडा वा कतार–दुबईमै गर्ने हो भने अहिलेभन्दा दोब्बर–तेब्बर वा अझ बढी कमाउन सक्छौँ । एउटा सवारी चालकले नेपालभन्दा बाहिर गाडी चलाउँदा मान र दाम बढी कमाउन सक्छ । एउटा खेलाडीका निम्ति बाहिर बढी सम्भावना छ । एउटा शिक्षकले बाहिर पढाउँदा राजनीतिक दबाबविना थप सम्मानसहित पढाउन सक्छ । यही बिन्दुमा अब हामीले गम्भीर भएर सोच्ने वेला आएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटामा सेक्सपियरभन्दा कम प्रतिभा थिएन, तैपनि उनी किन खुम्चिए ? किन हाम्रा चार्ली च्याप्लिन या पेलेहरू गाउँघर र गल्लीहरूमा हराइरहेका छन् ? यसको नमिठो उत्तर हो, उनीहरूले नेपाली हुनुको मूल्य चुकाइरहेका छन् । यो उत्तर तितो छ । अप्रिय लाग्छ । उत्तरले मेरो र तपाईंको देशप्रेममाथि प्रश्न गरिरहेछ । तर, अब यो प्रश्न सामना गर्ने वेला आएको छ ।
लिपुलेक, लिम्पियाधुरा चाहिन्छ, तर त्यहाँका नेपालीको वास्ता छैन । नागरिकलाई रोजगारी दिनु छैन । सीमापारि पाँच रुपैयाँ सस्तो पर्छ भनेर सीमा पुलिसको हप्काइ खाइखाई सस्तो चिनी किन्न जाने नागरिकलाई राज्यको अनुभूति दिलाउनु छैन । बाहिर पढ्न जाँदै गरेको युवालाई पासपोर्टदेखि एयरपोर्टसम्म खेदेर राष्ट्रियता बच्छ ? नेपालीले कहिलेसम्म आफ्ना खुसी, चाहनालाई दबाएर नेपाली हुनुको मूल्य चुकाइरहने ?
देश कसको हो : मेरो हरेक दिन जुत्ता पालिस गरेर हिँड्ने बानी छैन । केही वर्षअघि एउटा महत्वपूर्ण मिटिङ भएको र केही समय बाँकी रहेकाले महाराजगन्जको फुटपाथमा आफ्नो कालो जुत्ता चम्काउन बसेँ । जुत्तामा पालिस लगाउँदै गर्दा महेन्द्रनारायण दाइसँग कुरा सुरु भयो । कुरा गर्दागर्दै मैले ‘दाइ तपाईंको घर कहाँ हो ? भनेर सोधेँ । एक्कासि उहाँले लगाइरहेको पालिस रोकेर खल्तीबाट नागरिकता निकालेर ‘राजविराज हो, म नेपाली हुँ’ भन्नुभयो । मैले केही बोल्ने आँट गर्न सकिनँ । ‘हैन, हैन दाइ पर्दैन भन्दै नागरिकता भएको हात समाएँ । मैले त्यो नियतले प्रश्न सोधेको थिइनँ । तर, उहाँको आँखामा छुट्टै आगो देखेँ । उहाँको आँखामा आत्मसम्मानको भोक थियो । त्यो नबुझ्ने राष्ट्रियताले कसलाई हित गरिरहेको छ ?
केही समयअघि सामाजिक सञ्जालमा जापानको एकजना विद्यार्थीका निम्ति मात्रै सरकारले उसको प्रारम्भिक शिक्षा नसकुन्जेल दिनहुँ रेल चलाएको घटना चर्चामा थियो । राज्यले यतिसम्म गरिसकेपछि त्यो बच्चालाई भविष्यमा आफ्नो देशका लागि के–के गर्ने ऊर्जा आउँदो हो ? यहीँनेर प्रश्न उब्जिन्छ, राज्यले नागरिकलाई आफ्नो नसम्झने हो भने नागरिकले राज्यको अपनत्व किन र कहिलेसम्म लेलान् ?
देश भनेको के हो : गायक प्रकाश सपुतको पिर गीतमा प्रश्न गरेजस्तै हामीले हामीलाई नै सोध्नुपर्ने एउटा महत्वपूर्ण प्रश्न वेलावेलामा उब्जने गर्छ– ‘देश भनेको के हो ?’ यो फेरि नयाँ बहस पनि होइन । हिजोका दिनमा देश भनेको भूगोल र राजा (सम्राट्) थियो । तर, आज त्यो छैन । आज देश भनेका नागरिक हुन् । नागरिकको सार्वभौमिकता, स्वतन्त्रता र स्वाभिमान नै देश हो । भोलिका दिनमा यो परिभाषा थप फराकिलो हुँदै जानेछ र भूगोलवाला देशको कन्सेप्ट नै हराउनेछ । क्यानडा, अमेरिका, कतार, दुबईले अबका देशको परिभाषालाई प्रतिबिम्बित गर्छन् । यी देशमा घर किनेर बस्न वा व्यापार गर्न कसैलाई समस्या छैन । विदेशी भनेर कसैलाई अपहेलित हुनु पनि परेको छैन । त्यहाँ त्यहाँकै मूल नागरिक थोरै र अन्य देशबाट आएका नागरिक बढी छन् । अमेरिका, बेलायतमा त विदेशी मूलबाट आएर त्यहाँका नागरिक बनेका नागरिक नै सत्तामा पुगिरहेका छन् ।
नागरिकले नाना, खाना र छाना पाएका छैनन् । पढ्न सकेका छैनन् । अस्पतालको बिल तिर्न नसकेर झुन्डिएर मर्नु परिरहेको छ भने त्यस्तो देशको राष्ट्रियता जसले जति टाउको फोरे पनि टिक्दैन ।
त्यसैले, अब देशको त्यो परम्परागत परिभाषा बदलिन जरुरी छ । देश भनेको आफ्नो नागरिकको जीवनको गुणात्मकता हो । नागरिकले नाना, खाना र छाना पाएका छैनन् । पढ्न सकेका छैनन् । अस्पतालको बिल तिर्न नसकेर झुन्डिएर मर्नुपरिरहेको छ भने त्यस्तो देशको राष्ट्रियता जसले जति टाउको फोरे पनि टिक्दैन । ‘देश डुब्न लाग्यो, देश बचाऔँ’ भनेर जुन अपिल नेताले गर्छन्, त्यो नै वाहियात हो । हिजो पञ्चायत र राजतन्त्रले पनि त्यही अपिल गरे । आज गणतन्त्रको खोल ओढेर कांग्रेस र कम्युनिस्टले पनि आफ्नो सत्ता बचाउन त्यही अपिल गर्दै छन् । यो त्यही राजनीति र त्यही भ्रम हो । आजको राष्ट्रियता नागरिकको जीवनसँग जोडिएको छ । नागरिकको जीवनस्तरसँग जोडिएको छ । व्यापारसँग जोडिएको छ । नागरिक धनी हुनु र खुसी हुनुसँग जोडिएको छ । ‘मेड इन चाइना’को स्टिकर कोरियामा बन्छ । ‘आई हेट चाइना’ लेखेको टिसर्ट आफैँ बनाएर चाइना इन्डियामा बेच्छ भने हामीले साँच्चै अब देश खोज्ने वेला आएको छ । सबैभन्दा माथि देश भनेर नागरिकलाई विभेद गर्ने अनि एउटा व्यक्तिलाई पुज्ने व्यवस्थाको वकालत गर्नु भनेको त्यही १८औँ शताब्दीको राजनीतिको ‘डेल्टा भेरियन्ट’ हो ।
को बढी राष्ट्रवादी ? : प्रिय पाठकहरू, आज सीधा–सीधा एउटा बहस गरौँ, के राष्ट्रियता भनेको एउटा व्यक्ति (राजा) लाई स्थापित गर्नु र भारतलाई गाली गर्नु हो ? नागरिकको आधारभूत आवश्यकताको जिम्मेवारीबाट पन्छेर भूगोलका लागि लड्नु हो ? कि अर्को देशको डर देखाएर आफ्नै नागरिकलाई अनागरिक बनाउनु हो ? मेरा लागि राष्ट्रियता भनेको तीन करोड नेपालीलाई रोजगारी उपलब्ध गराउनु हो । शिक्षा र स्वास्थ्यको दायित्व राज्यले लिनु हो । जब सरकार प्रत्येक नेपालीको सेवक बन्छ, तब राष्ट्रियता बलियो हुन्छ । प्रत्येक नागरिकलाई धनी र खुसी बनाउन राज्य लागिपर्छ, तब राष्ट्रियता बलियो बन्छ । किनकि, जब नागरिक बलिया बन्छन्, जब नागरिकले राज्यले मलाई हेरेको छ भन्ने प्रत्याभूति गर्छन्, तब मात्र राष्ट्रियता बलियो हुन्छ ।
हिजोका दिनमा राष्ट्रियता एउटा भाषा, एउटा भेष, एउटा भूषामा अडिएको थियो होला । आज समय बदलिएको छ । नागरिकहरू आफ्नो आत्मसम्मानका निम्ति सचेत छन् । त्यसैले आजको राष्ट्रियता विविधता हो । विविधताको स्वीकारोक्ति नै आजको राष्ट्रियताको परिभाषा हो । सबै भाषा, संस्कृति, सम्पदालाई अंगाल्नु, त्यसमा गर्व गर्नु, त्यही विविधतालाई पहिचान बनाएर संसारमा चिनाउनु, सबैको अस्तित्व र आत्मसम्मानको रक्षा गर्नु नै राष्ट्रियता हो ।
एकदिन म एउटा भोजमा वैकल्पिक राजनीतिले बोकेका मुद्दाबारे बताउँदै थिएँ । अब संविधान बचाउँदै कसरी ‘डेलिभरी’को राजनीति गर्नुपर्छ भनेर साथीहरूसँग कुराकानी गर्दै थिएँ, त्यतिवेला एकजना कांग्रेस नेताले हाम्रो कुरा सुनेर भने– ‘तपाईंहरूको सबै कुरा ठिक छ, तर राष्ट्रियतामा चाहिँ अलिकति पुगेन ।’ सँगै उभिएका सांसद रमेश पौड्यालले प्रश्न गरे, ‘के पुगेन सर ?’ उनले हाँस्दै उत्तर दिए– ‘त्यही के !’ अर्थात् राजा । केही व्यक्तिका लागि अहिले पनि राष्ट्रियता भनेको एउटा व्यक्ति वा भारतलाई गाली गर्नु हो । यो सोच बदलिन जरुरी छ । नागरिकलाई बलियो बनाउने, आर्थिक रूपमा अगाडि बढ्ने नीति लिनेबारे कुरा गर्दा नयाँ पुस्तालाई लाग्ने आरोप भनेको ‘राष्ट्रियतामा अलिकति पुगेन’ भन्ने नै हो ।’
व्यक्तिगत कुरा गर्नुपर्दा, मैले बाहिर पढ्न जाने अवसर हुँदाहुँदै पनि देशमै केही गर्छु भनेर देशमै पढेँ, काम गरेँ । ‘बिग्रे आफू बिग्रिन्छु, सप्रे सारा देश सपार्छु, बुबा म राजनीति गर्छु’ भनेर नेपालमा सुसंस्कृत राजनीतिको सुरुवात गर्न भूमिका निर्वाह गरेँ, गर्दै पनि छु । कुनै दिन देशको सबैभन्दा ठूलो देशभक्त को हो भन्ने प्रतिस्पर्धा भएछ भने मलगायत मेरा पुस्ताका युवा साथी पनि त्यसमा उत्रिन चाहन्छौँ । हामीलाई पूरा विश्वास छ, त्यसमा हामी हार्नेछैनौँ । बरु, हामी राष्ट्रियताको परिभाषा बदलिदिनेछौँ ।
नागरिकको शिक्षा–स्वास्थ्य, रोजगारी, आत्मसम्मानको वास्ता गर्नु नपर्ने, जिम्मा लिनु नपर्ने, खाली ‘राष्ट्रवाद राष्ट्रवाद’ भन्दै देश डुब्न लाग्यो, म सत्तामा पुगेँ भने देश बच्छ भनेर राजनीति गर्ने पुरानो तरिका अब फेरिनुपर्छ । लेखको सुरुवातमै भनिएको अमेरिकाबाट नेपाल फर्केको भाइको बिहेमा त्यही देश नफर्किन सल्लाह दिने भाइसँग भेट भयो । उनले अलिकति पिएका पनि रहेछन् । हामी एउटै टेबलमा बसेर खाँदै थियौँ । हल्का लठ्ठिएको आँखा, गलामा अड्किएको आवाज र केही विरक्तिएको भावमा उनले भने, ‘दाइ, मलाई जसरी पनि यो देश छोड्नु छ ।’ मैले उनको अनुहारमा हेरिरहेँ । ती भाइलाई (भाइहरूलाई) नेपालमा रोक्न नसक्ने राष्ट्रवाद ढोङ हो, राष्ट्रियता होइन ।