फकिरजस्तो जीवन

सोमबार, ६ भदौ, २०७९
डिजिटल संस्करण

नातागोतामा पर्ने थुप्रै जोगी थिए । काका पर्ने रन्दीप गिरि, मामा पर्ने मणिराम गिरि यिनमा खास थिए । कारण ? ‘यिनले सुनाउने कथा गज्जब हुन्थे र जीवनशैली पनि आकर्षक लाग्थ्यो ।’ उनीहरूका संगतमा आएका कुनै जोगीले त ईश्वर देखाउने दाबासमेत गर्थे । गाउँमा मन्दिर थियो, जसले जोगीलाई तान्थ्यो । मन्दिरमा प्रदीप गिरि स्वास्थानीको कथा सुन्थे र गोमा बाम्हणीको दु:खको अध्यायमा हरेक वर्षजस्तो नियमित रुन्थे । 

रामलीला, अभिमन्यु, सत्यहरिश्चन्द्रका नाटकको अहिले पनि सम्झना छ । नाटक र धार्मिक कथाले कलिलो मनमै भरिदिएको करुण अहिले पनि कहिलेकाहीँ फिल्म हेर्दा छल्किन्छ ।‘के–कति कारणले हो कुन्नि, जोगीहरूप्रति मेरो ठूलो आकर्षण थियो,’ तर्क र विचारका लागि प्रख्यात नेतासँग आफ्नो  त्यस्तो स्वभावका विषयमा कुनै तर्क ‘मौज्दात’मा छैन । गाउँमा आएको कुनै एउटा कच्चा ज्योतिषले उनकी आमालाई ‘यो बच्चा जोगी हुन्छ’ भनिदियो । तर, आमाको आँखाबाट आँसु झरेनन् । उनलाई दुख्ने त सवालै थिएन । 

ज्योतिषको भविष्यवाणी अहिलेसम्मका लागि झुटै छ । उनी भारतका सबै ठूला आश्रम पुगेका छन्, चाहे त्यो पोनडी चरीको अरविन्द आश्रम होस्, कन्याकुमारीको विवेकान्द आश्रम होस् या मुंगेरको योगपीठ । बनारस जाँदा उनी सारनाथ नपुगी फर्कन्नन् । तैपनि, जोगीको के कुराले लोभ्याउँछ थाहा छैन । ‘अवचेतन मनको गाँठो हुनुपर्छ । तर, मलाई धर्म र अध्यात्मले जीवनलाई सतत् सम्बोधन गरेजस्तो लाग्छ । जीवन, मृत्यु र प्रेमजस्ता प्रश्नसँग साक्षात्कार नगरेको मान्छेको जीवन अर्थपूर्ण हुन्न । मेरो आकुलता र आकर्षण यस्तै प्रश्नहरूमा छ,’ उनी भन्छन्, ‘मैले सधैँ जीवनलाई एक जिज्ञासु वा प्रश्नकर्ताका दृष्टिबाट हेरेको छु ।’

पहिलोपटक जेल परेर निस्किएपछि १९७० को अन्त्यतिर परिवारले उनका लागि एउटा योजना बनायो– अमेरिका पठाउने । कान्छा काका जयनारायणले चाँजोपाँचो मिलाए । उनी अमेरिका जाने भए । बिदावारी हुन आफ्ना नेता बिपी कोइराला भेट्न बनारस पुगे । तर, बनारसको हावाले के जादु गर्यो, गंगामा उनको डुंगा तल होइन, माथितिर बग्न थाल्यो । बिपीले उपहास गर्दै भन्नुभयो– साना मान्छे जान्छन् अमेरिका, कमाउन, खान र ठूला डिग्री लिन । यो सानो चिज हो । त्यसपछि उनी अमेरिका गएनन्, न आजसम्म अमेरिका उनलाई खोज्दै आएको छ । 

उनको डुंगा गंगाको शिरतिर झन् वेगले हिँड्न थाल्यो, अमेरिकी सपनाको डुंगा झन् तलतल सुल्किँदै गयो । ‘बिपीले मलाई लगाएको यो सबैभन्दा ठूलो गुन हो,’ आजका मितिसम्म उनी यसो भन्छन् । किन ? अमेरिका गएको भए प्रदीप गिरिलाई के घाटा हुन्थ्यो ? उत्तर स्पष्ट छ – अमेरिका गएको भए म सबथोक बन्थेँ, मानिस बन्ने थिइनँ ।आजका दिनमा देश, समाज, पार्टी हेरेर उनी निराश छैनन् । ‘नजानिँदो गरी कुण्ठित हुन सक्छु, तर सचेत रूपमा सोच्दा मेरो तर्क र बुद्धिले जित्छ । इतिहास यसरी नै हिँड्छ । प्रदीप गिरिको के कुरा, बुद्धदेखि गान्धीसम्मले आफ्ना सारा सपना आफ्नै अघि भष्मीभूत भएको देखे । हामी आफ्नाे सीमित जीवन र हेराइका आधारमा इतिहास र समाज त परको कुरा, आफ्नै कामको समेत मूल्यांकन गर्न सक्देनौँ । त्यसभन्दा बढ्ता सोच्ने मेरो काम होइन,’ उनको यो प्रवचन कतै फगत आदर्श बचाउनको दर्शन मात्रै त होइन ? आदर्शका विषयमा अर्काे दर्शन यस्तो छ– ‘आदर्श भनेको रेखागणितको बिन्दुजस्तै हो, बिन्दुको अभावमा रेखागणित वा बीजगणित खडा हुँदैन, तर बिन्दुको ठोस अस्तित्व के हो त ? यो कुनै छाम्ने, तौलिने कुरा होइन ।’

प्रदीप गिरिको जीवन अहिलेसम्म कसरी बित्यो होला ? ‘मैले जिन्दगीलाई खास गम्भीरतापूर्वक लिएको छैन । मेरो जीवन मनमौजी किसिमको हो । जतिवेला पायो सुत्छु वा उठ्छु । तर, मेरा सार्थक वर्ष जेल र प्रवासमा बितेका छन् ।

उठ्ने कुनै नियमित समय छैन । धेरैजसो ८ को वरपर आँखा खुल्छन् । देशका चर्चित नेता र विचारक यति बिहानसम्म सुत्न सक्छन् ? बिहानै कार्यकर्ता र जिज्ञासुका प्रश्नको जुलुस घरभित्र छिर्दैन ? प्रदीप गिरिलाई यसको पर्वाह छैन । ‘म राति १२–१ भन्दाअघि सुत्नै सक्दिनँ, कहिलेकाहीँ त ३ पनि बज्छ,’ यो ढिलो उठ्नुको कारण हो । त्यसो त, अबेर सुत्ने बानी आज लागेको होइन । ‘सबै सहपाठी सुतेपछि लाल्टिन बालेर, एउटा होइन, दुईवटा लाल्टिन बालेर म पढिरहन्थेँ । हाइस्कुल पास नगर्दै रामायण, महाभारत र भागवत् पुराणको भाषानुवाद पढिसकेको थिएँ,’ उनी पुराना दिनमा फर्किए ।

सामान्यतः सुत्नुअघिको समय पढ्ने समय हुन्छ । प्रदीप गिरि राति पढ्छन् । तर, कुनै गम्भीर राजनीतिक किताब होइन । रातिको समय म साहित्य पढ्न, सिनेमा हेर्न र संगीत सुन्न मन पराउँछु,’ पुरानो बानेश्वरको डेरामा उनले भने ।देशले मानेका यी पढैया अहिले के पढ्दै छन् त ? ‘म एकसाथ चार–पाँच किताब थाल्छु । पट्यार लागेको समयमा कुनै रोचक उपन्यास वा जीवनी पढ्छु ।’ यो उनको पढ्ने बानी हो । पहिल्यै पढिसकेको ‘अन्ना करेनिना’ उनी अहिले फेरि पल्टाउँदै छन् । बितेका केही महिनामा उनले गन विद द विन्ड’ फेरि पढे ।’ यसको अन्त्य रहस्यमय छ, पुस्तकको अन्त्य नै भएको छैन भने हुन्छ । लामो समयको तानातानीपछि बिहे गर्न पुगेका रेड बटलर र स्कार्लेटलाई अन्त्यमा फेरि छुट्याएको देखाउँछ,’ उनले पुस्तकको एकसरो समीक्षा नै सुनाए । उनी राजनीतिका काम नलाग्ने भनिएका पुस्तक पनि मनग्गे पढ्छन् । जसमा ज्यादातर मृत्यु, अहंकार, प्रेम र सेक्सबारेका पुस्तक छन् ।’

सेक्सका बारेमा प्रशस्त पढेको छु । विलियम रेखले सुरु गरेको महिलाको चरमोत्कर्षसम्बन्धी विवाददेखि जोन्सन एन्ड मास्टर्सको जारु समाधानसमेतबाट म प्रभावित छु,’ उनी बताउँदै छन्, ‘कामशास्त्रसम्बन्धी सस्ता राम्रा सबै किताब पढेको छु, यसमा नेपाली पुस्तक पनि छन् र नेपाली पुस्तकमा स्तरीयता नभएको गुनासो पनि साथै छ ।’पछिल्लो समयमा उनले पढेका राजनीतिक पुस्तकमा चिनियाँ कान्तिका विषयमा लेखिएका र पछिल्ला दुई वर्षमा छापिएका ‘अननोन माओ’देखि ‘लङ मार्च’सम्मका छन् । उनलाई चीनको कम्युनिस्ट क्रान्तिलाई अझ गहिरिएर पढ्नुपर्छ भन्ने लाग्छ । यसमा च्याङ चिङको जीवनी, सांस्कृतिक क्रान्तिका विषयमा केन्द्रित भएर लेखिएका ग्रन्थहरू छन्, जो अहिले उनी हेर्दै छन् । पहिले चीनी क्रान्तिलाई एडगर स्नोको ‘रेडस्टार ओभर चाइना’बाट बुझेको हुँ । अहिले सांस्कृतिक क्रान्तिका पक्ष र विपक्षमा रहेका पुस्तक जम्मा गरेको छु । भारत–पाक विभाजनका विषयमा लेखिएका पुस्तकको पनि संकलन गरेको यी विचारक सुनाउँछन् ।

उनी किताबको विषय र प्रकार छुट्याएर पढ्दैनन् । हिन्दीका सस्ता उपन्यासदेखि प्रेम र काम विषयक पुस्तक पनि उनी पढ्छन् । ‘कतिपटक म समसामयिक विद्यार्थी र युवाले के पढ्दा रहेछन् भन्ने जान्न उनीहरूले पढ्ने गरेका कथा, कविता, कमिक्स पनि पढ्छु,’ किताबबाट समाज बुझ्ने यो उनको एउटा तरिका हो । कमिक्ससमेत पढ्ने यी नेताका फेबरेट हिरो ‘एस्टरिक्स’ र ‘टिनटिन’ हुन् ।

उनको निजी संकलनमा अहिले धेरै किताब छैनन् । ‘म केहीबाहेक धेरै पुस्तक पढिसकेपछि बाँडिदिन्छु, यसैले मेरो त्यति ठूलो संकलन बन्न सकेको छैन,’ उनी भन्छन् । तैपनि, दुई–तीन हजारभन्दा बढी किताब उनको डेरामा छन् ।उनी वेलाबखत दिल्ली गइरहन्छन् । दिल्लीमा उनको फेबरेट ‘डेस्टिनेसन’ हो दरियागन्जको आइतबारे किताब हाट । म सकेसम्म सस्ता किताब खोज्छु,’ कारण यस्तो छ, ‘नेपाली राजनीतिको ‘बाहिरी केन्द्र’ दिल्ली पुगेको कुनै नेता ‘सेकेन्ड ह्यान्ड किताब बजारमा घन्टौँ घोरिएला बस्ला भनेर तपाईं पत्याउनुहुन्छ । म राजनीतिक कामले जान्छु भन्ने काठमाडौंतिर हल्ला छ । त्यो रहिरहोस् ।’ यी–यस्तै कारणले प्रदीप गिरिलाई विशिष्ट बनाउँछ । उनी दिल्लीमा नेहरू म्युजियम र जवाहरलाल विश्वविद्यालयको पुस्तकालयका पनि ग्राहक हुन् । ‘त्यहाँ राम्रा किताब र सस्तो फोटोकपी एकसाथ पाइन्छ,’ उनले भने ।

पुरानो बानेश्वरमा उनी बसेको घर उनको आफ्नो होइन । नवलपरासीतिरका एकजना उदार सज्जन गुणनिधि तिवारीले उनलाई बाँचुन्जेल बसे हुन्छ भनेर निकै सस्तो भाडामा दिएका हुन् । कति छन् भने कहिलेकाहीँ वर्ष दिनसम्म पनि भाडा माग्दैनन्,’ उनले घरबेटीको प्रशंसा गरे ।यसअघि अन्तरिम सांसद् बन्दा समाजका लागि केही गर्न सकिन्छ भन्ने लोभका अलावा उनको अर्को लोभ पनि थियो निश्चित आम्दानीको ग्यारेन्टी । अर्थको मामलामा उनी प्रस्ट छन् । भन्छन्– ‘मलाई व्यापार र रोजगारीमा रहेका मित्रहरूले लामो समयदेखि नियमित सहयोग दिइ रहे । म एउटै व्यक्तिसँग धेरै पैसा लिन्नँ । पाँच–सातजनासँग महिनाको ५–१० हजार लिन्छु । उनीसँग मिलीजुली काम गर्ने पाँच–सातजनाको ‘ग्याङ’ छ । पहिले उनको मासिक खर्च १५–२० हजार थियो । तर, अहिले खर्च बढेर ५० देखि ७० पुगेको छ । ‘पहिले सन्तोष सिलवाल मसँगै बस्थ्यो र उसैले घरभाडा दिन्थ्यो । चामल–दाल गाउँतिरबाट पनि आउँथ्यो । अहिले यो दुवै करिब बन्द छ, यसैले खर्च बढेको छ ।’

इतिहासका महापुरुषमध्येतीन–चारजनामा गिरिलाई विशेष रुचि छ– लेनिन, गान्धी, मोहम्मद र गुरु गोविन्दसिंह । ‘गान्धी र लेनिनका निजी बानी–बेहोराबारे मात्रै पनि म दुई–तीन घन्टा लगाएर बताउन सक्छु,’ अध्ययनलाई आफ्नो रुचि मात्र नभएर व्यसन नै मान्ने उनले भने ।

उनी कांग्रेस नेता दीपकुमार उपाध्यायको घर त्रिपुरेश्वरमा ६–७ वर्ष सित्तैजस्तो बसे । त्यसपछि डा. ध्रुव शर्माकहाँ बसे दुई–तीन वर्ष । ‘त्यहाँचाहिँ बस्ने–खाने दुवै निःशुल्क थियो,’ उनले सुनाए । उनी भारतमा रहँदा वीरगन्जका हरिप्रसाद गिरी र सिराहाका पुष्कर गिरीले लुकिछिपी खर्च पठाउँथे । ‘मेरा बुबाले पनि बाँचुन्जेल खर्च दिन संकोच गर्नुभएन,’ आफ्ना लागि खेत बेचेका पिताको उनले स्मरण गरे ।

काठमाडौंमा घर नबनाएकामा अहिले उनलाई हल्का पछुतो छ । घर नभएका कारण किताब र दुर्लभ दस्ताबेज धेरैपटक हराएका छन् । ‘सूर्यप्रसाद उपाध्यायको ‘आत्मकथा’को मसँगको प्रति हरायो,’ यो घर नहुँदाको सबैभन्दा ठूलो पछुतो हो । एकपटक बनारसमा राष्ट्रिय कांग्रेसको पुरानो कार्यालय साफ गरेर रद्दीमा बेच्न पुर्याइएको नेपाली राष्ट्रिय कांग्रेसका दस्ताबेज उनले किनेका थिए । ‘समर्पित कम्युनिस्ट नेता बलराम उपाध्यायले रद्दीवालालाई मेरो ठेगाना दिनुभएको रहेछ,’ हराएका चिज प्राप्त गर्दाको कथा उनले स्मरण गरे ।अचेल उनलाई संस्थाका नाममा भए पनि एउटा घर बन्दोबस्त गरेको भए हुन्थ्यो भन्ने लागेको छ र यसका लागि उनी चाँजो मिलाउँदै पनि छन् । ओशो तपोवनभन्दा माथि जग्गा लिएर समाजवादी ढाँचाको आश्रम बनाउने विचारमा छन् उनी । यसका लागि एक रोपनी ६ आना जग्गा किनी पनि सके ।

जग्गा अहिले सन्तोष सिलवाल र उनको नाममा छ । आश्रमको नाम पनि उनको दिमागमा छ– समता केन्द्र वा यस्तै केही बाँकी किताब र दस्ताबेज त्यसै संस्थालाई बुझाउने विचार छ । सिद्धान्ततः उनी घरका विरोधी हुन् । ‘प्रारम्भिक वर्षमा मैले र भारती सिलवालले औपचारिक बिहे नगरे पनि अनेकौँ वर्ष पति–पत्नीजसरी बस्यौँ । त्यसवेला भारतीको काखमा वर्षको छोरो सन्तोष थियो । उसलाई नै मैले छोराका रूपमा स्वीकार गरेँ । झन्डै ६–७ वर्ष बडो रमाइलोसँग बित्यो,’ घरसँग जोडिएको परिवारको कुरा हो ।‘पछि भारतीको व्यक्तित्वको विकास हुँदै गएपछि मभित्र नै पुरुषोचित अहंकार पलायो वा उनको नारीवादी अभिमान कुन्नि हामीबीच कलह सुरु भयो,’ यो एउटा ‘परिवार’को विघटनको कथा हो । समाजका नजरमा पति–पत्नी भइसकेको यो जोडी छुट्टै बस्न थाले पनि मित्रता भने कायमै रह्यो ।

प्रदीप गिरि केवल काठमाडौंको भाडाको घरमा मात्रै बसेका छैनन् । वेलावेला उनी गाउँ फबिउँ फर्किरहन्छन् । ०४६ को सफल भएपछि उनी गाउँमा र गाउँमा खेती गरेर पनि बसे वर्ष । सिराहाको बस्तीपुरमा उजुरमा उनले वृक्षरोपण पनि गरे । त्यहाँ एउटा ठूलो आश्रम बनाउने विचारमाथि दिल बसेको थियो । हुन त उनको डेराको बसाइलाई समेत आश्रम भन्नेको कुनै अर्थ छैन । तर, उनकै हिसाबमा भने यो आश्रम होइन, किनभने आश्रमको जस्तो नियमावली र दिनचर्या यसमा छैन ।

भारतीसँग खटपट हुनुमा घरको कुरा पनि प्रमुख भएको उनलाई लाग्छ । ‘उनी बहादुर र महत्वाकांक्षी महिला हुन्, अहिले युएनडिपीमा जागिरे छिन् । अमेरिकामा बस्छिन्, काठमाडौंमा दुईवटा घर जोडिसकिन्,’ प्रगति विवरण दिएरै प्रदीपले उनको बहादुरी र महत्वाकांक्षालाई पुष्टि गर्ने प्रयास गरे । भारतीका दुई घरमध्ये एउटा घरमा छोरो सन्तोष बस्ने र अर्कोमा अमेरिकाबाट फर्केपछि भारती आफैँ बस्ने विचारमा रहेको उनलाई थाहा छ ।

उनलाई जीवनको एउटा मोडबाट घरले एक्लै पारिदियो । उनी किन घरविरोधी भए त ? ‘पहिले आस्थाका कारण घर बनाइनँ, अहिले पैसा नपुगेर,’ उनी अहिले घरविरोधी छैनन् । तर, उनीसँग परिवार पनि छैन । ‘छोरो सन्तोषले माया र आदर गर्छ, अप्ठेरो पर्दा उसैकहाँ शरणमा जानुपर्ला,’ बुढ्यौलीका विषयमा उनको कुनै गम्भीर तर्कना छैन । तर, अप्ठेरो नपर्ला, सकेसम्म उनी ‘शरणार्थी’ बन्ने मुडमा छैनन् । आखिर शरणार्थी हुन कसलाई पो मन होला र ?

देशका यी बौद्धिक र दार्शनिक नेताको ‘ट्र्याजिडी’ केमा पनि छ भने उनलाई भनेर छुट्याइएको पुख्यौली जग्गा अहिलेसम्म उनको नाममा आएको छैन । उनकी आमाले दिएको लाहानको एक कट्डा घडेरीचाहिँ उनकै नाममा छ । आश्रमका लागि ओशो तपोवनमाथि दुई महिनाअघि किनेको जग्गा पनि छोरो सन्तोषसँग संयुक्त नाममा छ । ‘यसमा पैसा उसको परेका नाम मेरो पनि छ,’ उनी भन्छन् । यसमा समस्या रहेनछ भने त्यहाँ अनाथालय बनाउन चाहन्छन् । तर, उनको पिताको आश्रम बनाउने जिद्दी छ । बस्तुपुरमा ७–८ बिघा जग्गा छ । जहाँ ठूलो आश्रम बनाउने ठूलो धोको छ । तर त्यो पनि उनको नाउँमा सरेको छैन । यसमा अंशबन्डाको झमेलाले भिलेन खेलिरहेको छ । 

प्रदीप गिरिलाई आफ्नो जीवनप्रति कुनै गुनासो छ कि छैन ? ‘मोटामोटी म जीवनप्रति सन्तुष्ट छु,’ उनले भने । र, सँगै भने, ‘यसो गर्नुस्, तपाईं लेख्नुस्– म अत्यन्त सन्तुष्ट छु ।’ आजसम्म आफ्नै मान्यतामा बाँचेको एउटा खुसी जीवन देखेर उनी आह्लादित हुन्छन् र भन्छन्, ‘दुबरा जन्म पाए पनि आजसम्म गर्दै आएका राम्रा–नराम्रा काम र मूर्खतासमेत दोहोर्याइरहनेछु । मेरा मूर्खताले पनि मलाई धेरै लाभ दिएको छ ।’ उनको कुरा सुन्दा लाग्छ उनको जीवनजस्तो पूर्ण कसैको जीवन छैन । गल्ती पनि सबै फलदायी गल्ती । के उनले रोजेर गल्ती गर्थे ?

विछोडमा पनि आनन्द
कुनैवेला यिनको मन पनि पिरोलियो । ‘प्रेममा विछोड हुँदा पागलै हुँलाजस्तो पनि भयो,’ आज पनि प्रेमीहरूलाई यस्तै हुन्छ होला । तर फर्केर हेर्दा उनी त्यस पीडालेपनि आफूले नैतिक र अझ बढ्ता आध्यात्मिक  सिँढी उक्लेको देख्छन् । राजनीतिमा पनि कुनै अवसर गुमेको पछुतोभन्दा बढी गुमेको अवसरको पछि थाहा पाइने उज्यालो पक्षले उनलाई आनन्दित बनाउँछ । ‘मानिसलाई जिन्दगीमा के कस्तो आपत्विपद् आइलाग्छ त्यो ठूलो कुरा होइन, मानिसले त्यसलाई कसरी ग्रहण गर्छ त्यो ठूलो कुरा हो,’ आफ्नो अतीत र वर्तमानलाई स्वीकार गर्न आफू तयार रहेको उनले बताए ।  

‘प्रेममा सफलता र असफलता दुवै हुँदो रहेनछ । तपाईंको काम मात्र प्रेम गर्ने हो, प्रतिदान वा प्रत्युत्तर खोज्नु तपाईंको मूर्खता हो,’ उनले कुनै दह्रो ‘वान साइडेड’ प्रेमीको जस्तो दर्शन सुरु गरे । अक्सर शारीरिक आकर्षणलाई प्रेम ठानिएको उनले भेटेका छन् । ‘कतिपटक प्रेम एकाकीपनलाई पराजित गर्ने एउटा अभ्यास हुन्छ । अन्य अनेकानेक भाव पनि प्रेमका रूपमा प्रकट भएर धोका दिन्छन् । गहिरिएर बुझ्ने हो भने प्रेम साँच्चै बुझ्नै नसकिने अनुभूतिको संज्ञा हो,’ दर्शनका पछाडि तर्क पनि जोडदार छ । उनी आफूलाई जबर्जस्त प्रेमी सम्झन्छन् । ‘तर मेरो प्रेमले प्रतिदानको अपेक्षा राख्दैन,’ अब यो उमेरमा त झन् के अपेक्षा होला र ! ‘प्रेम र यौनको गहिरो सम्बन्ध छ, तर ती एक–अर्काका पर्याय होइनन्,’ उनका हरेक वाक्य सूक्तिजस्ता लाग्छन् ।

जीवनमा कतिसँग प्रेम गरियो सितिमिती उनी भन्दैनन् । उनका रहस्यमयी प्रेम–प्रसंगहरू राजनीतिक मैदानमा अझै चर्चित छन् । तर, उनी आफैँ भने प्रेमिकाहरूका विषयमा भन्न चाहन्नन् । बरु, यो प्रसंगकै बिट मार्ने नियतले सुरुमै भन्छन्, ‘मैले मनपरी प्रेम गरिनँ, जति गरे गम्भीरताका साथ गरेँ । प्रतिदान नभए पनि पुग्ने रहेछ भन्ने आजको मेरो समझ हो । तर, मैले प्रेम गरेका पात्रहरूले प्रशस्त प्रतिदान पनि दिए । म ती सबैको ऋणी छु ।’ उनले प्रेमका विषयमा बताउन नचाहनुको कारण पनि खोले केही उदाहरणसहित । समाजमा बाहिर आएका प्रेम–प्रसंगले महिलालाई असजिलो पार्छ भन्ने तर्क झिके । ‘म भारती सिलवालबाहेक अरूको नाम लिन सक्दिनँ । म उनलाई आज पनि प्रेम गर्छु, यसैले उनको नाम लिन सक्छु,’ उनले भने । र, साथमा थपे, ‘प्रेम गर्नेहरू ईष्र्यालु हुन्छन्, उनका डरले पनि अरू नाम लिइहाल्न मिलेन ।

प्रेम के हो ? यो दुनियाँ यताको उता बनाउन सक्ने सवाल हो । तर, प्रदीप गिरिसँग यसको सहज उत्तर छ– प्रेम स्वभाव हो । मानिस प्रेमी हो वा होइन, यसको निर्णय उसको स्वभावले गर्छ भन्छन् । ‘प्रेममा परेको छ भन्ने सोच्ने अधिकांशलाई प्रेमको अर्थ थाहा हुन्न । उनीहरू त्यस घडीको आवेग वा आवेशलाई प्रेम सम्झने भूल गर्छन्,’ उनले फैसला सुनाएसरि बताए ।’ प्रेमका निम्ति प्रयास गर्नुपर्छ, त्यो स्वतः हुन्न, स्वतः हुने वासना हो, आकर्षण हो,’ दुनियाँका प्रेमीहरू हो ! यो गुरुमन्त्र टिपिराखे राम्रो होला है !’

‘प्रेममा सफलता र असफलता दुवै हुँदो रहेनछ । तपाईंको काम मात्र प्रेम गर्ने हो, प्रतिदान वा प्रत्युत्तर खोज्नु तपाईंको मूर्खता हो,’ गिरिले कुनै दह्रो ‘वान साइडेड’ प्रेमीको जस्तो दर्शन सुरु गरे । अक्सर शारीरिक आकर्षणलाई प्रेम ठानिएको उनले भेटेका छन् । ‘कतिपटक प्रेम एकाकीपनलाई पराजित गर्ने एउटा अभ्यास हुन्छ । अन्य अनेकानेक भाव पनि प्रेमका रूपमा प्रकट भएर धोका दिन्छन् । गहिरिएर बुझ्ने हो भने प्रेम साँच्चै बुझ्नै नसकिने अनुभूतिको संज्ञा हो,’ उनको निष्कर्ष छ ।

अहिलेका नयाँ प्रेमीहरूको ‘फास्टफुड’ प्रेम दैहिक आकर्षण मात्रै हो, प्रेम होइन भन्ने उनको धारणा छ । ‘सृष्टि प्रजननले नै चल्छ, प्रजननको खाँचोलाई प्रेम भन्नु नासमझ हो,’ उनले मानव–स्वभावको विश्लेषण गरे र यो दायराबाट आफूलाई पनि मुक्त गरेनन् । ‘किशोरावस्थामा मलाई पनि यस्तै भयो, तर त्यो प्रेम थिएन,’ आफ्नै मूल्यांकन गर्दा उनले आफ्नाप्रति पनि कुनै दयाको भाव देखाएनन् । किन ? ‘त्यो प्रेममा धैर्य थिएन, समझदारी र अभ्यास थिएन । त्यस्ता गुणका अभावमा प्रेम हुन्न,’ उनका हरेक जवाफमा तर्कको भण्डारसँगै हुन्छ । समाजले प्रेमका विषयमा मौन रहनुलाई उनी अनुदार विश्लेषण मान्दैनन्, बरु यसलाई आजको एक आवश्यकता मान्छन् । ‘आत्मपरिचय नभएको मानिसले प्रेम गर्छु भन्नु आत्मप्रवञ्चना हो,’ सबै प्रेमीले यो कसीमा आफूलाई तौलिने हो कि !

फिल्म र संगीतको संगतमा !
प्रदीप गिरिको बेडरुममा पुस्तकको मात्र चाङ छैन, कोठाको एक छेउमा म्युजिक प्लेयर छ र यकको एउटा तलाभरि फिल्म र संगीतका सिडी छन् । उनले सुन्ने संगीत अहिलेको पुस्ताका ‘म्युजिक लभर’का लागि कुनै प्राचीनकालको कथा लाग्न सक्छ । उनी भन्छन्– ‘संगीतको मामिलामा मेरो रुचि ज्यादा स्पष्ट र भन्डैझन्डै संकीर्ण छ । म भारतका शास्त्रीय संगीतकारमध्ये अमिर खाँ, मल्लिकार्जुन र भीमसेन जोशीबाहेक अरूलाई मन पराउँदिनँ ।’ अब यी नामले कस्तो संगीतको प्रतिनिधित्व गर्छन्, त्यो कसले खोजी गर्ला ? यीबाहेक पनि गिरि केही यस्तै ‘नचिनिने’ नामको उल्लेख गर्छन् । जस्तै, अलग शैली भएका कुमार गन्धर्व, गायिकामा किशोरी अमोलकर, गजलमा बेखम अख्तर ।

फिल्ममा पनि उनको रुचि फरक छ । पछिल्ला केही महिनामा उनले स्विडेनका फिल्मकार इंगमार बर्गम्यानको ‘वाइल्ड स्ट्रबेरिज’ र भित्तेरियो डे सिकाको ‘बाइसाइकल थिफ’ पुनः हेरे । यी उनलाई सारै मन परेका फिल्म हुन् । यस्तै, इटालीकी अभिनेत्री सोफिया लरेनले अभिनय गरेका फिल्म पनि उनलाई खास मन परेका छन् । भारतमा उनलाई नर्गिस र दिलीपकुमार मन पर्छन् । यी दुईले खेलेको फिल्म ‘जोगन’ उनलाई निकै मन परेको थियो । आफूले पढेका उपन्यासमा बनेका फिल्म हेर्दा अहिलेसम्म सन्तुष्ट हुन सकेका छैनन् । चाहे त्यो दशवटा ओस्कर जितेको ‘गन विद द विन्ड’ होस् या नेपालको चर्चित फिल्म ‘वासुदेव’ । ‘वासुदेवभन्दा कट्टेलसरको चोटपटक नै राम्रो कृति थियो,’ उनी भन्छन् ।

भारतका समाजवादी नेता डा. राममनोहर लोहियाका विषयमा कतै लेखिएको छ, लोहियाको आधा जीवन रेलमा र आधा जेलमा बित्यो । प्रदीप गिरिको जीवन अहिलेसम्म कसरी बित्यो होला ? ‘मैले जिन्दगीलाई खास गम्भीरतापूर्वक लिएको छैन । मेरो जीवन मनमौजी किसिमको हो । जतिवेला पायो सुत्छु वा उठ्छु । तर, मेरा सार्थक वर्ष जेल र प्रवासमा बितेका छन्,’ उनले भने । र, यसपछिको निकै ठूलो समय पुस्तक, सिनेमा, कविता र संगीतमा बिताएको पनि उनले बताए । भारतको जवाहरलाल नेहरू विश्वविद्यालयमा उनी ६ महिनाका लागि व्याख्याता थिए । नेपाली भाषा र राजनीतिमा शोध गर्नेलाई ‘गाइड’ गर्ने जिम्मेवारी थियो । तर, इन्दिराको इमर्जेन्सीले जेपीका ‘फ्यान’ को जागिर चट्काइदियो । जुन, उनको पहिलो र आखिरी जागिर थियो ।

नेता, साधु र गृहस्थ
‘मानिस भनेको कुनै कम्पनीले बनाएको जुत्ताको साइज होइन,’ थप एउटा सूक्तिपछि उनले भने, ‘म कुनै चौखटमा फिट भएको छैन भने त्यो मेरा लागि नराम्रो कुरा होइन ।’ उनलाई निकै मन परेको जीवन लेनिनको हो, जो महात्मा गान्धीका साथ उनलाई मन पर्ने नेतामा पनि सामेल छन् । ढिलोचाँडो राजनीति छाड्ने संकल्प उनले गरिसकेका छन् । राजनीति छाडेर यिनले के गर्लान् ? ‘लेख्न, पढ्न, ध्यान र साधनामा लगाउन, साँचो अर्थमा वानप्रस्थ जिन्दगी बाँच्न चाहन्छु ।’ के प्रदीप गिरि जोगी बन्ने तयारी गरिरहेका छन् ? उनका परिवारका केही सदस्य जोगी छन् । ‘मेरो त जातै जोगी,’ बचपनमा जोगीका प्रति भयानक आकर्षण भएको उनले सुनाए । र, पनि उनी जोगी भएनन् । ‘विभिन्न मोहले घेर्छन् । समाजमा यसै बाटोबाट केही उपयोगी काम गर्न सकिन्छ कि भन्ने लोभ हुन्छ,’ कारण यस्तो छ । टिएस इलियटले ‘मर्डर इन क्याथल’का नायकको मुखबाट भनाएको कविता उनलाई मुखाग्र छ । जुन यस्तो छ–

इन नाउ इज माई वे क्लियर 
नाउ इज मिनी प्लेडु 
टेम्पटेसन सेल नट कम
दिस काइन्ड अगेन 
द लास्ट टेम्पटेसन 
इज द ग्रेटेस्ट टिजन 
टु डु राइट थी 
फर द र रिजन

इतिहासका महापुरुषमध्ये तीन–चारजनामा उनलाई विशेष रुचि छ– लेनिन, गान्धी, मोहम्मद र गुरु गोविन्दसिंह । ‘गान्धी र लेनिनका निजी बानी–बेहोराबारे मात्रै पनि म दुई–तीन घन्टा लगाएर बताउन सक्छु,’ अध्ययनलाई आफ्नो रुचि मात्र नभएर व्यसन नै मान्ने उनले भने ।उठबस र क्रियाकलापमा मधु लिमये र मधु दन्कवते उनलाई लोहिया र जयप्रकाशभन्दा मन पर्ने पात्र हुन् । ‘नेपालका हकमा मलाई मन परेको किसुनजी नै हो । इतिहासका पात्रहरूमा लेनिन नै हुन् । गान्धीको नाम लिनु बेकार छ, उनको अनुकरण गर्न सकिन्न,’ उनले भने ।

लेनिनका विषयमा पुस्तक लेखिसकेका प्रदीप गिरि उनका धेरै विचारसँग सहमत छैनन् । ‘तर, जीवनशैलीका हकमा मैले पढेर जानेका उनका कुरा अचम्मका छन् । उनको जीवन अत्यन्त सरल थियो, झन्डै गान्धीजस्तै,’ एउटा कम्युनिस्ट नेताको उनी सजिलै अहिंसाका पुजारीसँग तुलना गरिदिन्छन् । लेनिनमा पटक्कै पाखण्ड नभएको र उनी आत्मप्रचारबाट कोसौँ टाढा रहेको भन्ने पनि गिरिको भनाइ छ । विन्स्टन चर्चिलकी एउटी भतिजी स्लेयर सेरिडन मूर्तिकार थिइन् । उनले गान्धी र लेनिनको मूर्ति बनाएकी छिन् र एउटा संस्मरणमा दुवैको व्यवहारको तुलना गर्दै भनेकी छिन्, ‘मूर्ति बनाउने क्रममा गान्धी चर्खा कातिरहे भने लेनिन पनि न आफ्नो काम छोड्न सक्दिनँ भन्दै टेबुलबाट उठेनन् । यस्ता उदाहरण दिएर उनी आफ्नो तुलनालाई सार्थक बनाउँछन् ।

मितव्ययिता, परिश्रम, लगन र सहिष्णुता लेनिनका विषयमा उनले टिपाएका गुण हुन् यी । ‘आफ्ना राजनीतिक विश्वासको उग्रताले गर्दा उनीबाट केही गलत काम भए, तर आफ्ना अन्तिम दिनमा ती गल्ती सच्याउन उनी तत्पर थिए भन्ने प्रमाण इतिहासमा छन् । उनका अन्तिम लेख र चिठी त्यसका साक्षी छन्,’ फरक राजनीतिक विचारका नेताको भनाइ यस्तो पनि छ ।

उनलाई साह्रै मन पर्ने अर्का पात्र मिर्जा गालिब पनि हुन् । ‘ईश्वरले कुनै एउटा मानिससँग समय बिताउने मौका दिए म गालिबसँग दिन बिताउनेछु,’ यो छनोटको सूचीमा कुनै महिलालाई सामेल गरिएको छैन । महिलाका हकमा उनी क्लियोपेट्रालाई भेट्न इच्छा गर्नेछन् । ‘उनको जीवनी पढ्दा थाहा हुन्छ– एन्टोनीसँग भेट्नुअघि उनी पुरुषजातिप्रति परम उदार थिइन् । यो पनि एक थप आकर्षण हो । उनको नाक अलिक नराम्रो भएको भए इतिहासको धारा बेग्लै हुन्थ्यो भनिन्छ । त्यस्ती महिलालाई नभेटे कसलाई भेट्ने ?’ उनले प्रतिप्रश्न गरे । र, भने– ‘फेरि उनी विदुषी पनि थिइन् । म विदुषी महिलाको संगत मन पराउँछु । म मार्लिन मुनरोसँग चिया पिउन पनि इच्छुक छैन किनभने म उनमा कुनै विद्वताका चिह्न देख्दिनँ । आकर्षक महिला रहस्यमय हुन्छन्, सधैँ रहस्यमय नै रहन्छन्,’ ईश्वरबाट सुरु भएको उनको कुरा रहस्यमा पुगेर रोकियो । त्यो पनि महिलाको रहस्य । ‘रहस्यबाटै प्रेमलगायत सबै महान् भावनाको उत्पत्ति हुन्छ,’ यो हरफले रहस्यको पर्दा उघार्न सक्ला ?
 

सुझावित समाचार