बोर्नियो कप तेक्वान्दोमा उत्कृष्ट पारस

मंगलबार, ७ भदौ, २०७९
डिजिटल संस्करण

मलेसियामा आयोजित सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा पारस भण्डारीले उत्कृष्टको उपाधि पाएका छन् । ग्योरोगीमा कांस्य पदक जितेका पारस च्याम्पियनसिपका उत्कृष्ट खेलाडी घोषित भएका हुन् । च्याम्पियनसिपको अन्तिम दिन सुप्रिमा बजगाईंले स्वर्ण पदक जितेकी छन् । उनले ग्योरोगीको महिला ४२ केजीमुनिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । 

यसैगरी, महिला ५९ केजी तौल समूहमा सुभांगी श्रेष्ठले कांस्य पदक जितिन् । सिनियर ग्योरोगीतर्फ नेपालले दोस्रो स्थान हात पारेको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य बब्लु सिवाकोटीले जानकारी दिए । च्याम्पियनसिपमा ग्योरोगीतर्फ नेपालले तीन स्वर्ण, तीन रजत र सात कांस्य पदक जितेको थियो ।

यसअघि नेपालका अभिषेक बराल र आशुतोष बरालले स्वर्ण जितेका थिए । अभिषेकले पुरुष ८० केजी र आशुतोषले पुरुषकै ८७ केजीमाथिको तौल समूहमा स्वर्ण पदक जितेका थिए । 

यसैगरी, पुजन खड्का, सुरज कार्की र अबास खानले रजत तथा पूजा कुँवर, अभिषेक डल्लाकोटी, श्रीचन्द्र कार्की, अफ्ताब खान र ज्वालासिंह गुरुङले कांस्य पदक जितेका थिए ।

पुम्सेको प्रतिस्पर्धामा नेपालले एक स्वर्ण र तीन रजत पदक जितेको थियो । नेपालकी रेखमाया गुरुङले महिला ३० देखि ४० वर्ष उमेर समूहमा स्वर्ण पदक जितेकी थिइन् ।

यसैगरी, महिलाकै १८ देखि ३० वर्षको समूहमा सन्दीपा अमगाईं, यही समूहको पुरुषमा मोहमद उमर खान र ४० देखि ५० वर्ष उमेर समूहमा रोशन खानले रजत पदक जितेका थिए । नेपाली खेलाडीले अब भियतनाममा हुने ११औँ एसियन जुनियर तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । जुनियर तेक्वान्दो च्याम्पियनसिप अगस्ट २५ देखि २७ तारिखसम्म आयोजना हुँदै छ ।

See More On

सुझावित समाचार