ओत लागेर बसेका आमाछोरीको पहिरोले पुरिएर मृत्यु

आइतबार, १२ भदौ, २०७९
डिजिटल संस्करण

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका– १४ को पीपलचौरस्थित छेपारे सामुदायिक वन समूहको भवनमा ओत लागेर बसेका जाजरकोट भेरी नगरपालिका– १ मैदेका आमाछोरीलाई आइतबार दिउँसो पहिरोले पुरेको थियो ।

दिउँसो साढे ३ बजेतिर पहिरोमा पुरिएर अन्दाजी ३० वर्षीया आमा बालमती राना र उनकी दुई वर्षीया छोरी प्रतीक्षाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । पहिरोमा पुरिएर बालमतीकी अर्की सात वर्षीया छोरी तिर्सना भने घाइते भएकी छिन् । तीनैजनालाई प्रहरीले साढे ४ बजेतिर जीवितै उद्धार गरेको थियो । 

उद्धार गर्दा तिर्सना बोल्न सक्ने अवस्था भए पनि बालमती र प्रतीक्षा भने अचेत रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । तीनैजनालाई उपचारका लागि जाजरकोट जिल्ला अस्पताल पठाइएको थियो । 

दुवै आमाछोरीको जाजरकोट अस्पतालमै मृत्यु भएको जानकारी आएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । बालमती दुई छोरीसहित जाजरकोटकै नलगाड नगरपालिका– १ मा रहेको माइती घरबाट भेरी नगरपालिका– १ मैदे घरतर्फ आइरहेकी थिइन् । भारी वर्षा भएपछि तीन आमाछोरी सामुदायिक वनको भवनमा ओत लागेका थिए ।
 

सुझावित समाचार