युवालाई आर्थिक विकासमा कसरी जोड्ने ?

उत्पादनमा युवालाई लगाउन सके नेपालजस्तो सानो देशले आर्थिक तरक्की गर्न धेरै समय पर्खनुपर्दैन

बुधबार, ८ भदौ, २०७९
डिजिटल संस्करण

जनसंख्या र आर्थिक वृद्धिबीच सम्बन्ध :
सामान्यतया जनसंख्या र आर्थिक वृद्धिबीच उल्टो सम्बन्ध हुने गर्छ । कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरले जनसंख्या वृद्धिदरलाई उछिन्दा आर्थिक वृद्धि हुन्छ । त्यसो त कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर पूर्ववत् रहे पनि जनसंख्या वृद्धिदर घट्दा सरदर आम्दानी बढ्छ । जसरी पनि देशमा जनसंख्या बढ्ने दरलाई कुल गार्हस्थ्य उत्पादन वृद्धिदरले उछिन्दा आर्थिक वृद्धि हुने गर्छ । अर्थात्, जनसंख्या वृद्धिदर घट्दा पनि आर्थिक वृद्धिदर बढ्छ । हाल धिमा गतिमा भए पनि नेपालमा आर्थिक वृद्धि निरन्तर भइरहेको छ । यसको पछाडिको एउटा रहस्य जनसंख्या वृद्धिदर घट्नु हो । दोस्रो कारण हो, घरदेशबाट परदेशतिरको बसाइँसराइ । 

मातृ–शिशुसम्बन्धी स्वास्थ्य सेवा विस्तार हुँदा शिशु मृत्युदर घट्छ भन्ने देखिएको छ । शिशु मृत्युदरमा कमी देखिँदा सन्तान कम जन्माउने प्रवृत्ति देखिन्छ । यसले जन्मदर घटाउँदा एकातिर बिस्तारै जनसंख्याको वृद्धिदर घट्छ भने अर्कोतिर जनसंख्याको वृद्धिदर घट्दा प्रतिव्यक्ति आयमा पनि वृद्धि हुन्छ । यस्तै जन्मदर घट्दा बालबालिकाको अनुपात घटाउँछ, जसले गर्दा घरमै बसीबसी खाने मुख घटाउँछ । त्यसले पालनपोषण खर्च घटाउने र घरपरिवारमा काम गर्ने मान्छेको बाहुल्यता बढाउँछ । यसरी हेर्दा कामकाजी उमेरका सबैले काम पाएमा यथास्थितिमा पनि घरपरिवारको उपभोगस्तर बढी जीवनस्तर उचाल्ने र केही समयपछि सानोतिनो भए पनि बचत गर्न सम्भव हुन सक्छ । त्यसमाथि उपलब्ध श्रमको उत्पादकत्वमा वृद्धि गर्न सकिएमा उत्पादन वृद्धिको मार्ग पनि खुल्छ । 

कुल जनसंख्यामा विभिन्न उमेर समूहको अनुपातमा आएको फेरबदलका आधारमा आर्थिक समृद्धितिर समाजलाई डो¥याउन सकिने अवसर पनि आउँछ । कुल जनसंख्यामा युवाको बाहुल्यता भएको समयावधि एउटा देशको जीवनमा ५०–६० वर्षको हुन्छ । त्यसपछिको अवधि भनेको अहिलेका युवाहरू वृद्धावस्थामा प्रवेश गर्ने अवधि हो । केटाकेटीसरह नै अधिकांश वृद्धावृद्धा बसीखाने आश्रित समुदायमा पर्छन् । उमेर बढ्दै जाँदा उपचार खर्च पनि बढ्छ र सोहीअनुसार स्वास्थ्यकर्मी र अस्पतालको संख्या वृद्धि गर्नुपर्ने हुन्छ । यसले सरकारकै खर्च बढाउँछ । 

वृद्धभत्ता, पेन्सनजस्ता सामाजिक सुरक्षाभत्तामा बर्सेनि ठूलो धनराशि बजेटमा छुट्याउनुपर्दा राज्यले ठूलो व्ययभार बोक्नुपर्ने हुन्छ । यस्तै काम गर्ने युवाहरूको अभाव हुन्छ । यसरी एकातिर राज्यको व्ययभार बढ्ने, अर्कोतिर आर्थिक रूपले सक्रिय उमेर समूहको अनुपात घट्दा आर्थिक वृद्धिमा प्रतिकूल असर पर्ने सम्भावना रहन्छ । र, कुल जनसंख्यामा उमेरदार समूहको अनुपात अधिक भएको समयावधिभित्र नै देशले विकास गर्नुपर्ने बाध्यता रहन्छ । भोलिका दिनमा छिमकी देश भारत आजजस्तै विकासशील रहिरहने र त्यहाँबाट आप्रवासी कामदार आपूर्ति भइराख्छ भन्नु सही अनुमान हुँदैन । नेपाल अरब देशजस्तो विदेशी कामदारका लागि आकर्षक गन्तव्य पनि हँुदैन । त्यतिवेला विकास निर्माणको काम कहानीलाग्दो सपना मात्रै हुनेछ । 

जनसांख्यिकी लाभ के हो ? : काम गरे नै देश विकास हुन्छ । भाषण र गफले हुँदैन भन्ने देखियो, भोगियो र जानियो पनि । यदि यसरी विकास हँुदो हो त पञ्चायतकालदेखि आजसम्म नेपालले धेरै उन्नति गरिसक्ने थियो । विकासका लागि मुख होइन हात र यन्त्र चलाउनुपर्छ । यसमा जनसंख्याको तन्नेरी समूहले काम गर्न सक्छ । देशमा विकास निर्माण यही समूहले गर्ने हो । जनसांख्यिकी लाभ यिनै उमेर समूहको बल, बुद्धिबर्गतको उपयोग गरी विकास गर्नुलाई भनिन्छ । काम गर्न खोज्नेलाई अर्थतन्त्रमा काम उपलब्ध हुनुपर्छ, अनि मात्रै विकास हुन सक्छ । इतिहासले विकसित देशको आर्थिक विकास यस्तै देखाउँछ । 

काम दिने वा काम गर्ने वातावरण बनाउने
जिम्मा राज्यको हो । विकास पूर्वाधारको निर्माण र उपयुक्त आर्थिक नीतिमार्फत लगानी र श्रम गर्नेलाई उत्साहित गर्ने पनि राज्यले नै हो । १५ देखि ६५ सम्मको उमेर समूहलाई कामकाजी वा आर्थिकरूपले सक्रिय हुन सक्ने जनशक्ति मानिन्छ । नेपालमा २०७८ को जनगणनाअनुसार यस उमेर समूहको अनुपात ६७ प्रतिशत रहेको अनुमान छ । त्यसमध्ये पनि ४० प्रतिशत युवा उमेर समूहका नै छन् । यसरी आर्थिक रूपले सक्रिय हुन सक्ने उमेर समूहको जनसंख्याको अनुपात अधिक हुनुलाई जनसांख्यिकी लाभ उपलब्ध भएको भनिन्छ । यस्तो लाभको उपयोग गरी नेपाल विकास गर्ने सम्भावना भएको मुलुकमध्ये पर्छ । 

नेपालमा दस वर्षअघि जनसंख्याको वृद्धिदर १.३५ प्रतिशत रहेकामा विसं. ०७८ मा यो दर घटेर ०.९३ प्रतिशतमा झर्यो । ०४६/४७ मा ५५ वर्षसम्म रहेको सरदर आयु अब ७१ वर्ष पुगेको अनुमान छ । जनसंख्यामा वृद्धिदरको कमी र औसत आयुको वृद्धि मात्रैलाई नियाल्ने हो भने पनि नेपाल छिटै नै वृद्धहरूको बाहुल्यता भएको देशको समूहमा प्रवेश गर्ने देखिएको छ । अनुत्पादक उमेर समूहको जनसंख्याको अनुपात बढी भएमा परिवार तथा राज्यलाई अधिक आर्थिक भार वहन गर्नुपर्ने स्थिति आउँछ । आर्थिक रूपले सक्रिय हुन सक्ने उमेर समूहलाई पनि उत्पादनमूलक कामधन्धामा लगाउन नसक्दा समाजमा विविध किसिमका समस्या देखा पर्न सक्छन् । यिनै युवालाई उत्पादनमा लगाउन सके नेपालजस्तो सानो देशले आर्थिक तरक्की गर्न धेरै समय पर्खनु पर्दैन । मूलतः जनसंख्या विकासको सक्रिय साधन मात्रै नभएर विकासको उपभोक्ता पनि हो । विकास भनेको मानिसले समाजका लागि गर्ने समष्टिगत कर्म हो । 

जनसांख्यिकी लाभको मापन : नेपालमा बेरोजगार र अर्धबेरोजगारको संख्या बढी भएकाले जनसांख्यिकी लाभको उपयोग भएको देखिँदैन । यसको उपयोगलाई मापन गर्ने महत्वपूर्ण समष्टिगत परिसूचक कुल गार्हस्थ्य बचतमा पनि वृद्धि भएको पाइँदैन । आर्थिक रूपले सक्रिय हुन सक्ने उमेर समूहको अनुपात ६७ प्रतिशत बढेको देखिँदासमेत कुल गार्हस्थ्य बचत १० प्रतिशतवरिपरि घुमिराखेको छ । यसले पनि युवा जनशक्तिलाई उत्पादनमा उपयोग गर्न राज्यले सकेको छैन भन्ने देखिएको छ ।त्यसो त वैदेशिक रोजगारीमा जान लागेको बेरोजगार युवाको भीडले नै यसको पुष्टि गर्छ । जीवनस्तर निर्वाह सर्वेक्षणले देखाएअनुसार गरिबी निवारणमा विप्रेषणको भूमिका देखिएको छ । तर, पनि वैदेशिक रोजगारी जनसांख्यिकी लाभलाई विकासमा अनुवाद गर्ने सही मार्ग कदापि हुन सक्दैन । त्यसमाथि विप्रेषण आय उपभोगको तहबाट उकालो लागेको देखिँदैन । महँगी, शिक्षा र स्वास्थ्यमा हुने खर्चका कारणसानो परिवारमा पनि बचत कमजोर रह्यो । अर्कोतिर कामको अभावले बेरोजगार हुनेको संख्या पनि यस आँकडाले चित्रित गर्छ । रोजगारीको अवसरको अभावमा जनसांख्यिकी लाभलाई समात्न सम्भव हुँदैन भन्ने कुरा यसले पनि देखाउँछ । 

जनसांख्यिकी लाभ र वैदेशिक रोजगारी :  विकासका कर्णधार भनेका यिनै काम गर्न सक्ने उमेर समूहका मानिस हुन् । यिनको उत्पादनशीलता उपयोग नहुनु भनेको युवा बेरोजगार हुनु त हो नै, देशले विकासको सुनौलो अवसर गुमाउनु पनि हो । स्वदेशमा काम नपाएर परदेश हेलिनुपर्ने बाध्यता राज्यबाट नै सिर्जित हुनु समग्र युवासहित देश–समाजका लागि पनि घाटा र लज्जाको विषय हो । यसरी स्वदेशको विकासमा अर्पित हुनुपर्ने जनसांख्यिकी लाभ वैदेशिक रोजगारीमा जानुपर्ने स्थिति देशका नीतिनिर्माताका निम्ति चिन्ताको विषय हुनुपर्छ । विप्रेषण देशको वैदेशिक विनिमयको स्रोत मात्रै नभएर अर्थतन्त्रको जीवनमरण हुनु असंगत स्थिति हो । जनसांख्यिकी लाभको फाइदा देशले प्राप्त गर्न वैदेशिक रोजगारी पूर्णरूपमा एकैपटक रोक्न नसकिए पनि यसमा क्रमशः देशभित्रै स्वरोजगार उत्पादन वा रोजगारीमा फर्काउने दिशामा काम हुनुपर्छ । 

जनसांख्यिकी लाभ लिन के गर्ने ? : कुल जनसंख्यामा युवा समूहको बढ्दो अनुपात देशको विकासका लागि वरदान मानिए पनि ठूलो संख्या हुँदैमा स्वचालित रूपमा आर्थिक विकास भने हुँदैन । आर्थिक विकास भनेको देशमा उपलब्ध साधन–स्रोतको सदुपयोग गरेर गर्ने हो, बाह्य पुँजी र प्रविधिको सहायक भूमिका मात्रै रहने हो । नेपालमा सबैभन्दा प्रचुर, सस्तो र सहज उपलब्ध विकासको साधन भनेको युवा उमेरको जनसंख्या नै हो । यसैको बढीभन्दा बढी उपयोग गर्ने नीति लिन सके मात्रै आर्थिक विकासले सही दिशा र गति लिन्छ । अनि कृषि, पर्यटन र जलस्रोत क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर देशको आर्थिक विकास गर्न सकिन्छ ।

 श्रमको उत्पादकत्वमा उत्पादन तथा आयाम वृद्धि गर्न सकिन्छ भने कतिपय स्थितिमा श्रमलाई रोजगारीअनुकूल बनाएर काममा लगाउन सकिन्छ । हिजोआज उत्पादनमा श्रम, पुँजी र प्रविधिबीचको सन्तुलित प्रयोगले युवाका लागि व्यापक रोजगारी सिर्जना गरेको देखिएको छ । सर्वसुलभ गुणस्तरीय शिक्षा, स्वास्थ्य, तालिम आदिको विस्तारबाट राज्यले भविष्यमा श्रमको उत्पादकत्वमा अनुकूल प्रभाव पार्न सक्छ र रोजगारी सिर्जना गर्छ । व्यावसायिक शिक्षा तथा तालिममार्फत श्रमलाई उत्पादन कार्यसँग जोड्दा रोजगारीको अवसर सिर्जनामा सहयोग पुग्ने देखिन्छ । राज्य र निजी क्षेत्रले समाजमा रोजगारीका अवसर सिर्जना नगरेसम्म जनसांख्यिकी लाभले सार्थक रूप लिन सक्दैन । 

जनसांख्यिकी लाभ गुम्ने खतरा ः नेपालले विकासका लागि जनसांख्यिकी लाभ लिन ढिलो भइसकेको छ । अब पनि यसमा ढिलासुस्ती गरेर राष्ट्रको जीवनमा आएको यो सुखद अवसरलाई विकासमा रूपान्तरण गर्नबाट चुक्ने हो भने भावी पुस्ताले धिक्कार्ने छ । जहाँका नेताहरू काम गर्न चाहन्नन्, भाषणमा व्यस्त हुन्छन् र कार्यकर्ता पनि उनैको गुणगान गाउँछन्, स्वार्थका गठजोडमा सरकार बन्ने र भत्कने गर्छन्, त्यहाँँ राष्ट्रको जीवनमा आएका पटक–पटकका विकास अवसरबाट लाभ लिनबाट चुकेको अर्काकै उन्नति, प्रगति र सम्पन्नताका लागि आफ्नो स्रोत साधन र जनसांख्यिकी लाभ उपयोग भएको तेस्रो विश्वका कतिपय देशमा देखिएको छ । नेपाल पनि यसभन्दा फरक देखिँदैन । 

हाम्रा नीतिनिर्मातामा जनसांख्यिकी लाभले देशको आर्थिक वृद्धि गर्ने अवसरबारेमा कतै भ्रम त छैन भनेजस्तो पनि देखिन्छ । यसो हो भने यो भ्रमको शीघ्रातिशीघ्र निवारण हुनु आवश्यक छ । दल र तिनका नेताले बुझ्नुपर्छ– अब युवालाई काम गर्ने र सीप सिकाउने हो । गफ सुन्ने, ताली ठोक्नेहरूको समूह बनाउने होइन । युवा समूहका जाँगरिला दक्ष, अर्धदक्ष र अदक्ष श्रमको विकास निर्माणमा खाँचो पर्छ, त्यसको तयारी विद्यालय तहबाट नै गरिनुपर्छ । 

(पौड्याल अर्थशास्त्री हुन्)

सुझावित समाचार