नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालू आर्थिक वर्ष ०७९/८० भित्र नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुने दाबी गरेका छन्। आइतबार ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन्।
उनले चालू आर्थिक वर्षमा भारतबाट आयात हुनेभन्दा भारतमा निर्यात हुने बिजुलीको मात्रा बढी हुने बताए। घिसिङले पछिल्लो ८५ दिनमा भारतमा विद्युत् निर्यात गरेर ६ अर्ब रुपैयाँ आम्दानी गरेको बताए। कात्तिकसम्म नै भारतमा बिजुली निर्यात गर्न सकिनेसमेत उनको भनाइ छ।
‘चालू आर्थिक वर्षमा नै हामी ‘नेट एक्सपोर्टर’ हुन्छौँ। अहिले हामीले जुन ट्रनमा निर्यात गरिरहेका छौँ। यो वर्ष हामी भारतबाट जति बिजुली ल्याउँछौँ, त्योभन्दा बढी बिजुली भारतमा निर्यात गर्नेछौँ। कात्तिकसम्म नै भारतमा बिजुली निर्यात गर्छौँ,’ उनले भने, ‘आगामी जेठ असारमा पनि ठूलो मात्रामा बिजुली भारत निर्यात गर्छौँ। सुक्खायाममा विद्युत् आयात गर्नुपर्ने होला। अहिले हाम्रो विद्युत् खपत २५ प्रतिशतले बढेको छ। अब अर्को वर्ष पनि २५ प्रतिशतले विद्युत् खपत बढ्छ।’